प्रकाशित मिति : सोमवार, चैत्र ३, २०७६
जनकपुरधाम। धनुषामा घरेलु मदिरा पिउँदा मृत्यु भएका व्यक्तिको परिवारलाई प्रदेश सरकारले रु तीन–तीन लाख राहतस्वरुप प्रदान गर्ने भएको छ।
मुख्यमन्त्री लालबावु राउतले घरेलु मदिराको कारण सवैभन्दा बढी मृत्यु भएका क्षिरेश्वरनाथ नगरपालिकाको रम्दैया गाउँमा आज विहान पुगेर पीडित परिवारलाई समवेद्ना प्रकट गर्दै सो राहत रकम प्रदान गर्ने घोषणा गरेका हुन्।
सो अवसरमा उनले विषाक्त मदिरा विक्री वितरण तथा उत्पादन गर्नेलाई कानूनको दायरामा ल्याउने स्पष्ट पार्दै प्रदेशलाई चाडै ‘खुल्ला मदिरामुक्त प्रदेश’ घोषणा गर्ने जानकारी गराए।
रम्दैया पुगेको मुख्यमन्त्री राउतका साथै आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले आजै सुरक्षा समितिको बैठक बस्ने जानकारी गराउँदै सो वैठकमा खुल्ला मदिरा नियन्त्रणका साथै दोषीमाथि कारवाहीको प्रक्रिया बढाउनेलगायतको विषयमा निर्णय हुने बताए।
रम्दैयामा विषाक्त रक्सी सेवनबाट मृत्यु भएका १४ परिवारलाई आइतवार सांसद रघुबीर महासेठले व्यक्तिगत रुपमा प्रत्येक पीडित परिवारलाई काजकिरियाका लागि रु २० हजार प्रदान गरेका थिए। रासस
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij