प्रकाशित मिति : शनिबार, पुस १८, २०७७
काठमाडौं । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले राजनीतिक एजेन्डा बिना दलहरुले गरिरहेको सडक आन्दोलन निर्वाचनको तयारीकै लागि भइरहेको बताएका छन् । “विना राजनीतिक एजेन्डा आन्दोलनमा उत्रिएका दलहरुले निर्वाचनको तयारीका लागि नै सडक आन्दोलन गरिरहेका छन्” मन्त्री गुरुङले भने ।
राजनीतिक दलहरुले निर्वाचन भएरै छाड्ने भन्ने मनोविज्ञान जनतालाई दिन आन्दोलन गरिरहेको उनले बताए । अब मुलुक निर्वाचनमा गैरहेको वताउँदै मन्त्री गुरुङले राजनीतिक दलदेखि नागरिक समाज, पत्रकारलगायत सबै पेशा र समूदायलाई निर्वाचनका लागि तयार हुन आह्वान गरे ।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले निर्वाचन आयोगलाई सघाउन सरकारले आवश्यक पर्ने कार्य थालिसकेको पनि जानकारी दिए । सरकारलाई कतिपयले काम चलाउ भन्ने गरिएको सन्दर्भमा उनले यो सरकारले संविधानअनुसार पूर्ण अधिकारसहितको कार्य गरिरहेको स्पष्ट पारे । कर्मचारी तथा कुनै पनि वर्ग समुदायलाई सरकारको काम कार्वाहीप्रति कुनै पनि भ्रममा नपर्न अनुरोध समेत गरे ।
राष्ट्रपति संस्थामाथि अपमान खेदजन्य सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले राष्ट्रपति जस्तो सम्मानित संस्थामाथि आँच पुुर्याउने गरी सडकमा नाराबाजी हुनु निन्दनीय भएको भएको उल्लेख गर्दै आपत्ति जनाए । उनले सम्मानित राष्ट्रपतिमाथि आक्षेप लगाउने अक्षम्य काम गरेर संविधान, कानुन र राजनीतिक प्रणालीमाथि नै प्रहार गर्ने कोशिस भइरहेको बताउँदै राजनीतिक दल र राजनीतिक समूहहरुलाई जिम्मेवार हुन अनुरोध पनि गरे ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij