आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कुम हल्लाउँदै हिड्ने दलाल पुजीवादलाइ ध्वस्त पार्नुपर्छ : विप्लव

  • प्रकाशित मिति : शनिबार, माघ ३, २०७७



  • बिद्रोही दल नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द ‘विप्लव’ले पछिल्ला राजनीतिक घटनाक्रम बारे दिएको एक अन्तर्वाता यहा प्रस्तुत गरिएको छ ।

    ओली सरकारले नेकपामाथि प्रतिबन्ध लगाएको २ बर्ष पुरा हुँदैछ । अहिले नेकपामाथि सरकारले दमन गरिरहेको छ । प्रतिबन्धपछि नेकपाको सङ्घर्षका कार्यक्रमहरू प्रभावकारी हुन सकेनन् भन्ने टिप्पणीप्रति यहाँको धारणा के छ ?

    यो सही होइन, हामी क्रान्तिको गति जनताले नभेट्ने र नदेख्ने मोड पर नपुगोस् भन्नेमा सचेत छौं । क्रान्ति आवेगको अपेक्षामा होइन, विवेक र सचेतताको योजनामा बढ्छ । सत्ता र शासकहरू अन्धो दमनमा उत्रिन्छन् । त्यसैले उनीहरु समाप्त हुन्छन् ।

    सरकारले छिटफुट रूपमा तपाईको पार्टीसित बार्ताको हल्ला समेत चलाइरहेको छ । यसबारे पार्टीको धारणा के छ ?

    अहिलेसम्म सरकार आधिकारिक रूपले वार्ताबारे बोलेको छैन । हामीले आफ्नो धारणा प्रष्ट पारेका छौं । यो जनता र राष्ट्रको हितसँग जोडिएको गम्भीर विषय हो । वार्ता अधिक लालायित र अधिक त्रसित हुने विषय होइन ।

    यहाँहरुले पार्टीभित्र शुद्धीकरण अभियान समेत चलाइरहनु भएको छ । पार्टी शुद्धीकरण सैद्धान्तिक बिषय पनि हो । अहिले नेकपामा शुद्धीकरण अभियान किन आवश्यक भयो ?

    हो, पार्टीमा शुद्धीकरण अभियान चलेको छ । तपाईले भन्नुभएजस्तै यो केवल सङ्गठनात्मक विषय मात्र नभएर सैद्धान्तिक विषय पनि हो । यसको अर्थ हो–पार्टी वस्तु भएकोले यसलाई वेला पुगेपछि होसियारीपूर्वक सफा र स्वस्थ बनाउँदै जानुपर्छ । बालीनालीलाई गोडमेल गरेजस्तो गर्नुपर्छ । अर्को अर्थमा आफुलाई रूपान्तरण गर्दै अरुलाई पनि रूपान्तरण गर्दै जानुपर्छ । हामी एकीकृत जनक्रान्तिमा प्रवेश गरेपछि यसलाई बुझ्ने, पकड्ने र कार्यान्वयन गर्नेमा केही वैचारिक, राजनैतिक र सांस्कृतिक समस्याहरू देखा परे । पूर्वजका केही गुण नवजातमा देखिने डार्बिनको जीव सिद्धान्त अनुसारका चरित्रहरू देखिन खोजे । हामीले बढो संयमतापूर्वक तर दृढताका साथ तिनलाई रूपान्तरण गर्नेतिर बढाएका छौं । यसलाई एउटै अभियानमा पुरा गरिहालिन्छ भन्दा पनि निरन्तर गर्दै जानुपर्छ । किनकी पार्टीको अवस्था स्वस्थ नभएसम्म क्रान्ति हाँक्न र पुरा गर्न सकिदैन ।

    शुद्धीकरणले पार्टीभित्र र बाहिर तरङ्ग दियो, कस्तो परिणाम निस्केको देख्नुहुन्छ ?

    सही भन्नु भयो, केही नयाँ तरङ्गहरू पैदा भए । शुद्धीकरण अभियान हाम्रो पार्टीले चलाएको भएपनि यो आम नागरिकसँग जोडिएको विषय हो । जव पार्टी जनताको आवश्यकता, जीवन र भविष्यसँग जोडिन्छ, तव असल पार्टी बनाउने बिषय जनताकै सरोकार बन्न पुग्छ । शुद्धीकरण चल्दै गर्दा पार्टी रूपान्तरित बन्दै गएको छ । जनताले जीवन ठान्ने र जीवन दिने पार्टी बनाउनै पर्छ । यो अवश्य बन्छ भन्ने विश्वास छ ।

    अहिले क्रान्तिकारीहरु बीच एकता र ध्रुविकरण कुन स्थितिमा पुगेको छ ? अनि यसबारेमा पार्टीले के सोचिरहेको छ ?

    राष्ट्रघात, भ्रष्टाचार, महङ्गी, महिला र दलितहरू माथिका दमन विरुद्ध कार्यगत एकता प्रभावकारी बन्दै गएको छ । २२ दलीय मोर्चा सडकमा छ । क्रान्तिकारीहरू बीचको संयुक्त मोर्चा र एकताका विषयमा महत्वपूर्ण छलफलहरू भएका छन् । देशलाई आमूल परिवर्तनकारी विकल्प दिनुपर्छ भन्नेमा सबैको एकमत छ । आउँदा दिनमा परिणामहरू देखिदै जानेछन् ।

    सरकारी नेकपाभित्रको तिक्ततापूर्ण सङ्घर्षपछि कैयौं नेता कार्यकर्ताहरूले खुलेरै तपाईको नेतृत्वको नेकपाबारे सकारात्मक धारणा राख्दै आएका छन् । उनीहरूसँगको छलफल र धु्रवीकरणबारे केही सोँच्नु भएको छ उनीहरू आउन चाहे भने क्षमता अनुसारको जिम्मा दिन सक्नु हुन्छ ?

    विज्ञान अनुसार कुनै वस्तु विघटन हुन्छ भने अर्कोतिर सङ्घटन भइरहेको छ । विनाश हुँदा निर्माण भइरहेको हुन्छ । क्षयीकरण हुँदा धु्रवीकरण हुन्छ । जहाँ सङ्घटन, विकास र जीवन हुन्छ, त्यहाँ एकताबद्ध बन्ने कुरा आवश्यक, उचित र अनिवार्य हुन्छ । इमान्दार कम्युनिस्टहरू जहाँ भएपनि हामीले आफ्नो कार्यभार ठानेर यो कार्य पुरा गर्नुपर्छ । क्रान्तिलाई पुरा गर्न तयार हुने कुनै पनि कमरेड बराबर हैसियत हुन्छन् । यसमा कुनै शङ्का गर्न जरुरी छैन ।

    केही पाका पुराना कम्युनिस्ट व्यक्तित्व, बुद्धिजीवी, कलाकारहरुले नेकपालाई लगाएको प्रतिबन्ध विरुद्ध सङ्घर्ष गरिरहेको देखिन्छ, साथै सहकार्य पनि गर्न खोजेको पाईन्छ । यसबारे केही बताउनुस् न ?

    यो ज्यादै खुसी र उत्साहको विषय हो । यो वैचारिक, राजनैतिक विषय मात्र नभएर भावनाको विषय पनि बनेको छ हाम्रो लागि । कुनै दिन पुरानो सत्ताका विरुद्ध एउटै मोर्चामा बन्दुक लिएर लडेका साथी आज क्रान्तिको पक्षमा उभिएका कारण हामीलाई समाप्त पार्नुपर्छ भन्दै हिँडेका छन् । तर हिजोदेखि विभिन्न क्षेत्रमा आफ्नै क्षमताले उच्च प्रतिष्ठा बनाएका मित्रहरुले हाम्रो रक्षाका लागि खुलेर जोखिम मोल्नु भएको छ । यो विश्वासलाई टुट्न नदिन कुन स्तरबाट सहकार्य गर्न सकिन्छ हामी तयार नै छौं ।

    आजको विश्व साम्राज्यवादको भुमण्डलीकृत अवस्थामा छ । साम्राज्यवाद विरोधी विश्व समाजवादी आन्दोलनको शिविर कमजोर छ । यस्तो अवस्थामा तपाईहरू क्रान्ति अगाडी बढाइरहनु भएको छ । अन्तर्राष्ट्रिय भाइचाराहरुसितको सम्बन्ध कस्तो छ ? के अन्तर्राष्ट्रिय सहयोगबिना नेपालमा क्रान्ति सम्भव छ ?

    समाजवादी शिविर कमजोर छ भन्ने तर्क सम्पूर्ण क्षेत्रबाट हेर्यो भने सही हुँदैन । स्तालिन, माओ, फिडेल, किम, हो ची मिन्ह हुँदाको स्थितिबाट हेर्दा त्यस्तो देखिन सक्छ तर आज पनि विश्वको मुख्य वैचारिक, राजनैतिक सङ्घर्ष भूमण्डलीकृत पूँजीवाद र वैज्ञानिक समाजवाद–साम्यवादकै बीचमा छ । जहाँसम्म कम्युनिस्ट अन्तराष्ट्रियको सवाल छ, त्यो श्रमिक वर्गीय अपेक्षा र क्रान्तिको आवश्यकताको स्तरमा सुदृढ छैन । तर विभिन्न रूपमा त्यसका प्रयत्न भइरहेका छन् । हाम्रो पार्टीले पनि कम्युनिस्ट अन्तराष्ट्रलाई संगठनात्मक रूप दिन प्रयत्न गरिरहेको छ । क्रान्तिकारी आन्दोलनको विकासले यसलाई सहज बनाउँदै जाने विश्वास छ । अर्को विषय नेपालमा क्रान्तिका लागि निश्चय नै अन्तराष्ट्रिय सहयोगको खाँचो पर्छ तर निर्णायक नै त्यो होइन । नेपाली क्रान्तिको निर्णायक पक्ष भनेको नेपाली श्रमिक जनता, क्रान्तिका मित्रशक्ति र नेपाल कम्युनिष्ट पार्टी बीचको एकता र यसको वस्तुवादी योजना हो । यसमा निकै राम्रो अनुकूलता विकास भएको छ ।

    विश्व कम्युनिस्ट आन्दोलनका दुई शीर्ष नेताहरु कमरेड माओत्सेतुङ र कमरेड स्टालिनको जन्मजयन्ती दिवस नजिकिदै छ । यस दिवसको महत्वबारे संक्षिप्तमा बताइदिनु हुन्छ कि ?

    हो केही समयमै यी दुई कम्युनिस्ट विचारक, नेता र कमरेडहरूको जन्म दिवस आउँदैछन् । कमरेड स्टालिनको मुख्य योगदान पहिलो समाजवादी देशमा माक्र्सवाद, लेनिनवाद र वैज्ञानिक समाजवादको रक्षा बन्यो । पूँजीवादीहरुको तारो बनेको वैज्ञानिक समाजवाद र कम्युनिस्टहरूलाई धुलो पार्छु भनेर रूस छिरेको फासिष्ट हिटलर समाजवाद र कम्युनिस्टहरूकै कारण धुलो चाट्नु पर्यो । ‘मै हुँ’ भनेर कुम उचाल्दै हिँडेको पूँजीवादी दुनियाँ आर्थिक मन्दीमा फस्दा रूस निरन्तर उच्च विन्दुतिर लम्क्यो । कमरेड माओको योगदान पहिलो समाजवादी देश रूसमा गद्दार खु्रश्चोभले प्रतिक्रान्ति लादेपछि वैज्ञानिक समाजवादको रक्षा गर्न विकास गरेको निरन्तर क्रान्तिको सिद्धान्त हो । जो चीनमा प्रयोग हुँदा महान सर्वहारा सांस्कृतिक क्रान्तिको रूपमा देखा पर्यो । आज नेपालको कम्युनिस्ट आन्दोलन रूस र चीनका दुवै समस्यामा परिरहेको छ । हाम्रो सन्दर्भमा स्टालिनको स्मरण भनेको क्रान्तिकारी कम्युनिस्ट पार्टीको रक्षा र क्रान्तिको बचाउ हो । माओको स्मरणको सम्बन्ध विचलनबाट क्रान्ति बचाउन निरन्तर क्रान्तिको सिद्धान्तको अनुसरण गर्नु हो । हाम्रो निम्ति एकीकृत जनक्रान्तिलाई सफल पार्नु सर्वाधिक कार्यभार हो ।
    जनबाटोबाट

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij