आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नेपाल भित्रिँदै ‘नगदमुक्त सहर’को अवधारणा,नेपालमा के हुँदैछ ?

  • प्रकाशित मिति : शनिबार, माघ ११, २०७६



  • कुनै जमाना यस्तो थियो कि मान्छेहरू ‘पैसा’ भन्नेबित्तिकै नोटका मोटामोटा बिटा सम्झिन्थे । करिब एक दशक अगाडिसम्म हुर्किएका नेपाली बालबालिकाहरूले पनि ‘धनी’ मान्छेको कल्पना गर्दा ठुल्ठुला सुटकेसमा पैसाका बिटा बोकेर हिँड्ने मान्छे सम्झिए ।

    तर जमाना बिस्तारै बदलिन लाग्यो । अचेल प्रायः नेपालीको पैसा सुटकेसमा होइन, एउटा पातलो कार्डमा छ । जब पैसा चाहिन्छ, मेसिनमा लगेर कार्ड छिराउने हो, पैसा निकाल्ने हो । कतिपय ठाउँमा त सिधै कार्डबाटै सामान किन्न मिल्ने भइसक्यो ।

    परिवर्तनको क्रम अझ अगाडि बढ्दै गर्दा कार्डलाई पनि मोबाइल मार्फत् भुक्तानी गर्ने विभिन्न प्रणालीले विस्थापन गर्न थाले । संसारका विभिन्न देशहरूमा त ‘नगदको भार’ महँगो पार्ने भन्दै सिङ्गै सहरलाई ‘नगदमुक्त’ बनाउने अवधारणा सुरु भएको छ । भुक्तानी प्रणालीमा कार्यरत केही नेपाली कम्पनीले पनि अब यस अवधारणालाई व्यापकता दिने तयारी गरेका छन् ।

    ‘नगदमुक्त सहर’ के हो र किन चाहियो ?

    सामान्यतया नगदमुक्त सहरलाई पनि ‘स्मार्ट सहर’कै अवधारणाको एक अङ्ग मानिन्छ । डिजिटल भुक्तानी प्रणालीले उपभोक्ता, व्यवसायी, सरकार र समग्र अर्थतन्त्रलाई फाइदा दिन्छ र स्मार्ट सहरको अवधारणालाई अझ मूर्त बनाउँछ ।

    विज्ञहरू बताउँछन् कि नगद वा चेक कारोबार उपभोक्ता र व्यवसायी दुबै पक्षलाई महँगो पर्न जान्छ । एकातिर समय जान्छ, अर्कोतिर बैंकिङ प्रणाली सञ्चालनको खर्च । पैसा हराउला वा चोरी होला भन्ने डरले सताउँछ । पैसाकै कारण कतिपयको ज्यान जाने गरेको छ । हरेक देशमा केन्द्रीय बैंकहरूले नोट छाप्न मात्र करोडौँ डलर खर्च गर्ने गरेका छन् भने ती थोत्रिएपछि तिनको व्यवस्थापन अझै झन्झटिलो छ ।

    डिजिटल भुक्तानी प्रणालीको वकालत गर्नेहरू यी सबैको समाधान सम्भव रहेको बताउँछन् ।

    आधार के छ त ?

    सन् २०१७देखि २०३२सम्मका १६ वर्षमा विश्वका विभिन्न तहका १०० सहरहरूको अर्थतन्त्र कस्तो होला भनी भिसा नामको विश्वव्यापी डिजिटल भुक्तानी प्रविधि कम्पनीले एक अध्ययन गरेको थियो । अध्ययनमा ती सहरका मानिसहरूले औसतमा हरेक वर्षको ३२ घण्टा अर्थात् करिब एक हप्ता काम गर्ने समय नगद प्रयोग गरेर भुक्तानी गर्ने काममा खर्च गरेको देखियो । डिजिटल भुक्तानीको प्रयोग बढाउनेबित्तिकै यसलाई औसत २४ घण्टा प्रतिवर्षमा झार्न सकिने आँकलन छ । अर्थात्, डिजिटल भुक्तानीको व्यापकतापछि श्रमजीवी र व्यवसायी दुबैको समय बचत भई त्यसलाई थप उत्पादनमूलक काममा लगाउन सकिन्छ ।

    अध्ययनका अनुसार कुनै व्यवसायले नगद र चेक कारोबार गर्दा आफूलाई प्राप्त लाभको सात प्रतिशत रकम उक्त कारोबारको सञ्चालनकै लागि गुमाइसकेको हुन्छ । डिजिटल भुक्तानी प्रयोग गर्ने हो भने यसलाई तत्कालै पाँच प्रतिशतमा झार्न सकिन्छ । यसबाट एक वर्षमा यी १०० सहरहरूमा ३ खर्ब १२ अर्ब अमेरिकी डलर बराबरको नाफा हुन सक्छ ।

    अध्ययनमा ती सबै सहरहरूमा डिजिटल भुक्तानी प्रणालीको प्रयोग बढ्यो भने समग्रमा वाषिर्क ४ खर्ब ७० अर्ब अमेरिकी डलर बराबरको प्रत्यक्ष लाभ हुने निश्कर्ष निस्कियो । औसतमा एक सहरको हालको कुल गार्हस्थ उत्पादनमा तीन प्रतिशतले वृद्धि हुने देखियो ।

    डिजिटल भुक्तानी प्रणालीले आर्थिक गतिविधि बढ्न गई व्यवसायहरूको रोजगारी उपलब्ध गराउने क्षमता र श्रमिकको उत्पादकत्व पनि बढ्ने आँकलन छ ।

    डिजिटल भुक्तानीको प्रयोगबाट सरकारलाई पनि प्रत्यक्ष लाभ हुन सक्छ । भिसाकै अध्ययनलाई मान्ने हो भने १०० सहरका सरकारी निकायले हरेक वर्ष करिब ७१ करोड डलरसम्म बचाउन सक्छन् । यसबाट नगदमा आधारित अपराध कम भई थप पाँच करोड तीन लाख डलर बच्न सक्छ भने कर तथा राजस्व पनि उल्लेख्य बढ्न सक्छ ।

    नेपालमा के हुँदैछ ?

    अबको अर्थतन्त्र भनेको नै डिजिटल हो । अन्य मुलुकहरु प्रविधिको क्षेत्रमा धेरैअगाडि नै बढिसकेका छन् । नेपाल अन्य मुलुकको तुलनामा धेरै पछाडि छ ।

    नेपालले जतिसक्दो यसलाई विस्तार गर्नु आवश्यक छ । नेपालमा पनि नगनमुक्त अर्थतन्त्रको बाटोमा भने अघि बढिसकेको छ । सरकारले पनि विभिन्न नीतिहरुमार्फत यसलाई प्रोत्साहित गर्न खोजेको छ ।

    आईएमई-पे, ई सेवा, प्रभु-पे लगायतका भुक्तानी सेवा प्रदायकले पनि यसमा योगदान गरिरहेका छन् । बैंकहरुले पनि मोबाइल, डिजिटल र मार्डमार्फत हुने बैंकिङ कारोबार बढाएका छन् ।

    मोबाइल मार्फत् तत्कालै पैसा पठाउने र प्राप्त गर्ने, बिलहरूको भुक्तानी गर्ने, रकम ट्रान्सफर गर्ने, विद्यालय र कलेजका शुल्कहरू भुक्तानी गर्ने सुविधा पाइन थालेको छ । साथै अनलाइनभन्दा बाहिर (अफसाइड) रहेका रेस्टुरेन्टहरू, ग्रोसरी र डिपार्टमेन्ट स्टोरहरूका साथै साना-ठूला खुद्रा पसलहरूमा अफलाइन नै भुक्तानी गर्नेसम्मका विविध सेवाहरू पनि सुरु भएको छ ।

    मुलुकमा यस्तो प्रविधिको विकास हुने हो भने समयको बचतसँगै फजुल खर्चसमेत जोगिन्छ । जसका कारण मुलुकको अर्थतन्त्रलाई समेत टेवा पुग्ने देखिन्छ ।

    प्रविधिको प्रयोगबाट सरकारले गर्ने फजुल खर्चसमेत कम हुने र आम्दानी बढ्ने हुँदा डिजिटल प्रविधिलाई राज्यले प्रोत्साहन गरेर यसको प्रयोग बढाउनु पर्ने कतिपयको धारणा छ ।

    तर राष्ट्र बैंकले डिजिटल भुक्तानी सेवामा गरेको कडाइले प्रविधिको प्रयोगमा कमी हुनसक्ने विज्ञहरु बताउँछन् । भुक्तानी सेवा प्रदायकयकहरुको सेवा र प्रविधिको विशेषता नै मुख्य गरेर समय र खर्चको बचत हो । विस्तारै पैसा बोक्न नपर्ने समाज निर्माण गर्ने उद्देश्यका साथ यस्तो प्रविधि भित्राइएको हो ।

    प्रविधिको माध्यमबाट हुने आर्थिक कारोबार धेरै सुरक्षित, भरपर्दो र कम खर्चिलो हुन्छ । यसकारण हामीले प्रविधिबारे आमजनमानसमा साक्षरता बढाउनु जरूरी छ ।

    मुलुकमा वित्तीय साक्षरताको अवस्था एकदमै कमजोर छ । यसकारण पनि डिजिटलाइज ट्रान्जेक्शन आवश्यक छ । यस्ता डिजिटाइज सेवा सेवा जहाँ जुनसुकै ठाउँमा पनि पुग्छ ।

    यसले वित्तीय साक्षरता बढाउन पनि महत्वपूर्ण भूमिका खेल्छ । बैंकिङ पहुँचभित्र आउन बाँकी धेरै नागरिक प्रविधिको माध्यमबाट लाभान्वित हुन सक्छन् । यसले खर्च र समयको पनि धेरै सदुपयोग गर्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij