प्रकाशित मिति : शनिबार, बैशाख १८, २०७८
सुदुरपश्चिम । पछिल्लो समय सुदूरपश्चिम प्रदेशमा औलो रोगको जोखिम बढ्दै गएको पाइएको छ। औलो रोग नियन्त्रणका लागि सरकारी क्षेत्रबाट प्रयास जारी रहे पनि यहाँका जिल्लामा अझै औलो पूर्ण रुपमा नियन्त्रणमा आउन नसकेको स्वास्थ्यकर्मी बताउँछन्। यस प्रदेशमा आयातित औलोका बिरामी सबैभन्दा बढी पाइएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालय दिपायल राजपुरले जनाएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालय राजपुरका निर्देशक डा गुणराज अवस्थीले यहाँका कैलाली, कञ्चनपुर, अछाम, बैतडी, डडेल्धुरा र डोटीमा औलोको जोखिम बढेको हो। उनका अनुसार छ जिल्लामा मात्रै १८६ जनामा औलो रोग देखापरेको छ। औलोका बिरामी सबैभन्दा बढी कैलालीमा फेला परेका छन् । चालू आवमा कैलालीमा ७०, कञ्चनपुरमा ३६, अछाममा १४, बैतडीमा १२, डडेल्धुरामा नौ र डोटीमा सात औलो रोगी फेला परेका हुन्।
जिल्लामा स्थानीयभन्दा पनि आयातित औलोका बिरामी बढेको निर्देशनालयको तथ्याङ्क छ । चालू आवमा ११५ आयातित औलोका बिरामी रहेको बताइएको छ । प्रदेशमा आव २०७६÷७७ मा ३२० औलोका बिरामी थिए । त्यसमध्ये २५५ आयातित र ६५ स्थानीय औलोका बिरामी थिए । प्रदेशमा आयातित औलोका सबैभन्दा बढी बिरामी कैलालीमा पाइएका छन् । यहाँका जिल्लामा आयातित औलोका बिरामीको सङ्ख्या भने क्रमिक रुपमा कम हुँदै गएको बताइएको छ।रासस
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij