प्रकाशित मिति : मङ्लबार, मंसिर १०, २०७६
गत भदौ १८ गते संसद बैठकमा बोल्दै नेपाली कांग्रेसका चर्चित नेता तथा सांसद गगन थापाले बिरामी अवस्थामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्राम दिएर नेकपाभित्र नयाँ प्रधानमन्त्री खोज्न आग्रह गरे ।
उनले यस्तो माग गरिरहँदा ओली उपचारका क्रममा सिंगापुरमा थिए । सिंगापुरबाट आएपछि उनी स्वस्थ हुने र नियमित काममा फर्किने अपेक्षा गरिएको थियो । तर प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अझै सुधार देखिएको छैन ।
सांसद थापाले संसदमा भनेका थिए, ‘संसदीय पद्धतिमा संसदको कामको सिर्जना पनि प्रधानमन्त्रीबाटै हुन्छ । प्रधानमन्त्री सेरेमोनियल पोजिसन होइन । डे टू डे जिम्मेवारी प्रधानमन्त्रीले निर्वाह गर्नुपर्छ । पछिल्ला दिनमा प्रधानमन्त्रीको कार्यबोझ बढाइएको छ । हाम्रो प्रधानमन्त्रीले यी सबै गर्ने कुराको इच्छाशक्ति राख्नुहुन्छ भन्ने कुरामा दुईमत छैन । तर इच्छाशक्ति मात्र सबै कुरा होइन सभामुख महोदय । शारीरिक स्वास्थ्यले पनि धेरै कुराहरू निर्धारण गर्छ । प्रधानमन्त्री राष्ट्रिय सुरक्षा, अखण्डता र सार्वभौमसत्ताको रखवाला हुनुहुन्छ । कार्यकारी प्रमुख एकैपटक लामो समयसम्म देशबाहिर बस्दा एकातिर राष्ट्रिय सुरक्षा र कूटनीतिक मर्यादा आदि कुरामा जोखिमको प्रश्न त छँदैछ, प्रत्येक २–३ महिनामा १०–१२ दिन विदेश गएर टेलिप्रिजेन्समार्फत मन्त्रीहरूको ब्रीफिङ लिएर देश चलाउने कुराबाट शासकीय जिम्मेवारी पूरा हुन सक्दैन । प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था भएको भए फेरि निर्वाचनमा जानुपर्ने व्यवस्था आउँछ भनेर कष्ट दिएर भएपनि प्रधानमन्त्रीको निरन्तरताको अपेक्षा राख्नु स्वाभाविक हुने थियो । तर यहाँ यस्तो अवस्था छैन सभामुख महोदय । यहाँ नेपाल कम्युनिस्ट पार्टीको बहुमत छ । सजिलैसँग नयाँ प्रधानमन्त्री छान्न सक्छ । एकसे एक प्रधानमन्त्री भएको व्यक्ति यो पार्टीमा हुनुहुन्छ । प्रधानमन्त्री हुने इच्छा राख्ने व्यक्ति हुनुहुन्छ । यस्तो अवस्थामा हामी विश्राम दिन किन चाहिरहेका छैनौं । मैले धेरैपटक नेपाल कम्युनिस्ट पार्टीका युवा सांसदहरूले प्रधानमन्त्रीलाई बा भनेर सम्बोधन गरेको सुनेको छु । प्रधानमन्त्री हाम्रो पनि बासरह हुनुहुन्छ । हामी हाम्रो बा बिरामी हुनुभएको भए के भन्थ्यौं ? ‘बा धपेडी नगर्नुस्, बा आराम गर्नुस्, बा बिश्राम लिनुस् ।’ हामीले हाम्रो बालाई यति भन्न सक्छौं भने प्रधानमन्त्रीलाई किन भन्न सक्दैनौं ?’
सांसद गगन थापाले संसदमा गम्भीर प्रश्न उठाएपछि नेकपाले ध्यान दिएन । तर ओलीको स्वास्थ्यमा समस्या देखिइरहने भएपछि उनले अस्पताल गइराख्नुपर्ने अवस्था छ । मंगलबार फेरि ओली एपेन्डाइटिसको शल्यक्रियाका क्रममा अस्पताल भर्ना भएका छन् । उनको मृर्गाैलाको समस्याका क्रममा डाइलासिस गर्न पटक–पटक अस्पताल भइराख्नुपर्ने अवस्था छ ।
मंगलबार ओली बिरामी भएर अस्पताल जाँदा देशलाई प्रधानमन्त्रीको भूमिका पाएन । प्रधानमन्त्रीलाई निम्ता गरिएको एउटा कार्यक्रममा ओली सहभागी हुन नसकेपछि त्यहाँ घोषणा हुने महत्वपूर्ण कार्यक्रम घोषणा भएन ।
नेपालले गौरवताका साथ आयोजना गर्न लागेको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी हुने नेपाली खेलाडी, प्रशिक्षक र व्यवस्थापकको हौसला बढाउन मंगलबार प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको थियो । तर नेपाली पक्षले प्रधानमन्त्रीको हौसला पाएन, कार्यक्रममा प्रधानमन्त्री नआउने भएपछि सबै निराश भए । सायद स्वस्थ व्यक्ति प्रधानमन्त्री भएको भए नेपाली खेलाडी र प्रशिक्षकले निराश हुनुपर्ने थिएन ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले खेलाडीलाई सम्बोधन गर्ने मात्र नभएर विशेष प्याकेज घोषणा गर्ने तयारी समेत गरिएको थियो । प्रधानमन्त्री ओलीले गर्ने भनिएको घोषणाबारे खेलाडीले सुइको पाइसकेका थिए, त्यही भएर सबै उत्साहित थिए । तर ओली कार्यक्रममा आउन नसक्ने भएर अस्पताल भर्ना भए । त्यसपछि सबै खेलाडी निराश भए ।
प्रधानमन्त्री ओली कार्यक्रममा आउन नसकेपछि उनको सट्टा खेलाडीलाई सम्बोधन गर्नका लागि अर्थमन्त्री डा. युवराज खतिवडा सहभागी भए । तर प्रधानमन्त्रीले गर्ने भनेको घोषणा गरिएन र खेलाडीले हौसला पनि पाएनन् ।
प्रधानमन्त्रीबाट हौसला नपाउँदा नेपाली खेलाडीको सागको प्रदर्शन कमजोर हुनसक्ने आकलन खेल क्षेत्रमा गर्न थालिएको छ । खेलाडीलाई राम्रो प्रदर्शन गर्न हौसलाले महत्वपूर्ण भूमिका खेल्ने भएपनि नेपाली खेलाडी सरकार प्रमुखबाट हौसला पाउनबाट वञ्चित भएका छन् । यसको एउटै कारण बिरामी व्यक्ति प्रधानमन्त्री हुनु रहेको चर्चा खेल क्षेत्रमा देखिएको छ ।
कांग्रेस सांसद गगन थापाले भनेजस्तै ओलीलाई प्रधानमन्त्री बनाइराख्दा सरकारका नियमित कार्यसम्पादनमा समेत समस्या देखिएको चर्चा नेकपाभित्र समेत चलेको छ । तर यसबारे केपी ओलीसँग खुलेर स्पष्ट कुरा गर्ने हिम्मत कसैले गर्न नसकेको नेकपा स्रोतले जनाएको छ ।
‘प्रधानमन्त्रीज्यू नहुँदा सबैले गाइगुइँ कुरा गर्छन् तर उहाँकै अगाडि कसैले मुख खोल्न सकेका छैन,’ नेकपाका एक नेताले भने, ‘प्रधानमन्त्री बिरामी हुँदा देशलाई भइरहेको अप्ठ्यारोको महसुस नेकपाभित्र समेत हुन थालेको छ ।’
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij