प्रकाशित मिति : बिहिबार, कार्तिक १३, २०७७
काठमाडौं । बारामा स्थानीय वासिन्दा र प्रहरीबीच भएको झडपमा तीन प्रहरी र एक १४ बर्षीय किशोर घाइते भएका छन्। बाराको सुवर्णपुर गाउँपालिकाको कवहीगोठमा भारतबाट तस्करीका सामान लिएर आउदै गरेका स्थानीय वासिन्दाहरुलाई प्रहरीले रोक्न खोज्दा उनीहरुबीच झडप भएको हो।
बारा प्रहरीका अनुसार स्थानीय बासिन्दाहरुले दर्जनौ मोटरसाइकल प्रयोग गरेर प्याज लगायतका सामानहरु तस्करी गरेको थाह पाएपछि प्रहरीले रोक्नखोज्दा झडप भएको हो। जिल्ला प्रहरी बाराका प्रमुख एसपी कृष्ण पंज्ञेनीका अनुसार झडप हुँदा तीन प्रहरी र एक बालक रञ्जन यादवसहित चार जना घाइते भएका हुन्।
प्रहरीले आत्मरक्षाका लागि गोली चलाउदा यादवलाई गोली लागेको थियो। उनको वीरगञ्जस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ । प्रहरीतर्फ घाइते भएका सई विरेन्द्र गिरीसहित तीन जनाको कलैया अस्पतालमा उपचार भइरहेको छ । कृष्ण पंगेनीले प्रहरीले आत्मसुरक्षाका लागि अन्तिम अवस्थामा हवाई फायर गर्दा एक बालक घाइते बताएका छन्।
उनका अनुसार स्थानीयले गएराति भारतबाट मोटरसाइकलमा प्याज ओसारेका थिए । भारतले प्याज निर्यातमा रोक लगाएपछि नेपालमा लुकिछिपी प्याज ओसार्ने र बिक्री बढिरहेको छ।
‘बुधबार राति प्याज ल्याएर आएकाहरुलाई सीमा क्षेत्र नजिकै रहेको नेपाल प्रहरीको टोलीले नियन्त्रणमा लियो, उनीहरुलाई छुटाउन सयौको संख्यामा स्थानीयहरु आएर प्रहरीमाथि आक्रमण गरे त्यसक्रममा हवाइफायर गर्नुपरेको हो’, एसपी पंज्ञेनीले भने ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij