प्रकाशित मिति : बुधबार, पुस २९, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार अन्तर्वार्ता दिएको भारतीय टेलिभिजन च्यानल जी न्यूजका सम्पादक सुधिर चौधरीले सगरमाथामा भारतले पनि दावी गर्नुपर्ने बताएका छन् । मंगलबार आफ्नो कार्यक्रम डिएनएमा सगरमाथाको बेसक्याम्प नजिक कालापत्थर पुगेर उनले सगरमाथालाई भारतीय नाम दिन अभियान अभियान चलाउने बताएका छन् ।
प्रधानमन्त्री ओलीको अन्तर्वार्ता बजाएको अर्को दिन उक्त च्यानलले सगरमाथामा भारतीयले दावा ठोक्नु पर्ने भन्दै सामग्री प्रसारण गरेको छ। प्रधानमन्त्री ओलीसँग अन्तर्वार्ता लिन गत आइतबार काठमाडौं आएका चौधरीले हेलिकप्टरमा सगरमाथा आधार शिविर पुगेको बताएका छन्।
मंगलबार राति प्रशारण भएको कार्यक्रममा उनी भन्छन्–त्यहाँ उभिएर हामीले यस (सगरमाथा) को नाम परिवर्तन गर्न अभियान सुरू गरेका छौं। उनले सगरमाथाको नाम माउन्ट सिकदर हुनुपर्छ। भारतीय गणितिज्ञ राधानाथ सिकदर सगरमाथाको उचाइ नापेकाले उनको नाममा सगरमाथाको नामाकरण हुनु पर्ने उनको तर्क छ।
‘माउन्ट एभरेस्टको नाम माउन्ट सिकदर हुनुपर्छ भन्ने अभियान हामी आजबाट सुरू गर्दैछौं। हाम्रो यो यात्रा त्यही अभियानको एउटा महत्वपूर्ण हिस्सा हो,’ उनले भने, ‘संसारलाई सगरमाथाको उचाइ पहिलोचोटि बताउने राधाकृष्ण सिकदरलाई अहिलेसम्म जस दिइएको छैन। अब भारतले आफ्नो यो दावा ठोक्नुपर्छ।’
उनले दर्शकहरूलाई जी न्यूजको यो अभियानमा सरिक हुन र आफ्नो तर्फबाट सामाजिक सञ्जालमार्फत् सगरमाथाको नाम परिवर्तनको अभियान चलाउन आह्वान गरेका छन्।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij