प्रकाशित मिति : आइतवार, अशोज ११, २०७७
काठमाडौँ ।महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले ट्राफिक महाशाखा मातहतका ट्राफिक प्रहरी कार्यालयका प्रमुखहरुलाई भिडियो कन्फरेन्स मार्फत निर्देशन सम्बोधन गरेका छन्।
महाशाखाअन्तर्गतका ट्राफिक प्रहरी कार्यालयहरुले यस विद्यमान परिस्थितिमा सम्पादन गरिरहेको ट्राफिक प्रहरी सेवा प्रवाह लगायत अन्य विविध विषयमा जानकारी लिई आवश्यक निर्देशन सम्बोधन गर्ने उद्देश्यले उक्त भिडियो कन्फरेन्स गरिएको हो ।
निर्देशन सम्बोधनका क्रममा एसएसपी ढकालले ट्राफिक प्रहरी कर्मचारीहरुलाई कोरोना भाइरस सङ्क्रमणबाट बच्न सावधानी र सुरक्षाका विधिहरु अनिवार्य रुपमा अवलम्बन गर्दै सामाजिक दुरी कायम गरी आफू सुरक्षित भई आम नागरिकहरुलाई समेत यसको संक्रमणबाट बचाउन हरसम्भव लाग्नु पर्ने कुरा बताए ।
साथै उनले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप चुस्त, सहज र सुरक्षित बनाई आम नागरिक प्रति उत्तरदायी भई आचरणयुक्त तथा उच्च प्रहरी व्यवसायिकता झल्किने गरी जनमूखी प्रहरी सेवा सम्पादन गर्न समेत निर्देशन गरेका छन् ।
भिडियो कन्फरेन्समार्फत ट्राफिक महाशाखा प्रमुखले महिनाको पहिलो साता मातहत युनिटलाई निर्देशन दिनुका साथै मातहतले गरेका कामको जाहेरी लिइनेछ भने अन्तिम साता अन्तरक्रिया गरिने महाशाखाले जनाएको छ ।
आगामी दिनमा उपत्यकाको ट्राफिक व्यवस्थापन सम्बन्धमा सर्वसाधारणसँग पनि यस्तो खालको भिडियो अन्तरक्रिया गरिने भएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij