प्रकाशित मिति : सोमवार, फाल्गुन १७, २०७७
काठमाडौं। आफ्ना ग्राहकहरुबाट अरबौं रुपैयाँ रकम ठगी गरेर फरार भएकी एक व्यवसायी महिलाको एउटा खुट्टा सडेको अवस्थामा भेटिएको छ । प्रहरीले सडेको खुट्टा उनै महिलाको भएको पुष्टि गरेको छ । मेलिसा क्याडिकनामकी यी महिला तीन महिनाअघि अस्ट्रेलियाको सिड्नीस्थित भव्य घरबाट बेपत्ता भएकी थिइन्। उनले ६० जना भन्दा बढी ग्राहकहरूबाट १४ करोड पाउण्डसम्म (२ अर्ब २८ करोड रुपैयाँ) चोरेको आरोप लगाइएको थियो।
द सनमा प्रकाशित रिपोर्टअनुसार यस विषयमा अस्ट्रेलियन सेक्युरिटिज एण्ड इन्भेष्टमेन्ट कमिशनको नेतृत्वमा जाँच जारी छ। २०२० नोभेम्बर १२ को दिन बिहान प्रहरीले डोर हाइट्स उपनगरमा रहेको उनको घरमा छापा मारेको केही घण्टापछि ४९ वर्षीया यी महिला हराएकी थिइन् । त्यसपछि पुलिसले कुनै सुराग भेट्टाउन नसकिरहेका बेला गत हप्ता समुद्र किनारमा गएका केही मानिसहरुले जुत्तासहितको एउटा खुट्टा फेला पारेका थिए । डिएनए परीक्षणमा यो खुट्टा मेलिसाकै भएको पाइएको छ ।
न्यु साउथ वेल्सका पुलिस सहायक कमिश्नर मिक विलेन्डले भने ‘उनी कहिले र कसरी पानीमा आइन् भन्ने कुरा अझै रहस्यमय छ। यतिबेला हामी कुनै पनि सम्भावनालाई अस्वीकार गर्न सक्दैनौं । हामीले खुला तरिकाले विचार गरिरहेका छौं । उनी बेपत्ता भएको परिस्थितिलाई ध्यानमा राख्दै हामीले उनले आत्महत्या गर्न सक्ने सम्भावनालाई पनि विचार गरेका छौं।’ यो खुट्टा सिड्नीबाट लगभग २५० किलोमिटर टाढा फेला परेको थियो र कमिश्नरले यति टाढा पुग्नुअघि उनी आफ्नो घरमै पानीमा डुबेको हुन सक्ने सम्भावना भएको बताए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij