आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

श्रीमतीसहित बालकोट पुगेका प्रधानमन्त्री ओलीले भने: अढाई वर्षपछि मात्र यतै बस्ने गरी आउँछु

  • प्रकाशित मिति : मङ्लबार, साउन २०, २०७७



  • भक्तपुर। प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बालकोटस्थित आफ्नो निजी निवासमा आएर विभिन्न व्यक्तिसँग भेटघाट गरेका छन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहेका उनी बालुवाटारमा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालसँगको छलफलपछि दिउँसो बालकोटस्थित निजी निवासमा आएका हुन्।

    पत्नी राधिका शाक्यसहित बालकोट पुग्नुभएका प्रधानमन्त्री ओलीले आफ्नो नयाँ घरमा बन्दै गरेको सङ्ग्रहालयको अवलोकन गरे। आफ्नो शेषपछि उक्त घरमा ट्रस्ट बनाउने घोषणा गरिसकेका प्रधानमन्त्री ओलीको जीवनकालका विभिन्न पक्ष समेटिएका विषय, तस्बीर, पुस्तक, महत्वपूर्ण दस्तावेजलाई पत्नी राधिका शाक्यले सङ्ग्रह गरी सङ्ग्रहालयका रुपमा गरेको व्यवस्थापनको उनले अवलोकन गरेको सांसद महेश बस्नेतले जानकारी दिए।

    त्यस क्रममा प्रधानमन्त्री ओलीले अब अढाइ वर्षपछि मात्रै आफू स्थायी बसोबासका लागि बालकोट फर्किने बताए। पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाले अब बालकोट कहिले फर्किने भनेर जिज्ञासा राख्दा ओलीले अब अढाइ वर्षपछि फर्कन्छु भनेर जवाफ दिँदै बाँकी साढे दुई वर्ष आफैँले सरकारको नेतृत्व गर्ने बताएका हुन्।

    प्रधानमन्त्री ओलीले पूर्वमन्त्री बाँस्कोटा र पूर्वमन्त्री बस्नेतसँग राजनीतिक छलफलसमेत गरेका थिए। जनताको विश्वासलाई कायमै राख्न पनि अर्का अध्यक्ष प्रचण्डसँगको छलफल सहमतिमा टुङ्गिने प्रधानमन्त्रीले विश्वास लिएको सांसद बस्नेतले जानकारी दिए। मुलुक र जनताको हितका लागि जतिसक्दो छिटो सहमतिमा पुग्नु आवश्यक रहेको प्रधानमन्त्रीले बताएको उनको भनाइ थियो ।

    प्रधानमन्त्रीले बालुवाटारमा सोमबार ‘प्रचण्डसँगको छलफलमा जेरी खाएर छुट्टियौँ, जेरी मीठो थियो, कहिले जेरी खुवाएर, कहिले तीते करेला खुवाएर कुरा गर्नुपर्छ’ भनेको सांसद बस्नेतले जानकारी दिए।

    बालकोट निवासमा प्रधानमन्त्रीले प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, प्रहरी परिसर प्रमुख तारादेवी थापा, नेपाली सेना वीरदल गण सूर्यविनायकका गणपति कर्नेल शिवप्रसाद पौडेल, सशस्त्र प्रहरी दुवाकोटका प्रमुख र राष्ट्रिय अनुसन्धानका प्रमुख लगायतको टोलीसँग भक्तपुरको शान्तिसुरक्षाबारे जिज्ञासा राखेका थिए।

    प्रधानमन्त्रीले हनुमन्ते करिडोर निर्माणका बारेमा चासो राखेका थिए भने कोरोना भाइरस सङ्क्रमण रोक्न, शान्तिसुरक्षा मजबुद बनाउन भक्तपुरका सांसद र प्रशासनले खेलेको भूमिकाप्रति आफू सन्तुष्ट रहेको बताएका थिए।

    प्रधानमन्त्री भएपछि तेस्रोपटक बालकोटस्थित निजी निवास पुगेको उनी यसअघि गत माघ १६ मा वसन्त पञ्चमीका दिन पुगेका थिए। दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेपछि भने उनी सोमबार पहिलो पटक निजी निवास पुगेका हुन्। प्रधानमन्त्री दम्पतीले आफ्नो निवास र करेसाबारी निरीक्षणसमेत गरेर करीब एक घण्टापछि बालकोटबाट बालुवाटार फर्के। रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij