आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

प्रजातन्त्र दिवसमा यसपालि यस्तोसम्म भयो : हत्याका फरार १५ अपराधीलाई समेत राष्ट्रपतिबाट आममाफी

  • प्रकाशित मिति : सोमवार, फाल्गुन १०, २०७७



  • काठमाडौं । प्रजातन्त्र दिवसका अवसरमा सरकारले कैदी–बन्दीको बाँकी सजाय मिनाहा गर्ने आमचलन छ । चालचलनमा सुधार भएका र कम्तीमा आधा कैद भुक्तान गरेका कैदी–बन्दीलाई बाँकी सजाय मिनाहा गर्ने प्रचलनअनुसार पाँच सय ८० जना छुटेका हुन् । तर, यसपालि मन्त्रिपरिषद्को छुट्टै सिफारिसमा राष्ट्रपतिबाट १५ जना यस्ता व्यक्तिले आममाफी पाएका छन्, जसलाई अदालतले अपराधी ठहर गरेको छ, तर उनीहरूले एक दिन पनि सजाय भुक्तान गरेका छैनन् ।

    हत्याको अभियोगमा अदालतबाट जन्मकैद सजाय पाएका सिराहाका चारजनाले आममाफी पाएका छन् । चारमध्ये सुरेन्द्र यादव, रामविलास यादवले जेलसजाय भोगिरहेका थिए भने अशोक यादव र अमरेन्द्र यादव अहिलेसम्म फरार छन् । तर, राष्ट्रपतिको आदेशबाट चारैजनाले कैद छुट पाएका छन् । उनीहरूको कैद मिनाहा भएको होइन, आममाफी पाएको हो । आममाफी पाएकोले उनीहरूको अपराध र सजाय राज्यको अभिलेखमा रहनेछैन ।

    त्यस्तै, कानुनमन्त्री लीलानाथ श्रेष्ठको जिल्ला सिराहामा अर्का एकजनाले पनि आममाफी पाएका छन् । उनी सत्तारुढ नेकपाका प्रदेश सांसद दिलीपकुमार साह हुन् । बहुविवाह मुद्दामा अदालतले दोषी ठहर गरे पनि उनले अहिलेसम्म एक दिन पनि कैद भुक्तान नगरी राष्ट्रपतिबाट आममाफी पाएका छन् ।

    त्यस्तै, दाङका सोमीलाल चौधरी, कुशलराम चौधरी, हरिप्रसाद सेरपाइली र शेरबहादुर चौधरीलाई पनि हत्या अभियोगमा अदालतले दोषी ठहर गरेको थियो । तर, अहिलेसम्म पनि उनीहरू फरार छन् । यही अवस्थामा उनीहरूलाई राष्ट्रपतिबाट आममाफी प्रदान भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको पहलमा उनीहरूले राष्ट्रपतिबाट माफी पाएको मन्त्रिपरिषद् स्रोतको भनाइ छ ।

    त्यसैगरी, युवराज सुवेदी, मदन परियार, सुनील चौधरी, पनिलाल चौधरी र शिवराज गिरी पनि हत्या अभियोगमै जेलमा सजाय काटिरहेका थिए । उनीहरूको हकमा पनि बाँकी कैद मिनाहा होइन, आममाफी दिने निर्णय भएको छ । यो निर्णयसँगै उनीहरूको अपराधको अभिलेख नै मेटिएको छ ।

    हत्याअभियोगमा सिराहाका चार, दाङका नौ र बहुविवाहमा सिराहाका एक गरी १५ जनाले कैदमिनाहा होइन, आममाफी पाएका छन् । १५ मध्ये सिराहाका दुई, दाङका चार र बहुविवाह मुद्दामा सिराहाका एक गरी सातजनाले एक दिन पनि जेलसजाय भोग्नुपरेन । उनीहरू फरार थिए । त्यस्तै, जेलसजाय भोगिरहेका थप आठजनाले पनि आममाफी पाएका छन् ।

    संवैधानिक तथा कानुनी अधिकार दुरुपयोग गरी राष्ट्रपतिले आममाफी दिएको विषयले देशको कानुनी व्यवस्थामाथि नै प्रश्न उठेको छ । मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ मा आममाफीसम्बन्धी व्यवस्था छ । जसमा भ्रष्टाचार, यातना, जबर्जस्ती करणी, क्रूर तरिकाले हत्या, जाति हत्या, विस्फोटक पदार्थसम्बन्धी अभियोग, अपहरण, मानव बेचबिखन, सम्पत्ति शुद्धीकरण र तीन वर्षभन्दा धेरै जेल सजाय भएको लागुऔषध मुद्दामा माफी दिन नसकिने स्पष्ट छ ।

    सरकारले १५ जनालाई आममाफीबाहेक पाँच सय ८० जनाको कैदसजाय पनि मिनाहा गरिदिएको छ । जसमध्ये दुई सय ६१ जना कर्तव्य ज्यान मुद्दाका कैदी छन् । त्यस्तै, सवारी ज्यान मुद्दामा एक सय २०, बहुविवाह मुद्दामा ८४, डाँका÷चोरीका मुद्दामा ५२ र अन्य विविध मुद्दामा ३५ जना छुटेका हुन् । नयाँ पत्रिका

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij