प्रकाशित मिति : बिहिबार, जेष्ठ २२, २०७७
बैतडी । कोरोना सङ्क्रमित २२ वर्षीय युवाले कोरोना जितेर उन्मुक्ति पाएको खुशीमा नर्सले फूल दिएर शुभकामना दिँदै गर्दा प्रहरीले ती युवालाई हतकडी लगाएको छ । युवती हत्याको आरोपमा प्रहरी हिरासतभित्र रहेका २२ वर्षीय युवा अमरसिंह साउद बुधबार कोरोनामुक्त हुनेबित्तिकै प्रहरीले हतकडी लगाएर कारागार चलान गरेको हो । गोरखापत्र दैनिकमा गोकर्ण दयालले लेखेका छन् ।
बैतडीको पहिलो कोरोना सङ्क्रमित बैतडीको शिवनाथ गाउँपालिका – २ का २२ वर्षीय युवा अमरसिंह साउद युवती हत्याको अनुसन्धानमा वैशाख १५ गतेदेखि प्रहरी हिरासतमा रहेका थिए । मुद्दा दर्ता भएर अदालत पेश गर्दा अदालतले युवालाई कारागार चलान गर्ने आदेश दिएको थियो ।
कारागार चलान गर्नुअघि युवामा कोरोना चेकजाँच गर्दा यही जेठ ९ गते युवामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । युवा गत चैत ६ गते भारतबाट फर्केका थिए ।
भारतबाट फर्केर गाउँकै एक युवतीसँग अमर साउदको प्रेम सम्बन्ध रहेको बताइएको छ । युवती मृत्त अवस्थामा खोलामा फेला परेपछि युवतीका आफन्तले साउदमाथि हत्याको आरोप लगाएर प्रहरीमा किटानी जाहेरी दिएका थिए ।
वैशाख १५ गते थुनामा राख्नुअघि युवाको द्रूत परीक्षण (आरडिटी) गर्दा भने कोरोना नेगेटिभ आएको थियो । प्रहरीले लामो सयम थुनामा राखेर मुद्दाको अनुसन्धान गरेर अदालतमा पेश गर्दा अदालतले कारागार चलान गर्ने आदेश दिएपछि मात्रै युवाको थ्रोट स्वाब सङ्कलन गरेर पीसीआर जाँच गर्न धनगढी पठाउँदा कोरोना पुष्टि भएको थियो ।
थुनुवामा कोरोना पुष्टि भएपछि जिल्ला प्रहरी कार्यालय बैतडी सिल गरेर थुनुवाको सम्पर्कमा आएका सबै प्रहरीको स्वास्थ्य परीक्षण गरिएको थियो ।
सङ्क्रमित युवाको सम्पर्कमा आएका मुद्दा फाँटदेखि अन्य प्रहरी सबैको कोरोना परीक्षण गर्दा सबैको नतिजा नेगेटिभ आएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।
कोरोना सङ्क्रमण पुष्टि भएका २२ वर्षीय युवा जेठ ९ गतेदेखि २१ गतेसम्म जिल्ला अस्पताल बैतडीको आइसोलेसनमा रहेको जिल्ला अस्पताल, बैतडीका डाक्टर बसन्तराज जोशीले जानकारी दिए ।
अस्पतालको आइसोलेसनमा रहेका युवाको पहिलो र दोश्रो पीसीआर रिपोट नेगेटिभ आएकोले अस्पतालबाट फूल दिएर डिस्चार्ज गरिएको डाक्टर जोशीले बताए ।
अस्पतालबाट डिस्चार्ज हुनेबित्तिकै २२ वर्षीय युवालाई सम्मानित अदालतको आदेश अनुसार कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय, बैतडीका निमित्त प्रमुख किसन चन्दले जानकारी दिए ।
चन्दले भने, ‘कोरोनामुक्त भएका साउदलाई अदालतको आदेश अनुसार बुधबार नै पुर्पक्षका लागि कारागार चलान गरेका छौँ । ’ कोरोनामुक्त हुँदा खुशी देखिएका युवा कारागार चलान हुँदा निराश देखिन्थे ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij