आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कालु पाँडे हराएको खबर

  • प्रकाशित मिति : शनिबार, चैत्र २१, २०७७



  • कालिका माईको नाकैमुनि भेटियो खोप्लाङ !

    इतिहास र वीरतासँग गाँसिएको खोप्लाङ पुग्ने मनसुवा हो निकै पुरानो । एकीकरण र युद्धका नायकको आँगन टेक्ने रहर हो निकै अघिको । अझ काठमाडौँ उपत्यकालाई विशाल नेपालको संरचनामा गाभ्न आफ्ना रणकौशल कला देखाउने जोधाहा ज्यान जन्मेको दैलो घच्घचाउने इच्छा हो एकदमै पुरानो ।

    जुर्‍यो है यो पटक खोप्लाङ पुग्ने अभिलाषा !

    छेपेटार र कटहरेको माझैमा रहेछ खोप्लाङ । कालु पाँडे र खोप्लाङ अर्थात् खोप्लाङ र कालु पाँडे । पर्यायका शब्द हुन् गोर्खामा ।

    हर्मी भन्ज्याङको एकाबिहानैलाई बिदा गर्‍यौं हामीले । कहिले हिँड्दै, कहिले गाडीले गुल्ट्याउँदै अनि कहिले गाडीलाई हामीले लोप्पा खुवाउँदै पुग्यौँ कटहरे । दिन उकालिसकेको थियो । चैतको चर्को घाम थाप्लामा छरिन्थ्यो मज्जाले । तालुमा मूल फुटेथे पसिनाका ।

    पर–परका घना वनमा लालीगुराँस फक्रिएर सिद्घिएथ्यो । कोइलीका एकसुरे गानले वनमा तरङ्ग छुटाएको सुनिएथ्यो । दरौँदी खोलाका तीरमा पानी र ढुङ्गाको लुकामारी थियो मज्जाको ।

    अघिल्लो रात पाङ्दुरे र तीजे गीत खुब घन्केका थिए । तिनका आवाज र लय अहिलेसम्म मेरा कानभरि बजिरहेथे घरीघरी । पाङ्दुरेमा युवती बनेका युवाका चालढालका रूपरङ्ग सम्झेर एक पटक फेरि हाँसे म ।

    जे होस् गोर्खाली संस्कृति र कलाले चुर्लुम्मै पार्‍यो  !

    ‘यो तरबारले भोकका टाउका छिनाल्नुस् !’

    युवराज नयाँघरे

    दुई कोसा केरा हातमा थमाएथे बालकृष्ण थपलियाले मलाई । म कटहरे वरपरका थुम्का, बस्तीको जनजीवन र तरेलीमा लहलहाएको खेतीपातीलाई पिइरहेथे आँखाले, मनले र धुकधुकीले ।

    बोक्राबोक्रा हरिया भए नि भित्र त पाकेका ! विज्ञानले के मात्र गर्न नजानेको ! यस्ता देख्ता काँचा, खाँदा पाकेका फलफूलले हाम्रा ज्यान कति कुहाइसकेको होला भित्रभित्र ! मनभरि प्रश्नका पानीफोका उठ्छन्–फुट्छन् ।

    पानी र केराले उकासियो भुँडी ।

    अनि बाटो तताइयो । अब त अलिक सजिलो बाटो । अघिल्लो दिनको हुरी र झरीले त्यति धेरै लछारपाटो लाएनछ यो भेगमा । जे–जति लीला गर्‍यो —अघिल्लै दिन गर्‍यो नि हावाहुरी र पानीले ।

    खोप्लाङ पुग्दा दिन रनक्क रन्केको थियो ।

    बाटोमाथि रातो तूल देखेर साथीहरू कराए—‘कालु पाँडे अमर रहून् ! गुमेको नेपाल फिर्ता ल्याउँछौँ !!’

    मूलबाटो छोडेर ढुङ्गेनी उकालो उकालिएपछि हामीले आमा समूहको स्वागत पायौँ । फूल, माला र अबीरले छोपिहाले नि हामीलाई ! अर्कै लोकबाट आएजस्ता भयौँ हामी त । कति धेरै माया, कति धेरै हेरविचार । कति धेरै सोधखोज, कति धेरै चासोचर्चा ।

    ‘यो ठाउँको महत्व के हो र हामीलाई यत्तिको स्नेह ?’

    मैले ठूला आँखा भएकी सुमना पाण्डेलाई खराखरी सोधेँ । तिनी सबैलाई पानी बाँडेर उत्कण्ठा चिस्याइरहेकी थिइन् ।

    ‘यो वीर कालु पाँडे जन्मेको ठाउँ हो । तपाईंहरू गोर्खाका कुनाकाप्चा डुलिरहनुभएको हामीले सुनेका थियौँ । वीरैवीरको यो जिल्लामा अरू थप एक वीरलाई अझ चिन्नुस् भनेर डाकेका हौँ हामीले, तपाईंहरूलाई ।’

    ‘लौ, राम्रो गर्नु भो !’

    मैले अरू पानी घुट्क्याएर तिनीप्रति कृतज्ञता जनाएँ ।

    मास्तिर थुम्को थियो वनैवनको । सडकपूर्व  कुलकुलाइरहेथ्यो दरौँदी । अझ खोलापारि थियो छोप्राक । निकै घर थिए त्यहाँ । थेप्चो डाँडामा टक्र्याकटुक्रुक घरले बेग्लै खालको शोभा दिए ।

    ‘द्रव्य शाहलाई लम्जुङबाट ल्याएर त्यै गाउँमा छोपेर लुकाएका थिए रे गणेश पाण्डे र गङ्गाराम रानाले । छोपेको भन्ने शब्द मगर शब्द हो । पछि त्यो गाउँको नामै भो छोप्राक !’

    औल्याएर देखाइन् एउटी अलिक बाठीटाठी महिलाले ।

    इतिहासका गाथैगाथाले भरिएका बस्ती हेरिरहेछु म । संस्कृति, कला र वीरोचित श्रृङ्खलाले अँगालिएका थुप्रै कुरा गमी–गमी सुनिरहेछु म । हरेक घर, हरेक बस्ती र हरेक जातिका पछाडि एकीकरण वरपरका प्रभावशाली कथाले अँगालो हालेको भेटिन्छ ।

    जति सुने नि मनै नथाक्ने !

    मैले कालु पाँडेको स्मारकस्थलमा आँखा डुलाएँ । तारबेरा गरिएको छ । रूखपात रोपिएको र बीचमा छ गोलो ढुङ्गेनी गारो । अझ मध्य भागमा शिलान्यास गरिएको छ सालिक राख्ने अग्रासन ।

    दुईजना सेतै कपाल फुलेका वृद्घहरूलाई घेरेका छन् सबैले  । मैले अलिक पातला ज्यानका सीताराम पाण्डेयलाई सोधेँ—‘कालु पाँडेलाई कसरी सम्झिनु हुन्छ तपाईंहरू ?’

    तिनी शान्त तर खिन्न भएर बोलिरहे—‘यो नेपाल बनाउने मान्छे हुन् सरदार कालु पाँडे । पृथ्वीनारायण शाहका तिनी त दाहिने हात । गोर्खा वरपरका मसिना राज्य जित्दै विशाल  राज्य बनाउन प्रेरणा, प्रोत्साहन दिने भव्य मान्छे हुन् यिनी । आजभोलि यिनी हराइरहेका छन् । हेर्नुस्, सबै मिलेर कालु पाँडेलाई हराउन खोजिदैँछ । यो वीरता हराएर, हराउने कुरा हो त ?’

    सीतारामले निधारको पसिना पुछे ।

    ‘देशका थुम्का जोड्ने कालु पाँडे हराएका छन् धेरैका मनबाट । तैबिसेक जोगाएका छौं हामीले । काजी हराउँदै गएको खबर राजधानीसम्म लगेर सुनाइदिनु होला । खोप्लाङबाट कालु हराए भने अन्तबाट अरू धेरै वीर हराउँछन् भोलिका दिनमा !’

    मैले पाँच रोपनी क्षेत्रफलमा फैलिएको कालु पाँडेको घरबारी सरासरी चहारेँ । घाँसपात र रूखबिरूवाले यो आँफैमा सुन्दर लाग्दथ्यो । अझ इतिहास गर्तमा रहेको थाहा पाएपछि झन् गौरब लहलहायो मनभरि ।

    पृथ्वीनारायण शाहले अत्यन्तै विश्वास गरेका कालु पाँडेलाई सेनापति बनाएको इतिहास पढ्न पाइन्छ । कीर्तिपुरको युद्धमा शहादत पाएका पाँडेको दुरदर्शिता र युद्धकौशलको भावना  पृथ्वीले राम्रो मनन नगरेको तर्क पनि इतिहासविद्हरूको छ । पटक–पटक कीर्तिपुरमा हार्नुपरेको कारण त्यो हो भन्नेहरू नि मनग्गे छन् ।

    एकीकरणमा सर्वथा अग्रणी रहँदै आएको छ उनको नाम ।

    वरपर पलाँसका थुप्रै बोट थिए । हलुका पहेँला फूलले वातावरण हार्दिक र प्रिय भइरहेथ्यो । पाँडेहरूको बाह्र पुस्ते परिवार रहेछ खोप्लाङमा । पृथ्वीनारायण शाहको पुस्तासँगै कालु पाँडे जोडिएर आएपछि खोप्लाङमा रहेका चारपाँच घरका पाँडेहरू बाह्र पुस्ते वंश यात्रारत भएको ठान्दारहेछन् ।

    अगाडिपट्ठि ठूलो भवनको जग देखिन्थ्यो । त्यसैलाई देखाएर अर्का शम्भुराजले भने—‘यो कालु पाँडेको दरबार हो । चाँपैचाँपका काठले यो दरबार बनेथ्यो । विक्रम संवत १८१२ मा यसलाई बनाइएको प्रमाण भेटिन्छ । २००६ सालमा हाम्रै बन्धुले आफ्नो अंशमा पारी यो दरबार भत्काई लगे । त्यस बेलादेखि कालु पाँडेमाथि न्याय हुन छोड्यो !’

    खोप्लाङमा कालु पाँडेको सम्झना गर्ने तयारी धेरै अघिदेखि नै रहेछ । तर सबैले एकै स्वरले भनेथे—‘नेपाल जोड्ने कालुलाई कालले त निल्यो, हरेक पुस्ताले बिर्सिरहेछ क्रमशः ।’

    मैले आफ्नो नाममै पुर्खाको परिचय गाँसेका शम्भुराज काजी कालु पाँडेलाई सोधेँ—‘राजाहरूले तपाईंहरू प्रति कस्तो व्यवहार गरे नि ?’

    ‘ती त्यति इच्छुक देखिएनन्; हाम्रा पुर्खाको स्मरण, सम्मान र आदरका लागि !’

    तर सीतारामले केही अघि भनेका कुरा अलिक भिन्न थिए । तिनले भनेका कुरा म सम्झिरहेको छु ।

    ‘यो दरबारमा मैले नि घर बनाएँ । तर किन–किन मेरो मन एक खालले डराइरह्यो । मैले सन्तोष मान्न सकिनँ, पुरानो दरबारमा नयाँ घर बनाएपछि । अनि राजा वीरेन्द्रलाई काजी कालु पाँडे माथि न्याय हुन सक्छ कि भनी बिन्ती चढाएँ । राजाले भनेछन् संस्कृति मन्त्रालयलाई । अनि चर्चेको जग्गाको मुआब्जा दिइयो ७५ हजार । तर यो ऐतिहासिक थलो तारले घेरियो मात्र, हृदयले छेकियो !’

    हामी सुनिरहेथ्यौँ उनका अरूस्वादिला कुरा ।

    ‘इतिहास त जित्नेका पक्षमा हुन्थ्यो भन्ने सुनेका हामीले । कालु पाँडेले सारा नेपालीलाई जिताए पनि उनी हारे । उनको कुनै सालिक कतै छ ? कतै उनको मूर्ति यो देशमा कहीँ देख्नुभा’छ तपाईंहरूले ?’

    सीतारामले शान्त भएर आक्रोशित तर्क गरेथे ।

    कुरैकुराका अनेक बखान थिए त्यहाँ । सभ्यतामा वीरता, कूट्नीति, रणनीति र सैन्यकलाका अरू थुप्रै प्रसङ्ग आइरहेका थिए यतिखेर  । इतिहासका अरू थुप्रै परिवारले यो धर्तीमा आफूलाई उभ्याएका थिए । ती रौँ ठाडो पार्ने ढाल–तरबारका कथाभित्र यी खोप्लाङे पाँडेहरू मच्ची–मच्ची आफूलाई पूरा–कथा सुनाइरहेछन्…सुनाइरहेछन् ।

    केराका कोसाले ठाउँ छोडिसकेथे ।

    हाम्रो जत्थालाई सेल, अचार र तर्कारी टपरीमा राखीे खुवाए खोप्लाङे आमाहरूले । सर्लक्क–सर्लक्क सेलरोटी देखेका विक्रम तिमिल्सिनाले खुसुक्क भने—‘यति सप्रेका रोटी त मैले पहिलो पालि देखेँ !’

    मधुसुदनले सही थापे—‘कालु लर्तरा सेल खान्थे त ?’

    एकछिन मच्चियो हाँसो । थपीथपी सेलरोटी खान पाइयो । कानका जर्नी हल्लाउने, दाँतका जरा खल्बलिने चिसो पानी भरपेट खाइयो । आँखाले कालिका मन्दिर बोकेको थुम्कालाई पटकपटक चढ्ने र उक्लने गरे ।

    मनमा वीरता र इतिहासका कथाकुथुङ्ग्री मात्र छन् । युद्ध र तोप लगाएका सिपाहीका दगुरादगुर छन् । मैले छातीमा एक पटक कालु पाँडेको नाम आफ्नै मौनताले उच्चारण गरेँ । जो एकीकरणमा जुट्ने जुझारू बलशाली अनुहारको कथा इतिहासका झिनाझपटीमा तल पारिए, माथि पारिए !

    ‘त्यो अगाडि देखिएको डाँडोमा कालिका मन्दिर छ । गोर्खा दरबार छ त्यहीँ नै । यहीँबाट धाउँथे कालु पाँडे दरबारसम्म !’

    शम्भुले सबैलाई औल्याएँ ।

    ‘सरदार कालु यी सारा गाउँ चहारी जनताका सबै कुरा राजालाई सुनाउँथे । सिङ्गो दिन लाग्ने बाटो उनी केही घन्टामै पुग्थे रे । कालुबारे थुप्रै कथा छन् छोप्राकमा । छेपेटारमा थुप्रै किम्बदन्ती कहिन्छ अहिले नि काजीबारे । दरौँदीमा माझीले काजीलाई कल्पेर गीतै कथेथे !’

    मेरा छेउमा थिए टुबल सापकोटा । तिनले बखाने पाँडेको पगरी । खास्सा लाग्छ म आँफैलाई नि पुराना सिपाहीहरूले लगाएका बलिया पगरी । अझ पृथ्वीकालीन सेनाहरूको हतियार, पोशाक र ठाँटले इतिहासको दर्बिलो रूप देखाउँछ ।

    ‘मैले कालु पाँडेको झैँ टोपी लाएर विद्यार्थी कालमा नाटक खेलेको थिएँ । अभिनयमा पुरस्कार नपाए पनि टोपी  अर्थात् पोशाकमा पुरस्कृत भएँ । थाहा छ मित्र, टोपी बनाउन मलाई एक महिना लागेथ्यो !’

    बढो गर्वले टोपी कथा सुनाएँ मैले ।

    कालु पाँडेको आँगनमा कविता भट्ट्याइरहेछन् कविहरू । युवतीहरू मुक्तकका पकवान पस्किरहेछन् । अधबैँसे उमेरका आमाहरू ‘बचत गर्ने बानी बसालौँ’ आशयका सुनाइरहेछन् गीतहरू ।

    कुनै समय यिनै पाखापखेरामा अनेक कर्खा गुन्जिन्थे होलान् ।  कुनै समय यिनै गरागरामा विजयका तुमूलध्वनि घन्किन्थे होलान् । तर अहिले जीवनका अँध्यारा सपनाका बिलौना गाइँदैछन् । जोडिएको देशका खण्डित–खण्डित सपनाका कथा भनिँदैछ यतिखेर ।

    ‘यो प्रसिद्घ ठाँउको अरू आधिकारिक कागजात कहाँ पाइएला ?’

    मेरो खसखस ।

    ‘के गर्नु, बुद्घि बिग्रियो हाम्रो । धेरैअघि योगी नरहरि आएर हाम्रोमा बास बसे । उनले नेपाल एकीकरण गर्दाको इतिहास लिपिबद्घ गर्दैछु भने । अनि हाम्रो घरमा रहेका कालु पाँडे बारेका सबै कागजात पोको पारी गए !’

    ‘पछि सोधखोज क्यै गर्नु भएन त ?’

    ‘नामै त जोगी । घरपरिवार, साखासन्तान कोही नभएकालाई दिनु नै हाम्रो गल्ती भो । के गर्नु, ती अमूल्य कागजात त्यसरी गुमे नि हामीबाट !’

    चुकचुकाए सीताराम ।

    गोर्खाका उत्तरी भेग चहारेर हामी यहाँ आइपुगेथ्यौँ । दुई दिन भइसकेथ्यो घर छोडेको । जागिर र अरू तानाबानाले डाकेकाडाकेकै थिए हामीलाई । अब चाँडै नलम्की धरै थिएन हामीले ।

    धेरैजसो त जब्बरिएर बसेकालाई उठाउनै थालिसके । भन्थे पनि—‘ज्यान त गरूँगै भएछ, कालु पाँडे जत्तिकै बलशाली !’

    हाँसोले घरीघरी खोप्लाङ घन्किन्थ्यो । वीरता र शूरताका कथा घरीघरी सुनाइए यहाँ । पराक्रम र शौर्यकथा पटकपटक भनिए यहाँ । जोधाहा र सुरवीर चरित्र अनेक खेप सुन्यौँ हामीले । इतिहासका प्रेरक श्रृङ्खलाले मन भरियो टम्माटम्मी ।

    ‘यो अग्लो ढुङ्गोमा सालिक कहिले बस्छ कालु पाँडेको ?’ मैले सोधेँ ।

    ‘हामीले नै राख्न नदिएको काजीको सालिक !’पाँडेकै सन्तति बोले ।

    ‘किन नि ? अन्याय भएन र यसो गर्नु ?’ मैले औडाहा पोखेँ ।

    ‘हेर्नुस् अपुरो सालिक राख्न हामीले नदिएको । कालु पाँडेको परिचय भनेकै कम्मरमा खुकुरी हो । पुरातत्व विभागले अर्धकदको मूर्ति ल्यायो यहाँ राख्न । खुकुरी बिनाको पाँडेको सालिक के काम ? अनि हामीले विरोध गर्‍यौं । अहिले नि छन्द न बन्दको सालिक होला गोर्खा बजारको कुनै छिँडीमा !’

    शम्भुराजले नालीबेली कहे ।

    मैले एकपटक फेरि रित्तो स्मारकस्थल हेरेँ । वरपरका कोटैकोट बोकेर बसेका थुम्का हेरेँ । नजिकै बगिरहेको दरौँदी निहालेँ । जताततै वीरकथाले आफूलाई ठाउँ दिएको अनुभूत भयो ।

    आस्था पाण्डेले भनेको सम्झिएँ मैले—‘देशका थुम्का जोड्ने कालु पाँडे हराएका छन् धेरैका मनबाट । तैबिसेक जोगाएका छौं हामीले । काजी हराउँदै गएको खबर राजधानीसम्म लगेर सुनाइदिनु होला । खोप्लाङबाट कालु हराए भने अन्तबाट अरू धेरै वीर हराउँछन् भोलिका दिनमा !’

    गहिरो ज्ञान लिएर हिँडे म खोप्लाङबाट ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij