आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

हेलिकोप्टरबाट भागेकी दक्षिण एसियाकै खुंखार अपराधी काइँली नेपाल प्रहरीको फन्दामा

  • प्रकाशित मिति : बिहिबार, बैशाख १६, २०७८



  • उनले साधारण लेखपढ मात्र गर्न जानेकी छिन्।

    तर अपराधको दुनियाँमा उनको नाम डर लाग्दो छ। देशभित्र मात्र होइन, विदेशमा समेत उनी खुंखार मानिन्थिइन्।

    काइँली, उमेर ५९ वर्ष। तस्वीर हेर्दा सालीन र भलाद्मी देखिने उनै काइँली अहिले नेपाल प्रहरीको फन्दामा परेकी छिन्।

    काइँलीको नाम ५ वटा थियो। अपराधको दुनियाँमा उनी माया, फूलमाया, देवी मायाको नामले चिनिन्थिइन्। तर, नागरिकतामा भने उनको नाम बेग्लै थियो। उनको वास्तविक नाम थियो, गोपी तामाङ।

    पहिलो नागरिकतामा उनले घरको ठेगाना धादिङस्थित रुवी भ्याली लेखाएकी थिइन्। दोस्रो नागरिकतामा स्थायी ठेगाना नुवाकोट राखिन्। तर वास्तवमा उनको घर धादिङमा पर्छ।

    पाकिस्तानबाट खैरो हेरोइनका ९३ क्याप्सुल खाएर आएका दाबा यसरी परे
    विभिन्न नामले चिनिने काइँली १ बैशाखमा बुढानिलकण्ठबाट पक्राउ परिन्। लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले लागुऔषध कारोबारको अभियोगमा उनलाई समात्यो।

    काइँली नेपाल प्रहरीले खोजी गरेको सुचीमा मात्र होइन, श्रीलंका, थाइल्यान्ड, माल्दिभ्स जस्ता देशका प्रहरीले सर्वाधिक खोजी गरिरहेको अपराधीको सुचीमा पनि समावेश थिइन्।

    खैरो हेरोइन कारोबारमा उनी नेपालको मुख्य व्यक्ति मानिन्थिइन्। नेपाल प्रहरीले लामो समयदेखि उनको खोजी गरिरहेको थियो।

    धादिङबाट २०५० सालमा काठमाडौं प्रवेश गरेकी उनी ठमेलमा हस्तकलाको सामान बिक्रि गर्दागर्दै लागुऔषधको दुनियाँमा प्रवेश गरेकी हुन्। ठमेलमा तान्जेनियाली नागरिकसँग सम्पर्क बाग्लो बन्दै गएपछि उनले सन् २०१४ मा विवाह गरिन्।

    विदेशी पतिसँगै उनको पेशा पनि परिर्वतन भयो। हस्तकलाको काम छाडेर उनी खतरनाक (ड्रग) डिलर बनिन्। उनको काम थियो, पाकिस्तानबाट नेपालमा हेरोइन पठाउने।

    नेपाल प्रहरीले लागुऔषधको कारोबारमा केही समयअघि तान्जेनियाली नागरिकलाई समेत पक्राउ गरेको थियो। यो मुद्धामा काइँलीको नाम पनि मुछियो। उनी नेपाल छोडेर भागिन्। त्यसपछि उनी कहाँ गइन्? नेपाल प्रहरीले पत्ता लगाउन सकिरहेको थिएन।

    लागुऔषध कारोबारमा पक्राउ परेकाहरूले पटक–पटकको अनुसन्धानमा काइँलीको नाम लिएका थिए। यसपछि उनी खतरनाक भएको प्रहरीलाई थाहा भयो। तर, उनी कहाँ बस्थिन्, यो भने सबैका लागि कौतुहलताको विषय बनेको थियो।

    पाकिस्तानको बाटो हुँदै खैरो हेरोइन नेपाल भित्रिने क्रम बढेसँगै प्रहरीले कडाई सुरु गरेको थियो। काइँली पनि नेपालबाट भागेर पाकिस्तान पुगेकी थिइन्।

    ‘उसले परिचय नै फेरेर बस्ने गरेको देखियो। उसको नागरिकता नै दुईवटा थिए। पासपोर्टमा पनि फरक फरक नाम,’ लागुऔषध नियन्त्रण ब्यूरोका एसएसपी दिलिप चौधरीले बिएल नेपाली सेवासँग भने।

    उनले पहिलो नागरिकता २२ माघ २०५० धादिङबाट जारी गराएकी थिइन। जसमा उनको जन्ममिति २०१८ छ। नाम गोपीमाया तामाङ राखिएको छ। दोस्रो नागरिकता २४ कार्तिक २०७० नुवाकोटबाट निकालिएको छ। यसमा जन्ममिति १ चैत २०२२ राखिएको छ। नाम फेरिएर देवीमाया राखिएको छ।

    प्रहरीसँग उनको विषयमा धेरै जानकारी थिएन। त्यसैले उनी प्रहरी फन्दाबाट फुत्किरहेकी थिइन्। प्रहरीले जब उनको समूहका ब्यक्तिलाई लागुऔषधसँग पक्राउ गर्थ्यो, काइँलीले आफ्नो नामसँगै हुलिया पनि फेर्ने गर्थिन्।

    प्रहरी अधिकारीका अनुसार एक पटक काइँलीका केही सदस्यलाई प्रहरीले पक्राउ गर्यो। काइँलीको नाम पोलियो। उता काइँली बास बस्ने ठाउँमा प्रहरी खोज्न गयो। काइँली भने बिमानस्थलमा पुगेर हेलिकोप्टर चार्टर गरी धादिङ भागिन्। त्यहाँबाट भागेकी उनी प्रहरी फन्दामा परिनन्।

    पाकिस्तानमा बसेर उनी नेपाल, थाइल्याण्ड, माल्दिभ्सलगायत देशमा कारोबार गर्थिन्। ‘उनको कनेक्सन हेर्दा विभिन्न देशमा देखिएको छ। धेरै विदेशी मानिससँग सम्पर्क भएको छ,’ ब्यूरोका एसएसपी चौधरीले भने।

    उनले करिब ४ वर्ष पाकिस्तानमा बसेको प्रहरीलाई बयान दिएकी छिन्। त्यस्तै तान्जेनियाली नागरिकसँग बैबाहिक जीवनसमेत टुँटेको उनले प्रहरीसमक्ष बयान दिएकी छिन्।

    करिब डेढ वर्षदेखि उनी नेपालमा बसेर लागुऔषधको कारोबार गर्दै आएको उनको दावी छ।

    ब्यूरो टोलीले २६ चैतमा पाकिस्तान हुँदै नेपाल भित्रिएको ९ सय ग्राम हिरोइनसहित धादिङका ४९ वर्षीय दावा लामा तामाङलाई नियन्त्रणमा लिएको थियो।

    दावाले क्याप्सुल बनाएर पेटभित्र राखेर लागुऔषध ल्याएका थिए। जुन ‘कनेक्सन’ काइँलीसँग जोडियो। जसको परिणाम अहिले काइँली प्रहरी नियन्त्रणमा छिन्।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij