आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

पदयात्रामा आउनेहरुले अनिवार्य पिसीआर रिपोर्र्ट साथमा ल्याउनुपर्ने

  • प्रकाशित मिति : बुधबार, कार्तिक १९, २०७७



  • कास्की। दशैँलगत्तै जिल्लाका दुई प्रख्यात पदयात्रामार्गमा आन्तरिक पर्यटक बढेपछि कोरोना सङ्क्रमणको सम्भावित जोखिम रोक्न पदयात्रामा आउनेहरुले अनिवार्य पिसीआर रिपोर्र्ट साथमा ल्याउनुपर्ने भएको छ।

    चर्चित मर्दी हिमाल पदयात्रा र माछापुच्छ्रे नमूना पैदलमार्गका पर्यटन व्यवसायीहरुले जोखिम रोक्न कात्तिक २१ देखि पदयात्रामा आउनेहरुले पिसीआर नेगेटिभ भएको रिपोर्ट ल्याउनुपर्ने निर्णय गरेका हुन्।

    मङ्गलबार माछापुच्छ्रे गाउँपालिका वडा नं ७, ८ र ९ का वडाध्यक्षहरु, पर्यटन व्यवस्थापन समिति अष्ट्रेलियन क्याम्प, मर्दी ट्रेक पर्यटन व्यवस्थापन समिति, माछापुच्छ्रे मोडल ट्रेक व्यवस्थापन समितिलगायत सरोकार भएकाहरुको बैठकले स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरी व्यवसाय सञ्चालन गर्ने र जोखिम न्यूनीकरण गर्ने निर्णय गरिएको माछापुच्छ्रे मोडल ट्रेक व्यवस्थापन समितिका सचिव कुलप्रसाद अधिकारीले बताए।

    उनले भने, “अन्यत्रका पदयात्रा बन्द भएपछि दशैँपछि मर्दी र माछापुच्छ्रेमा पदयात्री उल्लेख्य बढेका छन्, सङ्क्रमण बढी भएका जिल्लाबाट समेत मानिसहरु आएपछि जोखिम कम गर्न पिसीआर रिपोर्ट अनिवार्य गरेका हौँ।” विश्वप्रसिद्ध अन्नपूर्ण चक्रिय पदयात्रा त्यहाँका व्यवसायीले बन्द गरेपछि मर्दी र माछापुच्छ्रेमा आन्तरिक पर्यटकको भीड बढेको हो।

    माछापुच्छ्रे गाउँपालिका–८ का वडाध्यक्ष कृष्णप्रसाद दवाडीले भीडभाड बढेपछि अत्यधिक जनदवाब आएकाले स्थानीयवासी, पदयात्री तथा व्यवसायीलाई सुरक्षित राख्ने प्रयास गरिएको बताए। मर्दी पदयात्रामा धम्पुस, घलेल, सिदिङ, कालिमाटीलगायतका बस्तीहरु पर्ने र स्थानीयवासीले असुरक्षित महसुस गरेपछि पिसीआर अनिवार्य गरिएको उनको भनाइ छ।

    वडाध्यक्ष दवाडीले भने, “सीमा जोडिएका जिल्लादेखि अत्यधिक सङ्क्रमण भएका स्थानबाट समेत मानिस पदयात्रामा आएका छन्, जसले गर्दा कोही पनि सुरक्षित भएको महसुस भएन।

    सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्डलाई सबैले पालना गर्न भनेका हौँ।” विभिन्न स्थानमा रहेका पर्यटन व्यवसायी समितिसँगै भिँडाबारी र धम्पुस प्रहरी चौकीका सुरक्षाकर्मीलाई समेत पदयात्रीको निगरानीमा परिचालन गर्ने योजना बनाइएको छ।

    मर्दी हिमाल पदयात्रा पछिल्ला वर्षहरुमा पर्यटकको गन्तव्य बनेको छ। मर्दी हिमालको आधार शिविरसम्म पुग्न सकिने भएकाले यसलाई मर्दी हिमाल पदयात्रा मार्गको रूपमा विकास गरिएको छ।

    पोखराबाट २२ किमी दूरीमा रहेको माछापुच्छ्रे गाउँपालिकाको घलेल हुँदै कालिमाटी तथा सिदिङ तथा माछापुच्छ्रेकै धम्पुस तथा अन्नपूर्ण गाउँपालिकाको काँडेबाट समेत पोथना, अष्ट्रेलियन क्याम्प, प्रितम देउराली, फरेष्ट क्याम्प, लो क्याम्प, बादलडाँडा, हाइक्याम्प, ‘भ्यू प्वाइन्ट’ हुँदै चार हजार ५०० मिटर उचाइको मर्दी हिमाल आधार शिविर पुगिन्छ।

    माछापुच्छ्रे नमूना पैदलमार्ग माछापुच्छ्रे गाउँपालिका–९ को सिदिङबाट शुरु हुन्छ । सिदिङसहित रिभान, लाहाचोक, घाचोक तथा साविक माछापुच्छ्रे गाविसबाट समेत यस पदयात्रा गर्न सकिन्छ। रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij