प्रकाशित मिति : सोमवार, फाल्गुन १७, २०७७
काठमाडौं । बैंकका कर्मचारीको हस्तक्षर (दस्तखत) समेत किर्ते गरेर १ करोड बढी राजश्व हिनामिना गर्ने लेखा अधिकृतलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चितवनको साबिक भरतपुर नगरपालिका–११ घर भइ काठमाडौंको तारकेश्वर नगरपालिका-६ बस्ने ५७ वर्षीय रिठ्ठे परियार छन् ।
मालपोत कार्यालय भरतपुर चितवन लेखा अधिकृतका रुपमा कार्यरत रहँदा परियारले बैंक भौचर, छाप र कर्मचारीहरुको दस्तखत समेत किर्ते गरेर राजश्व रकम हिनामिना गरेका प्रहरीको भनाइ छ ।
लेखा अधिकृत रिठ्ठे समेतको संलग्नतामा राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय भरतपुर चितवनको भौचर, छाप र कर्मचारीहरुको दस्तखत समेत किर्ते गरी १ करोड १७ लाख २४ हजार ५ सय ३८ रुपैयाँ हिनामिना गरिएको थियो ।
लिखत सम्वन्धी कसूर गरी सरकारी रकम अपचलन गरेको प्रारम्भिक अनुसान्धानको क्रममा खुल्न आएपछि तारकेश्वर नगरपालिका-६ मा लुकिछिपी बसेको अवस्थामा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)बाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका रिठ्ठेविरुद्ध थप अनुसन्धान भइरहेको सीआईबीले जानकारी दिएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij