आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

वर्तमान सरकार स्थायित्वको सरकार होः प्रधानमन्त्री ओली

  • प्रकाशित मिति : आइतवार, पुस २६, २०७७



  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार स्थिरताको सरकार भएको बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा सम्बोधन गर्दै उनले निर्वाचन लडेर आएको प्रधानमन्त्रीलाई बीचमा षड्यन्त्र गरेर हटाउन खोज्ने प्रयास भए पनि अहिलेको सरकार स्थायित्वको भएको स्पष्ट पारे ।

    “निर्वाचित प्रधानमन्त्रीलाई काम गर्न नदिने स्थिति स्थायित्व र स्थिरताको होइन, अहिले चाहिँ हो” प्रधानमन्त्री ओलीले भने, “ अहिले कसैले चाहेर पनि प्रधानमन्त्री हटाउन सक्दैन ।” केही व्यक्तिले प्रधानमन्त्रीबाट राजीनामा दिएको भए हुने भन्ने सुझावलाई प्रधानमन्त्रीले भने, “कतिपयलाई केपी ओलीले थपक्क पद छाडिदिए हुन्थ्यो भन्ने लागेको होला, किन छाड्ने ? कसलाई छाड्ने? यो प्रधानमन्त्रीको जिम्मेवारी हो । यो जनताले सुम्पिएको अभिभारा हो । जस्तोसुकै अवस्थामा जस्तासुकैलाई पनि सुम्पिन मिल्दैन ।”

    उनले बहुमत कसैको आएन भने, दुई वा दुईभन्दा बढी दलले सरकार बनाउन सकेन भने, प्रधानमन्त्रीले एक महिनामा विश्वासको मत ल्याउन सकेन भने प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपतिबाट निर्वाचनको नयाँ मिति तोक्ने सक्ने व्यवस्था भएको स्पष्ट पारे । प्रधानमन्त्री ओलीले थपे, “चुनाव हुनु अस्थिरता होइन, संविधानको सही तरिकाले कार्यान्वयन नहुनु अस्थिरता हो, संवैधानिक बाटोबाट जाँदा अस्थिरता हुँदैन ।”

    प्रतिनिधिसभा विघटन असंवैधानिक भन्नेहरुलाई संविधान पढ्न आग्रह गर्दै प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतलाई न्याय प्रदान गर्न बाधा पुर्याउने उद्देश्यले हुने काम रोक्नुपर्नेमा जोड दिए। “पूर्वन्यायाधीशहरुले कस्तो न्याय दिनुभयो होला, स्वतन्त्र न्यायलयमा यस्तो हुन्छ, उस्तो हुन्छ भनेर दवाव दिनुभएको छ”, प्रधानमन्त्री ओलीले भने,“ उहाँहरुले राजनीतिक पक्षधरता लिएर काम गर्नुभएको छ, आफ्नौ हैसियतको दुरुपयोग गरेर न्यायालयलाई दुरुपयोग गर्नुभएको छ, न्यायालयलाई दबाबमा पार्नु हुँदैन ।”

    उनले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले अदालतको स्वतन्त्रता र शक्तिपृथकीकरणको सिद्धान्तलाई मानेर अघि बढेको पनि स्पष्ट पारे ।

    देशमा अस्थिरता फिँजाउने साझा प्रयास भइरहेको जनाउँदै प्रधानमन्त्री ओलीले कर्तव्यबोध र जिम्मेवारीका साथ निर्वाचनमा जान सबैलाई आग्रह गरे । प्रधानमन्त्री ओलीले नेपालको अन्तरराष्ट्रिय सम्बन्ध तथा दुई छिमेकीबीचको सम्बन्ध सुमधुर भएको पनि बताए ।

    चुनावको तयारीमा जुट्न आह्वान

    ओलीले प्रतिनिधिसभा विघटन र निर्वाचनका विषयमा अनेक तर्क वितर्कमा लाग्नुभन्दा चुनावको तयारीमा जुट्न सम्पूर्ण राजनीतिक दललाई आह्वान गरेका छन् । बैठकमा सदस्यहरुले राखेको जिज्ञासाको जवाफ दिँदै उनले प्रतिनिधिसभा विघटनको सिफारिस गरिरहँदासम्म आफूमा बहुमत प्राप्त दलको संसदीय दलमा सर्वसम्मत नेताका हैसियत रहेकाले सो कदमप्रति अलमल र भ्रममा नपर्न आग्रह गरे ।

    प्रधानमन्त्री ओलीले भने, ‘‘नेपाल कम्युनिष्ट पार्टी(नेकपा) एउटै पार्टीको बहुमतको सरकार भएकाले संविधानको धारा ७६ को उपधारा १ अनुरुप नै मेरो नेतृत्वमा सरकार गठन भएको हो, त्यसमा कसैलाई अलमल नहोस् ।’’

    सरकारको सिफारिसमा कार्यसम्पादन गर्ने गरी सक्रिय नभई आलङ्कारिक राष्ट्रपतिको संवैधानिक व्यवस्था रहेको स्मरण गराउँदै प्रधानमन्त्रीले भने, ‘‘राष्ट्रपतिको गरिमाप्रति पुरातन सोच भएका र मुलुकलाई पछाडि फर्काउन चाहने तत्वले सङ्कीर्ण दलीय स्वार्थबाट प्रेरित भई हिलो छयाप्न खोजेका छन् ।’’

    प्रधानमन्त्री ओलीसँग सदस्यहरु जीतेन्द्रनारायण देव, प्रमिला कुुमारी, रमेशजङ्ग रायमाझी, प्रकाश पन्थ र अनिता देवकोटाले राष्ट्रियसभाको आजदेखि गरिन लागेको अधिवेशन अन्त्य, प्रतिनिधिसभा विघटन र निर्वाचनमा जाने कदमप्रति असहमति जनाउँदै के कति कारणबाट यस्ता निर्णय गरियो भनी प्रश्न राखेका थिए ।

    माघीमा बिदा

    वर्तमान सरकार कोभिड– १९ का बेलामा दूरी कायम गरी चेतना जगाएर अघि बढेको र छिट्टै खोप ल्याएर समस्या समाधान गर्ने तयारी गरेको उनले जानकारी दिए । “सरकारलाई सबैभन्दा ठूलो महत्व नेपाली जनताको ज्यान हो, जनताको जीवन रक्षा गर्न सरकार सदा तयार छ”, प्रधानमन्त्री ओलीले भने, “एकैदिन हामीले ३९६ अस्पतालको शिलान्यास गर्ने तयारी गरेका थियौँ, ३०९ स्थानमा अस्पतालको शिलान्यास भयो, अरु पछि भयो, यस्तो कुनै वर्ष भएको थियो ? कुनै सरकारले गरेको थियो ?”

    प्रधानमन्त्री ओलीले वर्तमान सरकारले जाति, जनजाति र भाषाभाषीलाई सम्मान गरेको स्मरण गराउँदै भने, “आज मात्रै मन्त्रिपरिषद्को बैठकले माघेसङ्क्रान्ति (माघी)का लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ, यो थारू जाातिका लागि मात्र होइन, सबै नेपालीका लागि हो ।”

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij