प्रकाशित मिति : शनिबार, माघ ४, २०७६
काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अपराधीले टाउको उठाउने मौका नपाउने बताएका छन् । तनहुँको भानु नगरपालिका–२ नारेश्वरटारमा इलाका प्रहरी कार्यालय भानुको आज भवन शिलान्यास गर्दै महानिरीक्षक खनालले अपराध र अपराधी समृद्ध मुलुक निर्माण अभियानको बाधक भएकाले अपराधीलाई सजाय दिन प्रहरी प्रतिबद्ध रहँदै आएको बताए ।
समुदाय–प्रहरी साझेदारी अभियानअनुसार प्रहरी अगाडि बढेको र उक्त अभियानले शान्ति सुरक्षा कायम र अपराध नियन्त्रणमा महत्वपूर्ण योगदान पु¥याएको महानिरीक्षक खनालको भनाइ थियो ।
विकास निर्माणका लागि सुरक्षा स्थिति सुदृढ बनाउने बताउँदै महानिरीक्षक खनालले भने, “विकास निर्माण र शान्ति सुरक्षा एक अर्काका पुरक हुन्, विकास निर्माणमा अवरोध हुन दिन्नौँ ।”
महानिरीक्षक खनालले समाजमा सुरक्षा प्रदान गर्ने प्रहरी आफैँ सुरक्षित हुनुपर्ने भएकाले जीर्ण रहेका प्रहरी कार्यालयको भवन निर्माणलाई तीव्रता दिइएको बताए । प्रहरी कार्यालयलाई पूर्वाधारयुक्त र सुविधा सम्पन्न बनाउन नयाँ प्रहरी कार्यालय भवन निर्माणलाई समेत अगाडि बढाइएको उनको भनाइ छ ।
कार्यक्रममा भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले नागरिक र प्रहरीको सहकार्यले अपराध न्यूनीकरण र शान्ति सुरक्षा कायम गर्न सम्भव रहेको बताए । प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले आम नागरिकसँग प्रत्यक्ष सम्बन्ध राख्ने प्रहरीको कार्यसम्पादनमा निर्माण हुन लागेको भवनले सहयोग पुग्ने बताए ।
रु दुई करोड ६८ लाख ३६ हजार १२२ को लागतमा निर्माण हुन लागेको भवन २०७७ पुस २६ गतेसम्म सम्पन्न हुने जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए । काभ्रेस्थित ब्राइट मल्टी कन्स्ट्रक्सन प्रालिले भवन निर्माणको जिम्मेवारी पाएको छ ।
साढे दुई तल्लाको भवनको भूइँतलामा हिरासत कक्ष, सुरक्षा गार्ड कक्ष, पहिलो तल्लामा व्यारेक र दोस्रो तल्लामा सञ्चार कक्ष र कार्यालय प्रमुखको आवास रहनेछ । मजुवा सामुदायिक वनको स्वामित्वमा रहेको जीर्ण घर भाडामा लिई कार्यालय सञ्चालन हुँदै आएको छ ।
विसं २०१५ मा प्रहरी चौकीको रुपमा स्थापना भएको कार्यालय विसं २०५५ मा इलाका प्रहरी कार्यालयको रुपमा स्तरोन्नति भएको थियो । हाल इलाका प्रहरी कार्यालयमा प्रहरी निरीक्षकको दरबन्दी रहेको छ । उक्त कार्यालयले भानु मुकाम डुम्रेबाट पनि सेवा प्रवाह गर्दै आइरहेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij