प्रकाशित मिति : बिहिबार, माघ १, २०७७
काठमाडौं । भारतीय न्यूज च्यानल जी न्यूजले नेपालको राष्ट्रियतामाथि आघात पुर्याउने गरी पुनः आपत्तिजनक रिपोर्ट प्रसारण गरेको छ । जी न्यूजले नेपालको सर्वोच्च शिखर सगरमाथामा भारतले दाबी गर्नुपर्ने र त्यसको नाम पनि फेर्नुपर्ने भन्दै रिपोर्ट प्रसारण गरेको हो ।
जी न्यूजका प्रधानसम्पादक सुधीर चौधरीले कालापत्थर पुगेर सगरमाथालाई पृष्ठभूमिमा राखेर भनेका छन्, ‘अब भारतले माउन्ट एभरेष्टमाथि आफ्नो दाबी सारा विश्वका अगाडि राख्नुपर्छ ।’ उनले सगरमाथाको नाम ‘राधानाथ सिकदर’ राख्नुपर्ने समेत बताएका छन् ।
चौधरीका अनुसार राधानाथ सिकदरले पहिलोपटक सगरमाथाको उचाइ नापेका थिए । त्यसैले सगरमाथाको नाम पनि उनैको नामबाट राख्नुपर्ने चौधरीको धारणा छ ।
चौधरी तिनै व्यक्ति हुन् जसलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित निवासमा बोलाएर अन्तर्वार्ता दिएका थिए ।
यसअघि जी न्यूजले प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीचको कपोलकल्पित सम्वादसहित आपत्तीजनक रिपोर्ट बजाएको थियो । त्यसको विरोधमा नेपालका केबल अपरेटरहरुले जीसहितका केही भारतीय च्यानलहरुको प्रसारणमा रोक लगाएका थिए ।
त्यसप्रति आफ्नो प्रतिक्रिया जनाउँदै उनले ट्वीटरमा लेखेका थिए, ‘नेपालले भारतीय न्यूज च्यानलको प्रसारण बन्द गरेको छ । यो देश त भारतका न्यूज च्यानलका एंकरसँगै डरायो त । सेना त अघि सर्नै परेन ।’
तिनै विवादित जी न्यूजका प्रधानसम्पादक चौधरीलाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री ओलीले अन्तर्वार्ता दिएका थिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij