प्रकाशित मिति : सोमवार, फाल्गुन २४, २०७७
मोरङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सबैलाई समेटेर अगाडि बढ्ने बताएका छन्।
पुनःस्थापित नेकपा (एमाले) मोरङ जिल्ला पार्टी कार्यालयको शुभारम्भ गर्दै उनले वर्तमान सरकारले विश्वासको मत पाए सरकार सञ्चालन गर्ने अन्यथा स्थानीय तह र सङ्घीय निर्वाचनका लागि नयाँ जनादेशमा जान तयारी शुरु गरेको विचार व्यक्त गरे ।
मन्त्री ढकालले एमालेले संसद्मा विश्वासको मत लिने स्पष्ट पार्दै यसका लागि पार्टीलाई एउटा दलका साथ लिए विश्वासको मत प्राप्त हुने तर अन्यले तीन दलको साथ पाउनुपर्ने भएकाले पार्टीले सबै विकल्प खुल्ला गरेको धारणा राखे ।
उनले निर्वाचनका समयमा ‘समृद्ध नेपाल, सुखी नेपाली’को नाराका साथ विजयी भएकाले प्रतिपक्षका नेतालाई प्रधानमन्त्री बनाउन पहल गर्नु जनताले सबै बुझेका छन् भन्दै पार्टीभित्रबाट तीन वर्ष सरकार सञ्चालन र जनताको काम गर्नमा सधैँ बाधा–व्यवधान उत्पन्न गरेको आरोपसमेत लगाए ।
सोही अवसरमा मन्त्री ढकालले नेपाल विद्यार्थी सङ्घ परित्याग गरी अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनमा प्रवेश गर्ने विद्यार्थीहरुलाई स्वागत गरे । विराटनगर–११ स्थित पार्टीको पुराना कार्यालयमा नयाँ बोर्ड लगाई आजदेखि एमालेको कार्यालयको शुभारम्भ गरिएको हो । रासस
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij