प्रकाशित मिति : बिहिबार, कार्तिक २१, २०७६
काठमाडौं। अमेरिकाले नेपालको सामाजिक–आर्थिक रुपान्तरणका निम्ति निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
अर्थमन्त्री युवराज खतिवडासँग आज अर्थमन्त्रालयमा भएको शिष्टाचार भेटमा अन्तरराष्ट्रिय विकासका निम्ति अमेरिकी सहयोग नियोग (युएसएआइडी) को एशिया विभागका सहायक प्रशासक ग्लोरिया स्टेलीले त्यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्। उनले सङ्घीयता कार्यान्वयनमा पनि अमेरिकी सहयोग जारी रहने बताए।
प्रदेश र स्थानीय तहका सरकारको क्षमता अभिवृद्धिका निम्ति नेपालको विकासका अन्य साझेदारसँगको सहकार्यमा अमेरिकाले सघाउने उनले बताए।
मन्त्री खतिवडाले नेपालको विकास प्रयासमा दशकौँअघिदेखि अमेरिकाले गर्दै आएको सहयोगको सराहना गर्दै सार्वजनिक वित्त व्यवस्थापन प्रणालीलाई सुदृढ तुल्याउन पारदर्शिता र जवाफदेहितामा सरकार केन्द्रित रहेको जानकारी दिए।
नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले नेपालको विकास प्रयासमा अमेरिकी साझेदारी अझ वृद्धि गर्न आफू क्रियाशील रहेको बताए।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij