आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

भागरथी हत्या प्रकरण : हत्यारा नजिक पुगेको प्रहरीको दाबी

  • प्रकाशित मिति : आइतवार, फाल्गुन २, २०७७



  • बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका– ७ चडेपानीकी १७ वर्षीया भागरथी भट्ट मृत फेला परेको १० दिन पुगेको छ । गत माघ २२ गते विभत्स र निर्वस्त्र अवस्थामा स्थानीय लवलेक जङ्गलमा भागरथीको शव फेला परेको थियो ।

    दश दिन बितिसक्दा पनि प्रहरीले हत्यारा पत्ता लगाउन सकेको छैन । अनुसन्धानकै क्रममा रहेको अझै पनि बताइरहेको छ । दोषी पत्ता लाग्छ भन्ने कुरा ढुक्क हुन सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदीको भनाइ छ तर कहिलेसम्म पत्ता लाग्ने भन्ने कुरा खुलाउन चाहोका छैनन् । उनले भने, “हिजोअस्तिकोभन्दा अनुसन्धान साघुरिँदै गएको छ, छिट्टै दोषी पत्ता लाग्छ ।”

    “घटनाको बृहत् र सूक्ष्म अनुसन्धानपछि अपराधी पत्ता लगाउने कुराको नजिक पुगेका छौँ”, उनले भने, “विभिन्न कोणबाट अध्ययन र अनुसन्धान गर्दा एकदमै नजिक पुगेका हौँ ।” घटनास्थलमा भेटिएका विभिन्न प्रमाणका आधारमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । भागरथीले प्रयोग गरेको मोबाइललगायतका प्रमाणले अनुसन्धानमा सहज भएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । उनले भने, “अनुसन्धान साघुरिँदै गएको छ, हामी छिट्टै अपराधीलाई सार्वजनिक गर्छौं ।”

    घटना भएको १० दिन भएको भए पनि अझै भागरथीको अन्तिम दाहसंस्कार हुन सकेको छैन । भागरथीका आफन्तले हत्याराका पत्ता नलाग्दासम्म शव नबुझ्ने अडान लिएका छन् । परीक्षण सम्पन्न भएको भए पनि शव अझै जिल्ला अस्पतालमै रहेको छ । आफन्तले शव बुझ्न नमान्दा अस्पतालमा शव सुरक्षित राख्न समस्या भएको छ । अस्पतालमा शव सुरक्षित राख्ने ‘मर्चरी’ नहुँदा समस्या भएको जिल्ला अस्पताल बैतडीका डाक्टर वसन्तराज जोशीले जानकारी दिए ।

    घटनास्थल तथा भागरथीको शवबाट अनुसन्धानका लागि चाहिने आवश्यक प्रमाण सङ्कलन भइसकेकाले शव बुझ्न प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले आग्रह गरेका छन् । उनले भने, “आवश्यक प्रमाण सबै सङ्कलन भइसकेको छ, शव सुरक्षित राख्न निकै समस्या छ ।” घटनाको अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदी नेतृत्वको टोलीले गरिरहेको छ । उक्त टोलीमा प्रदेश प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक जनकराज पाण्डे, केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी नायब उपरीक्षक पञ्चकुमार बाँखुसहित प्राविधिक रहेका छन् ।

    दोषी पत्ता नलागेको भन्दै यता शान्तिपूर्णरुपमा आन्दोलन पनि जारी रहेको छ । आज जिल्ला प्रशासन कार्यालय अगाडि घण्टा बजाएर प्रदर्शन गरिएको छ । अपराधीलाई यथाशीघ्र पत्ता लगाई कानूनी कारवाहीको माग गर्दै शान्तिपूर्णरुपमा आन्दोलनका कार्यक्रम भइरहेका भागरथी भट्टको न्यायका लागि गठित सङ्घर्ष समितिका सदस्य महेश दत्त भट्टले बताए । यसअघि माघ २६ गते दीप प्रज्वलन, २७ गते सिट्ठी जुलुस, २८ गते प्रधानमन्त्रीलाई ज्ञापनपत्र, २९ गते सदरमुकाममा प्रदर्शन, माघ ३० गते थाल ठड्याइएको थियो ।

    घटना भएको दुई दिनसम्म चक्काजामलगायत विरोध प्रदर्शन गरिएको भए पनि प्रहरीले केही दिन आन्दोलन स्थगन गर्न आग्रह गरेअनुसार शान्तिपूर्णरुपमा प्रदर्शन भइरहेका हुन् । अनुसन्धान गर्न समस्या हुने भन्दै प्रहरीले आन्दोलनमा कार्यक्रम नगर्न आग्रह गरेको थियो । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij