प्रकाशित मिति : सोमवार, मंसिर २३, २०७६
बाँके । स्कूल जाँदै गरेकी बालिकालाई ट्रकले ठक्कर दिएर घाइते बनाएपछि आन्दोलित विद्यार्थी र स्थानीयलाई नियन्त्रण गर्न कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको प्रहरीले बाँकेको कोहलपुरमा करीब सय गोली चलाएको छ ।
भीडतर्फ रबरका ५० गोली प्रहार गरेको प्रहरीले करीब ५० हवाई फायर गरेको हो । ५० भन्दा बढी अश्रुग्यास पनि प्रहार गरेको हो ।
स्थानीय त्रिभुवन माविमा सात कक्षामा पढ्ने १२ वर्षीया प्रकृति चन्द बाबुले चलाएको भे६प २७४० नम्बरको स्कुटरमा बसेर स्कुल जाँदै थिइन् । पछिपछि आउँदै गरेको ना२ख ९४५९ नम्बरको ट्रकले पौने १० बजे ठक्कर दिएपछि बुवाछोरी दुईतिर उछिट्टिए । बीच सडकतिर लडेकी प्रकृतिलाई ट्रकको पछाडिको चक्काले पेल्यो । बाबु सामान्य घाइते मात्रै भए ।
स्कूल नजिकै दुर्घटना भएकाले तत्काल अन्य विद्यार्थीले थाहा पाए । विद्यार्थी र स्थानीय घटनास्थलमा जम्मा भए । प्रकृतिलाई उपचारका लागि कोहलपुर अस्पताल पुर्याइयो । घटनास्थलमा भने केहीबेरमै विद्यार्थी र अभिभावकले विरोध सुरू गरेका छन् ।
विद्यार्थी र अभिभावकको आक्रोश बढ्दै गर्दा प्रहरीले सजगता अपनाउन सकेन । विद्यार्थीले ठक्कर दिने ट्रकमा आगजनी गरे । प्रहरी थप गम्भीर हुनुपर्ने थियो । तर दमनको बाटो रोज्यो । स्कूलमै गएर दुई विद्यार्थी र एक शिक्षकलाई पक्राउ गर्यो । प्रहरीले लाठीचार्जसँगै अश्रुग्यास पनि प्रहार गर्न थाल्यो । भीड झन् आक्रोशित बन्यो, थप तोडफोडमा उत्रियो । प्रहरीले हवाई फायर खोल्यो । संयमता गुमेपछि भीडले स्कूल बससहित १३ सवारीसाधन तोडफोड गरे, प्रहरीले ५० हवाई फायर र करीब ५० रबरका गोली प्रहार गर्यो । दुवैतर्फबाट ढुंगा हानाहान भयो । आन्दोलित भीडले इलाका प्रहरी कार्यालय परिसरमा रहेको क्यान्टिनमा समेत आगजनी गर्यो ।
घटनामा २४ भन्दा बढी विद्यार्थी र सर्वसाधारण घाइते भएका छन् । नारायण खत्रीको अण्डकोषमा तथा महेश आचार्य, श्रीकान्त शर्मा र सिर्जन चन्दको तिघ्रामा रबरको गोली लागेको छ । उनीहरूको कोहलपुर शिक्षण अस्पतालमा उपचार भइरहेको छ । कोहलपुर इलाका प्रहरी प्रमुख डीएसपी हेमबहादुर शाहीसहित २० भन्दा बढी प्रहरी घाइते भएका छन् ।
ट्रकले पेलेको बालिका प्रकृति चन्दको दाहिने खुट्टा काम नलाग्ने भएपछि चिकित्सकहरूले काटेर फालेका छन् ।
कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमै उनको खुट्टा फालिएको हो । देब्रे खुट्टामा पनि गम्भीर चोट लागेको छ । थप उपचारका लागि सेनाको हेलिकोप्टरबाट आईतबार नै काठमाडौंस्थित बी एन्ड बी अस्पताल लगिएको बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यायले बताएका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij