प्रकाशित मिति : बिहिबार, पुस १६, २०७७
काठमाडौं । सांसद महेश बस्नेतलाई सामाजिक सञ्जालमा गालीगलौज गरेको अभियोगमा पूर्वप्रहरी डिल्लीबहादुर चन्दलाई पक्राउ गरिएकोप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।
कांग्रेस कार्यकर्ता समेत रहेका पूर्वप्रहरी सहायक निरीक्षक (असई) चन्दले सामाजिक सञ्जालमा लेखेको विषयलाई लिएर प्रहरीले प्रतिशोधपूर्ण ढंगले गिरफ्तार गरेको कांग्रेसले निष्कर्ष निकालेको हो ।
‘कोरोनाको महामारी चलिरहेका बेला दल विभाजनको अध्यादेश ल्याउनु, सांसद अपहरणको अभियोग लाग्नु, मुद्दा दर्ता नगर्न प्रहरीलाई दबाव दिनु जस्ता घटना भएका बेला एक होइन हजारौं डिल्ली चन्दहरुले घटनाको विरोध गरेर सामाजिक सञ्जालमा लेखेकै हुन्’, प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘त्यस प्रकृतिको कुनै लेखाइले कुनै पनि ब्यक्तिलाई गाली बेइज्जती गरेको स्थिति हो भने त्यस्तो घटनामा कारबाहीका लागि ०७४ मा जारी गरिएको मुलुकी अपराध संहितामा अलग्गै ब्यवस्था छ ।’
कानुनी प्रक्रिया भन्दा विपरीत गएर प्रतिशोधपूर्ण ढंगले गिरफ्तार गर्नु भनेको सत्ताको आडमा विद्युतीय कारोबार ऐन र प्रहरी समेतको दुरुपयोग गरिएको उदाहरण भएको कांग्रेसको ठहर छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij