आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

“आस्थाको तर्फबाट म माफी माग्छु”- आस्थाका पिता

  • प्रकाशित मिति : मङ्लबार, माघ ७, २०७६



  • नेपाली सांगीतिक दुनियाँमा आफ्नै नाम छ हरिबहादुर राउतको । यद्यपि, अहिले चाहिँ उनलाई गायिका आस्था राउतको पिता भनेर चिनाउनुपर्ने भएको छ ।

    हरिबहादुर केही बेचैन छन् यतिबेला । सिक्किममा रहेकी उनकी छोरीलाई फर्कनेवित्तिकै पक्राउ गर्ने भनेर प्रहरी तम्तयार बसेको छ । आस्थाको विषयमा धेरैथरि टिप्पणीहरु सामाजिक सञ्जालमा आइरहेका छन् ।

    अनलाइनखबरसँग अन्तरवार्ता दिने क्रममा हरिबहादुरले आफ्नो आँसु थाम्न सकेनन् । निकैबेर उनको गला अवरुद्ध भयो । उनले बारम्बार हात जोडेर बिन्ति गरे, ‘कृपया तिललाई पहाड नबनाइदिनुस, मेरी छोरीबाट कुनै गल्ति भएको भए म माफी माग्छु ।’

    ०००

    त्यस दिन घरबाहिर थिए, हरिबहादुर राउत । छोरी आस्था सांगीतिक कार्यक्रमका लागि सिक्किम जाने कुरा थाहा थियो उनलाई तर आ-आफ्नो व्यस्तताले खासै कुराकानी हुन पाएको थिएन ।

    आस्था प्रायः देशभित्र र बाहिर हुने सांगीतिक कार्यक्रममा हिँडिरहने भएकाले आमाबुवालाई छोरी घरमा नहुनु कुनै नौलो कुरा हुँदैन । कहिलेकाहीँ त आस्थाले बुवाआमालाई भन्न पनि भ्याउँदिनन् । एक ठाउँबाट फर्केलगत्तै अर्को ठाउँ पुग्ने हतारो हुन्छ ।

    ‘छोरी विदेश गएकी छ कि देशभित्रकै कार्यक्रममा गएकी छन् भन्ने कुरा उनको सुटकेश हेरेर थाहा हुन्छ,’ हरिबहादुर भन्छन्, ‘विदेश गएको बेला सानो सुटकेस घरमा हुन्छ । स्वदेशभित्रै छन् भने ठूलो सुटकेश घरमा हुन्छ ।’

    माघ १ गते आफ्नो सानो सुटकेश घरमा छोडेर हिँडेकी थिइन् आस्था । उनी घरबाट निस्कँदा बुवा-आमा दुवै बाहिर थिए ।

    हरिबहादुरलाई बेलुकीतिर एक चिनजानका पत्रकारले फोन गरे । उनले आस्थाको फेसबुक लाइभ हेरेका रहेछन् । एयरपोर्टमा यस्तो भएछ भनेर पत्रकारले सुनाउँदा सुरुमा त राउतले त्यति ठूलोरुपमा लिएनन् । तर, त्यसपछि फोनको घन्टी लगातार बज्न थाल्यो ।

    हरि भन्छन्, ‘दिनभर म बाहिर काममा थिएँ । फेसबुक हेरेको थिइनँ । अरुको फोन आएपछि मात्र पत्तो पाएँ ।’

    हरिले मोबाइलमा फेसबुक खोलेर हेरे आस्थाको भिडियो, जुन त्यतिबेलासम्म सामाजिक सञ्जालमा भाइरल भइसकेको थियो । साथै, आस्थाको विषयमा नानाथरि प्रतिक्रियाहरु पनि आइरहेका थिए । हरिबहादुरको चिन्ताको पारो बढ्यो ।

    आस्थाको लाइभ भिडियोका बारेमा उनी भन्छन्, ‘मेरी छोरी हक्की स्वभावकी छ । अन्याय सहनै सक्दिन । उसको पेटमा पाप छैन । पक्कै केही नराम्रो व्यवहार भयो होला र नै त्यसरी आवेशमा आइ । तर, शब्दचयनमा केही त्रुटि भएकै छ ।’

    विवाद बढ्दै जाँदा प्रहरीले एयरपोटभित्रैको सीसीटीभी फुटेज बाहिर ल्याइसकेको छ । यसमा जनमत विभाजित छ । कसैले आस्थाप्रति सहानुभूति दर्शाएका छन् त कसैले उनको आलोचना गरेका छन् । धेरैले चाहिँ दुवैको गल्ति औंल्याइरहेका छन् । हरिबहादुरलाई के लाग्छ ?

    उनी भन्छन्, ‘सीसीटीभीको भिडियोमा दृश्य मात्रै छ, आवाज छैन । त्यसैले यो हेरेर मात्रै को दोषी हो भनेर निर्क्यौल गर्न कठिन हुन्छ । तर, म यतिचाहिँ भन्न सक्छु कि प्रहरीबाट गलत बोली-वचन नभएको भए छोरीले बिनाकारण त्यसरी आक्रोश पोख्ने थिइन । केही न केही गल्ती दुवैबाट भएको छ ।’

    उनी थप्छन्, ‘गल्ती दुवै तर्फबाट भएका होलान् । तर, सत्य बोल्न पाउनुपर्छ सबैले । यदि बोल्नै डराउनु पर्ने भयो भने त पञ्चायतकाल र अहिलेमा के फरक भयो र ।’

    प्रहरी अनुसन्धानको विषय भएकाले धेरै बोल्न नसक्ने उनले बताए । उनले भने, ‘प्रहरीले आस्थालाई पक्राउ पुर्जी जारी गरिसकेको छ । अब छलफल होला, अनि सत्यतथ्य आउला । त्यसैको प्रतिक्षा गरौँ ।’

    प्रहरीले आस्थालाई पक्राउ नै गर्ला भन्ने चाहिँ उनलाई लागेको छैन ।

    हरिबहादुर भन्छन्, ‘प्रहरीसँग धेरै ठूला-ठूला जिम्मेवारी छन् । हत्या, बलत्कारका ठूला अपराधिहरु पक्राउ पर्न सकेका छैनन् । बोल्दा केही गल्ति भयो भनेर सिंगो प्रहरी मेरी छोरीलाई जेलमा हाल्न तयार हुँदैन होला ।’

    ०००

    अहिले केही मिडियाले पनि तिललाई पहाड बनाएर समाचार सम्प्रेषण गरेको हरिबहादुरको दुखेसो छ । खासगरी ‘आस्था राउत फरार’ भनेर लेखिएका समाचारहरुले उनको मन दुखाएको रहेछ ।

    उनले भने, ‘मेरी छोरी सांगीतिक कार्यक्रमका लागि सिक्किम गएकी हो भनेर सबैलाई थाहा छ । उसले प्रहरीलाई अनुसन्धानमा सहयोग गर्छु भनिरहेकी छ । केही दिनमा कार्यक्रम सकिएपछि फर्किहाल्छे । यदि प्रहरीले आइहाल्नुपर्छ भन्यो भने कार्यक्रम छोट्याएर पनि आउँछे । अनि, उसलाई कसरी भागेको वा फरर भन्न मिल्छ त ? प्रहरीले जे भन्यो मिडियाले पनि त्यही लेखिदिने ?’

    आस्थाले यो आफ्नो केही गल्ती महसुस गरेर नै माफी मागेको हरिबहादुरको भनाइ छ ।

    ‘बाहिर अलिकति कडा देखिए पनि उसको मन कोमल छ । चाँडै भावुक हुन्छे । हामीसित फोनमा कुरा गर्दा पनि धेरै रोएकी छ । नेपाल फर्केपछि प्रहरीमा गएर आफ्नो कुरा राख्छु भनेकी छ,’ हरिबहादुरले भने ।

    यो विषयलाई प्रहरीले मुद्दा-मामलामा लगेको उनलाई त्यति चित्त बुझेको छैन ।

    ‘दुवै पक्ष बसेर आपसी छलफलमा कुरा मिलाउनु सकिने कुरा हो । यस्तो विषयलाई चर्काउँदा सबैलाई घाटा हुन्छ । भ्रमण वर्ष मनाइरहेको बेला देशलाई नै घाटा हुन्छ । आखिर कलाकारले पनि त देश विदेशमा भ्रमण वर्षको प्रचार गरिरहेका छन् ।’

    ०००

    हरिबहादुर र सावित्री राउतकी एक्ली सन्तान हुन् आस्था । २०४१ सालमा हरिबहादुर र पवित्राको विवाह भएको थियो भने त्यसको ४ वर्षपछि आस्था जन्मेकी थिइन् ।

    त्यतिबेला ४-५ जना सन्तान जन्माउने चलन थियो । सरकारले चाहिँ ‘दुई सन्तान ईश्वरका बरदान’ को नारा अघि सारेका थिए । तर, हरिबहादुर दम्पत्तिले भने एउटै सन्तानमा चित्त बुझाए ।

    ‘छोरा भए पनि छोरी भए पनि एउटा मात्र पाउने हामीले पहिल्यै तय गरेका थियौं । हामी समाजलाई पनि एउटा सन्देेश दिन चाहन्थ्यौं ।’
    बुवा कहलिएका गायक भइहाले । आमा पनि गीत लेख्ने । सांगीतक माहोलमा हुर्किइन् आस्था । नाच्न पनि उत्तिकै पोख्त थिइन् ।

    आस्था कक्षा ६ मा पढ्दै गर्दा हरिवहादुरले उनलाई संगीत सिक्न मिलन विद्या मन्दिरमा भरिदिए । हरिबहादुरका साथी चर्चित संगीतकार सुरेश अधिकारीले त्यहाँ सिकाउँथे । सुरेशले नै आस्थाको स्वरलाई निखारे । उनको आवाज पृथक खालको थियो ।

    सोही विद्यालयमा पढ्दै गर्दा आस्थाले विभिन्न बाल गीत प्रतियोगिताहरुमा सहभागी हुन थालिन् । रेडियो नेपालको बाल गीत प्रतियोगितामा उनी दुई पटक दोस्रो भएकी छन् । यस्तै, काठमाडौंमा आयोजित वीरेन्द्र शिल्ड प्रतियोगितामा तीनपटक प्रथम भएर रनिङ शिल्ड पच पारेकी थिइन् ।

    हरिबहादुर भन्छन्, ‘एक वा दुई पटक जित्दा त्यो शिल्ड फिर्ता गर्नुपर्थ्यो । तर, आस्थाले तीन पटक लगातार जितेर त्यसलाई पच पारेकी थिइन् ।’

    उसले त्यो बेला ‘छोरालाई पढ्ने पाठशाला, छोरीलाई पाखा र भिर” बोलको बाल गीत गाएकी थिइन् । एसएलसीपछि उनले ‘सालको टपरी गाँसेर’ बोलको रिमिक्स गीत गाइन्, जसले उनलाई चिनायो ।

    आस्थाको फरक ‘टोन’ लाई धेरैले रुचाए । पछि उनले आफ्नै एल्बम निकालिन् ‘आधार – भाग १’ । यस एल्बममा भएका गीतहरु हिट भए । यस एल्बमा समावेश ‘खोइ त मलाई झुम्के बुलाकी…, चौबन्दीमा पटुकी…’ लगायत गीतहरुले आस्थालाई सांगीतिक क्षेत्रमा स्थापित गराएका हुन् । त्यसपछि देश तथा विदेशका कार्यक्रमहरुमा उनको डिमान्ड बढ्यो ।

    ०००

    घरको एक्लो सन्तान भएपछि माया त अवश्य बढी भइहाल्छ । कतिपय एक्लो छोरा-छोरीहरु बुबाआमाको मायाले पुल्पुलिने गर्छन् र त्यसको प्रभाव उनीहरुको स्वभावमा पर्छ । आस्थाको विषयमा पनि कतिपयले यस्तै ठान्छन् ।

    तर, आफ्नी छोरी बाहिर भनिने जस्तो घमण्डी वा जिद्दी स्वभाव नभएको हरिबहादुर बताउँछन् ।

    उनले भने, ‘माया त गरिन्छ नै, तर अनुशासन पनि सिकाएका छौं । उसको कमजोरी यत्ति हो कि मनमा एकथोक र मुखले अर्कोथोक गर्न सक्दिनँ । कसैको ज्यूहजुर गर्ने उसको स्वभाव छैन ।’

    ‘यहाँ कतिपय कुराहरु सिधासिधा भन्दा धेरैलाई अपाच्य पनि हुन्छ । त्यसैले कूटनीतिक वा घुमाउरो तरिकाले बोल्नुपर्ने हुन्छ । उसले त्यसरी बोल्न जान्दिन । नबिराउनु नडराउनु भन्ने छ उसको आदर्श ।’

    आस्थाले जस्तोतस्तो गीत गाउँदिनन् । कुनै पनि गीत गाउनुपूर्व बुवा आमासँग सल्लाह लिने गर्छिन् । शब्द चित्त बुझेपछि मात्रै गाउन तयार हुन्छिन् ।

    हरिबहादुर भन्छन्, ‘हाम्रो त घरभित्रै सेन्सर बोर्ड छ । हामी तीन जनाको सेन्सर बोर्डले निर्णय गरेपछि मात्रै आस्थाले गाउँछिन् । उसलाई प्राय राष्ट्रियता जोडिएका सन्देशमुलक गीतमा रुचि छ ।’

    नेपाली संस्कृतिसँग नसुहाउँदो गीतबाट आस्थालाई टाढा राखेको हरिबहादुर बताउँछन् ।

    उनी भन्छन्, ‘बरु आधा पेट खाइन्छ । तर संस्कृति भुलेर बनेका गीतहरु गाइँन्न । आस्थाले छोडेका धेरै गीत छन्, जुन हिट भएका छन् ।’

    आस्थाले अहिले मास्टर्स गरिरहेकी छिन् । उनको विषय आमसञ्चार र पत्रकारिता हो । पत्रकारिता र पर्यटनमा आस्थालाई विशेष रुचि भएको हरिबहादुरले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij