प्रकाशित मिति : शुक्रबार, फाल्गुन ७, २०७७
काठमाडौँ। जनता समाजवादी पार्टीका संघीय परिषदका अध्यक्ष बाबुराम भट्टराईले पूर्वमहाराजधीराज ज्ञानेन्द्र शाह प्रति उच्च सम्मान रहेको बताएका छन्। भट्टराईले शाहले समय दिए उहाँसँग छलफल गर्ने इच्छा प्रकट गरेका छन्। वरिष्ठ पत्रकार भूषण दाहाल सँग कुरा गर्दै उनले अत्यन्तै हार्दिकताका साथ विगतका कुरा बारे आंफ्नो मन भित्रका कुरा पोखेका थिए।
भट्टराईबाट अपेक्षा नै गर्न नसकिने किसिमको हार्दिकता अन्तरवार्ताको ‘अन्डरटोन’ बनेको थियो।
भट्टराईले भने, ‘व्यक्तिगत रुपमा राजा ज्ञानेन्द्र प्रति कुनै पूर्वाग्रह छैन बरु उहाँप्रति उच्च सम्मान छ। उहाँलाई हार्ट अट्याक भयो, म भेट्न गए। मलाई कसैले भनेर गएको होइन। मेरो ब्रह्मले उहाँ पनि हामी जस्तै मान्छे हो भन्ने लाग्यो। म उहाँ सँग भेटेर साक्षात्कार गर्न पाएको त छैन त्यति बेला सामान्य कुरा मात्र भयो। कुनै बेला त्यस्तो अवसर परेछ भने उहाँका कुरा सुन्ने उहाँको भावना बुझ्ने मेरो इच्छा छ। अन्यथा अर्थ लाग्न सक्छ। तर मेरो स्वभाव त्यस्तो छ।’
भट्टराईले दरबार हत्याकाण्डमा तत्कालिन महाराजधीराजको संलग्नता बारे आंफ्नो लेख ‘नयाँ कोतपर्वलाई मान्यता नदिऔं!’ मा आँफूले तथ्य र प्रमाणको आधारमा आक्षेप नलगाएको बताएका छन्। उनले उक्त लेखमा महाराजधीराजको संलग्नता एउटा ‘इन्लाइटण्ड गेस’ मात्र भएको स्पष्टोक्ति दिएका छन्।
भट्टराईले उक्त लेखले महाराजधीराजलाई अन्याय भएको हुनसक्ने भन्दै भेटेर नै त्यसबारे कुरा गर्ने र उहाँको भावना बुझ्ने इच्छा भएको बताए। उनले देशमा भएका ठूला घोटाला, काण्ड र रहस्यमा रहेका घटनाहरु सबैको छानबिन गर्न आँफू तयार रहेको पनि बताए।
स्मरणीय छ, दरबार हत्याकाण्ड घटेको ५ दिन पछि, ज्ञानेन्द्र शाह राजा भएको दुई दिन पश्चात अर्थात २४ जेठ २०५८ को बिहान कान्तिपुर दैनिकमा तत्कालीन माओवादी सह-कमाण्डर भट्टराईले महाराजधीराज ज्ञानेन्द्रलाई ‘हत्यारा’ शब्दको उल्लेख नगरी हत्यारा भएको आरोप लगाएका थिए। ‘नयाँ कोतपर्वलाई मान्यता नदिऔं!’ शिर्षकको त्यो लेखले सत्यता भन्दा पनि राजसंस्थालाई नामुट पार्ने र माओवादी बिद्रोहलाई बल दिने ‘इतिहासको उत्पादन’ गरेको थियो।
भट्टराईले देश गम्भीर अस्थिरताको भूमरीमा फस्न लागेको पनि बताए। संसारमा नै शीत युद्धले नयाँ धुर्वीकरण सिर्जना गरेको भन्दै नेपाल जस्तो सानो देशको अस्तित्व नै धरापमा पर्न सक्ने खतरा रहेको बताए। उनले भने, ‘नयाँ शीत युद्ध सुरु भएको छ। अफगानिस्तान देखि बर्मासम्मको हिमाली भेग अति नै संवेदनशील छ।’
त्यसैले देश जोगाउनको लागि पनि आपसी द्वन्द अन्त्य हुनुपर्ने भट्टराईको बुझाई छ। त्यसका लागि राजावादी शक्ति देखि अग्रगामी शक्तिहरु एक ठाउँमा आउने बेला भएको उनले बताए। भट्टराईले राजाको देशका बारे अत्यन्तै पवित्र चाहना रहेको पनि स्वीकारे।
भट्टराईले भने, ‘राजा देखि हामी सबैको पवित्र चाहना नै देशको भलाइ थियो। भलै हाम्रा मार्ग फरक थिए। त्यसैले मेरो आग्रह छ, राजा देखि पूर्व प्रधानमन्त्रीहरुलाई एक पटक छातीमा हात राखेर सोचौं। देश डर लाग्दो दिशा तर्फ उन्मुख भइरहेको छ। देशलाई जोगाउन हामी सबै जुटौं।’
भट्टराईले हिन्दू राष्ट्र, महिलाको समान हक, मधेसी समुदायको इच्छा, उत्पीडित समुदायको आवाज र राजसंस्थाको बारे पनि पुनविचार गर्नु पर्ने बेला आएको बताए। संसद पुनस्थापना गरेर सबै शक्ति मिलेर यो संविधानमा थपघट गर्न सकिने उनको धारणा थियो।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij