प्रकाशित मिति : शुक्रबार, साउन १६, २०७७
काठमाडौं । कोभिड–१९ को जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले फरकफरक बारमा फरकफरक स्थानीय तहका नागरिकलाई सेवा दिने भएको छ। यही साउन १८ गतेदेखि लागू हुने गरी उक्त निर्णय गरिएको कार्यालयले एक सूचना जारी गरी जनाएको हो।
सूचनाका अनुसार आइतबार र बिहीबार काठमाडौँ महानगरपालिकाका नागरिकले सेवा पाउनेछन्। यस्तै सोमबार कीर्तिपुर, नागार्जुन , चन्द्रागिरि नगपालिकाका नागरिकले सेवा पाउनेछन्।यस्तै बुधबार बूढानीलकण्ठ, टोखा र कागेश्वरीमोनहरा तथा शुक्रबार गोकर्णेश्वर, शङ्खरापुर, दक्षिणकाली र तारकेश्वर नगरपालिकाका नागरिकले सेवा पाउने छन्।
यसैगरी, संघसंस्था दर्ता सोमबार र बुधबार, संघसंस्था नवीकरण आइतबार, मङ्गलबार र बिहीबार, पत्रपत्रिका छापाखाना दर्ता र विधान संशोधन शुक्रबार तथा प्रतिलिपि पत्राचार हरेक दिन ४ बजेपछि हुने जनाइएको छ । शान्ति सुरक्षा निवेदन, मुद्दासम्बन्धीका कार्य, सरकारी समन्वय र छलफल भने हरेक दिन हुने जनाइएको छ।
काठमाडौँ, ललितपुर र भक्तपुरको जिल्ला सङ्कलन व्यवस्थापनको निर्णयअनुसार कोभिड–१९ को सङ्क्रमण रोक्न उक्त नियम लागू गरिएको जनाइएको छ। गृह मन्त्रालयले कोभिड–१९ को जोखिम बढेको भन्दै बिहीबारदेखि रातिको समयमा उपत्यका प्रवेशमा रोक लगाएको छ । मन्त्रालयले साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म अत्यावश्यक र ढुवानीका सवारीबाहेक आवागमन पूर्ण रोक लगाउन प्रशासन कार्यालयलाई विशेष निर्देशन जारी गरेको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij