आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

भरियो बेलझुण्डी कोरोना अस्पताल

  • प्रकाशित मिति : आइतवार, बैशाख ५, २०७८



  • तुलसीपुर । दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पताल भरिएको छ। पच्चीस जनाको क्षमता भएको उक्त अस्पतालमा अहिले २६ कोरोना सङ्क्रमित राखिएको अस्पतालका व्यवस्थापक द्रोण वलीले बताए।

    उनका अनुसार पाँच जनालाई सघन उपचारकक्ष (आइसीयू) मा राखेर उपचार गरिएको छ भने अन्य २१ जनालाई ‘जनरल वार्ड’मा राखेर उपचार गरिएको छ। जनरल वार्डमा रहेका २१ जनालाई पनि अक्सिजन दिइएको छ। “हाम्रो क्षमता २५ जनाको हो, त्यसमा पाँच जना आइसीयु शय्या छन्”, उनले भने, “तर अहिले हामी २६ जना राख्न बाध्य छौँ।”

    पछिल्लो समय सङ्क्रमितको सङ्ख्या बढ्दै गएकाले यसपछि आउने सङ्क्रमितलाई कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता रहेको वलीले बताए। अहिले अस्पतालमा घोराहीका १५, तुलसीपुरका आठ, शान्तिनगरका दुई र रोल्पाका एक रहेका छन्।

    नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत आयुर्वेद शिक्षण अस्पतालमा कोरोना विशेष अस्पताल सञ्चालित छ। अस्पतालका लागि तल्लो तलालाई मात्रै प्रयोग गरिएको छ । माथिल्लो तलामा बिएएमएसका कक्षा सञ्चालन भइरहेका छन्।

    माथिल्ला दुई र तीन तलामा पनि अस्पताल सञ्चालन गर्न पाएमा ५५ शय्यासम्म सञ्चालन गर्न सकिने सामथ्र्य रहेको वलीले बताए। “तल्लो तलामा बिरामी राखिएको छ, यस्तो अवस्थामा माथिल्लो तलामा कक्षा सञ्चालन हुँदा सङ्क्रमणको पनि डर छ”, उनले भने, “त्यसैले माथिल्ला तलामा पनि अस्पताल सञ्चालन गर्न सकिएमा धेरै सङ्क्रमित राख्न सकिन्छ।”

    अहिले अस्पताल पनि भरिएको भन्दै बिरामीले शय्या पाउन सक्ने सम्भावना न्यून रहेको वलीको भनाइ छ। अब सङ्क्रमितले जनप्रतिनिधि र नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरेमा व्यवस्थापनमा सहज हुने तुलसीपुर उपमहानगरपालिकाका जनस्वास्थ्य प्रवद्र्धन शाखाका निरीक्षक विमल केसीले बताए।

    ‘अस्पताल ऋणमा चलिरहेको छ’

    व्यवस्थापक वलीका अनुसार अहिले अस्पताल ऋणमा चलिरहेको छ। अक्सिजन मात्रै दैनिक रु ५० हजारदेखि एक लाखसम्म खर्च हुने गरेको छ। अन्य व्यवस्थापन खर्च गरी जम्मा रु दुई लाखसम्म खर्च हुने गरेको भए पनि अहिले अस्पताललाई सरकारले रकम उपलब्ध नगराएको उनको गुनासो छ।

    उनका अनुसार गएको वर्ष असोजदेखि अहिलेसम्म लुम्बिनी प्रदेश सरकारबाट बजेट आएको छैन। “गएको असोजदेखि एक रुपैयाँ पनि आएको छैन”, उनले भने, “त्यसैले अहिले ऋणदान गरेर चलाएका छौँ।” रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij