प्रकाशित मिति : सोमवार, चैत्र १७, २०७६
काठमाडौँ । पछिल्लो २४ घण्टामा विश्वभर कोरोना भाइरसको संक्रमण थोरै घटेको छ । अघिल्लो दिनको तुलनामा ज्यान गुमाउनेको संख्या पनि घटेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । शनिबार ६६ हजार ७ ६६ जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका थिए भने ३ हजार ५ सय १५ जना मानिसको ज्यान गएको थियो । तर पछिल्लो २४ घण्टामा यसको संख्यामा कमी आएको छ।
आइतबार (नेपाली समयअनुसार) ५८ हजार २ सय ८५ जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् भने ३ हजार ९५ जना मानिसको ज्यान गएको छ । यो भन्दा अघिल्लो दिन ४२० जना बढी मानिसको ज्यान गएको थियो ।
यो समाचार तयार पार्दासम्म विश्वभर ७ लाख २१ हजार ४ सय १२ जना मानिस संक्रमित भएका छन् । जसमध्ये ३३ हजार ९ सय ५६ जना कोरोना संक्रमितको ज्यान गएको छ भने १ लाख ५१ हजार ४ जना मानिस उपचारपछि घर फर्किएका छन् ।
पछिल्लो २४ घण्टामा कोरोनाको उद्गमस्थल चीनमा कोरोनाको प्रभाव शून्य देखिएको छ भने इटली र स्पेनमा ममामारी उस्तै छ । इटलीमा हिजो मात्रै ५ हजार २ सय १७ जना मानिसमा कोरोनाको संक्रमण फेला परेको छ भने ७ सय ५६ जनाको ज्यान गएका छ । यो सँगै इटलीमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १० हजार ७ सय ७९ पुगेको छ ।
यस्तै स्पेनमा पनि आइतबार ६ हजार ८ सय ७५ जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् । जसमध्ये ८ सय २१ जना संक्रमितले ज्यान गुमाएका छन् । यो सँगै स्पेनमा कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६ हजार ८ सय ७५ पुगेको छ।
पछिल्लो पटक अपडेट सूचना अनुसार इटली र स्पेनसँगै, अमेरिकामा २५५, फ्रान्स २९२, यूके २०९, नेदरल्याण्ड १३२, इरान १२३, जर्मनी १०८ जना संक्रमितको ज्यान गएको छ । अन्य देशको विवरण तलको तालिकामा उल्लेख छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij