प्रकाशित मिति : सोमवार, माघ ६, २०७६
काठमाडौं। गायिका आस्था राउतविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंले पक्राउ पूर्जी जारी गरेको छ।
आइतबार राउतविरुद्ध पक्राउ पूर्जी जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी जीवन प्रसाद आचार्यले डिसी नेपाललाई जानकारी दिए। अभद्र व्यवहारसम्बन्धि कसुरमा राउतविरुद्ध पक्राउ पूजी जारी भएको हो।
आइतबार महानगरीय प्रहरी परिसर काठमाडौंले उनीविरुद्ध अभद्र व्यवहार गरेको भन्दै प्रशासन कार्यालयमा उजुरी दर्ता गराएको थियो। योसँगै राउतलाई नियन्त्रणमा लिन प्रहरीलाई बाटो खुलेको छ।
राउत सांगीतिक कार्यक्रमको शिलशिलामा अहिले सिक्किममा छिन्। सोही कार्यक्रममा जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीबाट दुर्ववहार भएको भन्दै राउतले भिडियो सन्देश जारी गरेकी थिइन्। भिडियोमा आस्थाले प्रहरीमाथि अपशब्द प्रयोग गरेकी थिइन्।
भिडियो सन्देशमा आस्थाले अपशब्द प्रयोग गरेपछि महिला प्रहरी रमिला श्रेष्ठले आस्थाविरूद्द अभद्र व्यवहार सम्बन्धी कसुरमा विमानस्थल सुरक्षा प्रहरी कार्यालयमार्फत किटानी जहेरी दिएकी थिइन्।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij