प्रकाशित मिति : बिहिबार, माघ १, २०७७
काठमाडौं। सगरमाथामा भारतले दावी गर्नुपर्ने बताएको भारतीय न्यूज च्यानल जी न्यूजले माफी मागेको छ। जी न्यूजका सम्पादक सुधीर चौधरीले होस्ट गरेको बुधबार रातिको डीएनए टेस्ट कार्यक्रममा मंगलबारको गल्तिप्रति माफी मागिएको हो।
चौधरीले कार्यक्रममा भनेका छन्, ‘सगरमाथा नेपालकै हो। यसलाई कसैले लिन सक्दैन।’ आफूहरुले नामको विषयमामात्र अभियान चलाएको उनले बताएका छन्। उनले नेपालीको भावनामा ठेस पुर्याउनु आफ्नो आशय नरहेको भन्दै आफ्नो अभिव्यक्तिले भारत र नेपालको नागरिकबीचको सम्बन्धमा असर नपुर्याउने बताए। साथै उनले भारत र नेपालमा जुन सरकार भए पनि राजनीति हुँदै गर्छ भन्दै त्यसले दुई देशबीच सम्बन्धमा समस्या नहुने बताएका छन्।
सगरमाथामा भारतले दावी गर्नुपर्छ भनेपछि त्यसको नेपालमा तिब्र विरोध भएको थियो। विभिन्न पत्रपत्रिकाले त्यसलाई मुख्य समाचार बनाएर बुधबार प्रकाशित गरेका थिए।
चौधरीले बुधबारको कार्यक्रममा नयाँ पक्रिकाको प्रथम पृष्ठको कपी देखाउँदै नेपालीको भावनामा ठोस पुर्याउने उद्देश्य नभएको बताएका छन्। उनले भनेका छन्, ‘हामी नेपाली दर्शक र नेपाली भाइबहिनीलाई भन्न चाहन्छौं –भारत र नेपालबीच राम र लक्ष्मणको जस्तो सम्बन्ध छ र सँधै रहनेछ । माउन्ट एभरेस्टमा भारतको दाबी हुनुपर्छ भनेर बिल्कुलै भन्न खोजिएको होइन । माउन्ट एभरेस्ट नेपालकै हो र नेपालकै रहनेछ।’
चौधरीले यसअघि नेपालले नयाँ नक्सा प्रकाशित गरेपछि पनि नेपालप्रति आपत्तिजनक टिप्पणी गरेका थिए। र त्यतिबेला पनि विरोध हुँदा माफी मागेका थिए। चौधरी प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तर्वार्ता लिन नेपाल आएको बेला सगरमाथाको आधारशिविरसम्म एक रिपोर्ट बनाएका थिए। र त्यसमा सगरमाथामाथि आपत्तिजनक दावी गरेका थिए।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij