आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

मन्त्री त्रिपाठीलाई सुरज वैद्यकाे चुनौती: कमिसन नपाएर भ्याक्सिन राेकेकाे प्रमाणित भए व्यापार छाेड्छु

  • प्रकाशित मिति : बिहिबार, बैशाख २३, २०७८



  • काठमाडौं । कमिसन नमिलेका कारण कोरोना विरुद्धको खोप नल्याएको आरोप खेपेका व्यवसायी सुरज वैद्यले उक्त आरोप निराधार भएको बताएका छन् ।

    क्लिकमाण्डूसँग कुरा गर्दै उनले स्वास्थ्यमन्त्री हृदेयश त्रिपाठीले बिना आधार र बिना प्रमाण आरोप लगाएको बताए । उनले मन्त्री त्रिपाठीले आरोप प्रमाण गर्न सके आफू व्यवसाय नै छाड्न र जुनसुकै कारबाही भोग्न पनि तयार रहेको बताए ।

    ‘म र मेरो परिवार कमिसनको चक्करमा खोप नल्याउने गरी काम गरेको प्रमाणि भए म सम्पूर्ण व्यवसाय छाड्न तयार छु,’ उनले भने, ‘मन्त्री हृदयेश त्रिपाठीले जनतामा भ्रम छर्ने काम गरेका छन् ।’

    वैद्यले के भने ?
    प्रधानमन्त्री र हृदयेश त्रिपाठीबीच कुरा नमिल्दा हामी जस्ता व्यवसायी मुछिएको हो । जुन मन्त्रीले आरोप लगाएर १० लाख डोज खोप नआएको कुरा गलत छ ।

    पक्कै पनि शुरुमा हामी सहभागी थियौं । सिरमले यो भ्याक्सिन उत्पादन गर्नु अघि नै बंगलादेश, साउदी र नेपालसँग सम्झौता गरिसकेको थियो ।

    नेपालका लागि हुकुम फार्मेसी विजय दुगडको छोरा मुम्बइ बस्नुहुन्छ उहाँसँग निकटता भएकाले २ मिलियन डोज दिन्छु भनेकाले हामीले पनि शुरु गरेका हौं । यसले नेपाललाई पनि सहयोग हुन्छ भनेकाले हामीले शुरु गरेका हौं ।

    त्यो बेला हामीलाई पत्र पठाए अनुसार नोभेम्बर महिनासम्म त्यो भ्यालिड थियो । तत्कालिन समयमा ४ डलर ५० सेन्टको दरमा हामीलाई पठाएको थियो । त्यसपछि हामीले नेपाल सरकारसँग आयात गर्नका लागि माग गयौं । तर त्यो बेलामा निजी क्षेत्रलाई नदिन भन्ने छलफल भयो होला । त्यसका लागि समिति नै गठन पनि भयो । त्यसपछि क–कस्ले आयात गर्न सक्ने भनेर गर्न सक्छ भनेर मन्त्रालयमा पेश गर्न भनियो । त्यो बलामा स्पुतिनिक, चिनियाँ र सिरमको खोप पनि थियो । त्यसका लागि हामीले विश्व स्वास्थ्य संगठनको दोस्रो ट्रयालको रिपार्ट समेत पेश गर्यौं ।

    हामीसँग नोभेम्बरसम्मको मात्रै भ्यालिड भएकाले हामीले अलिक जोड गर्यौ । तर मन्त्रीज्यूले निजी क्षेत्रलाई नदिने बरु सरकारले नै ल्याउने भन्ने कुरा भयो । त्यसमा सरकारले आफैले ल्याउने भनेको राम्रो पनि हो ।

    त्यसपछि भारत सरकारसँग नेपाललाई १० लाख डोज खोप अनुदान दियो र नेपाल सरकारले थप २० लाख डोज खोप ल्याउनु पर्ने थियो । त्यसमा भारत सरकारले नै स्पेसल प्राइस भनेर दिएको हो । जसमध्ये १० लाख डोज आइसकेको छ भने १० लाख डोज आउनु बाँकी छ ।

    त्यसमा के सर्भिस चार्ज १० प्रतिशत दिने कि नदिने भन्ने विषयमा छलफल नभएको होइन । मन्त्रालयमा छलफल भएको हो । त्यसमा हुकुम फार्मेसीलाई नदिने भनेर माइनुट नै गरेको कागज मैले देखेको छु ।

    अहिले सरकारले ल्याउन नसकेको कारण कसरी त त्यो भन्नु पर्छ । यसमा हाम्रो कमिसनको खेल केही पनि छैन ।

    तर मन्त्रीज्यूको आफ्नै कमजोरी होलान् । सरकार ढल्दैछ भन्ने पनि मनमा भएकाले मैले प्रयास गरेको थिएँ भनेर जनतालाई भन्नु पर्ने होला ।

    तर प्रश्न कहाँ छ भने १० लाख डोज ढिलो भएको होला, तर यत्तिले मात्रै सम्पूर्ण जनतालाई त पुग्दैन । त्यसैले प्रश्न के हो भने सम्पूर्ण जनताका लागि खोप ल्याउनका लागि के गर्नु भयो त ?

    अहिले हेर्दा प्रधानमन्त्री र मन्त्रीबीच कुरा नमिलेर बाहिर आएको हो भन्ने लाग्छ । अहिले मलाई प्रधानमन्त्रीसँग पनि मेरो नाम जोडेर आएको छ । हिजोका दिनमा बाबुराम भट्टराईसँग पनि हामी नजिक थियौं । बाबुरामको मान्छे पनि भन्थे । सुशील कोइरालासँग नजिक भएर काम गरेका थियौं, गिरिजाबाबुसँग पनि हामी नजिक नै रहेर काम गरेका हौं ।

    हृदेयशजी पुरानो राजनीतिज्ञ हो । उहाँले हामीलाई दोष दिएर जनतालाई भ्रमित बनाउने ठाउँ खोज्नु भएको हो कि ? कस्तो खालको मन्त्री हुनुहुन्छ उहाँ ? हामीलाई मन्त्री बनाइदिनु न हामी गर्छौ नि काम ? आफ्नो कमजोरी अरुमाथि पोख्नु दुःखलाग्दो कुरा हो नि ।

    यदि मन्त्रीज्यूले हामीमाथि लगाएको आरोप प्रमाणित गर्न खोज्नु भएको छ म मुलुकको जुनसुकै सजाय भोग्न तयार छु । म सम्पूर्ण व्यापारबाट मुक्त हुन पनि सक्छु । हामीले अहिले ज्यान लिन काम अहिलेसम्म गरेको छैन । कोभिडको समस्या समाधानमा हामी काम गर्छौ । नाम कमाउन वर्षौ लाग्छ धन कमाउनु भन्दा निकै ठूलो कुरा हो ।

    मलाई उहाँले के आधारमा यो आरोप लगाउनु भएको छ त्यो पनि मलाई थाहा छैन । उहाँसँग आजसम्म भेट पनि भएको छैन । मन्त्री भएपछि एक पटक फोनमा मात्रै कुरा भएको हो । भेट गर्नका लागि पनि बोलाउनु भएको छैन । अचानक यो कुरा कसरी आएको छ मलाई अचम्म लागेको छ ।

    यो कमिसनको सन्दर्भमा म वा मेरो परिवारको कोही व्यक्ति संलग्न छ भने म भोलिका दिनदेखि नै सम्पूर्ण व्यापार व्यवसाय छाड्न तयार छु । यदि म यस काममा संलग्न थिए भने आजसम्म मलाई मन्त्रालयमा बोलाएर एक पटक छलफल गरेको छैन । त्यसो गर्नुपर्ने थियो कि थिएन ?

    मैले आजका दिनसम्म प्रधानमन्त्रीसँग व्यक्तिगत कुरा राखेको छैन । तत्काली पर्यटनमन्त्री रवीन्द्र अधिकारीले मलाई नेपाल भ्रमण वर्षको राष्ट्रिय संयोजक हुँदा प्रधानमन्त्रीसँग नजिक भएका कारणले भएको हो भनेर पनि भ्रम फैलाउने काम भएको छ ।र, खोपको कुरामा हामीसँग नोभेम्बरसम्मको समय थियो । त्यो समयसम्मका लागि नेपाल सरकारले हामीलाई अप्रुभल नै दिएन र आजसम्म पनि ल्याउन सकिएन । अहिले नेपालको कानूनमा २० प्रतिशतभन्दा बढी सर्भिस चार्ज लिन सक्नुहुन्न । र, भ्याक्सिन जस्तो सामानमा बढीमा १० प्रतिशतभन्दा मूल्य लिन पाइन्न । यो हामीले तोकेको होइन, सरकारले नै तोकेको हो । यो १० प्रतिशत भनेको हामीले ल्याउँदा लाग्ने खर्च पनि हो नि कमिसन भनेर बुझ्नु हुँदैन । यसमा नेपाल सरकार आफैले ल्याउँदा त सबैभन्दा राम्रो हो ।

    भ्याक्सिनको ६ महिनासम्मको अवधि हुन्छ । यसलाई रिफ्रिजेरेटरमा हाल्नुपर्छ । त्यसलाई जुन प्रकारको खर्च लाग्छ त्यो खर्च पनि यो जाडिन्छ ।

    लौ एक पटक नाफाकै कुरा गरौं । त्यो समयमा हामीलाई अप्रुभल दिएको भए ४ डलरमा त आउँथ्यो नि । आजका ४ डलरमा पाउने अवस्था छैन । आज सिरमले पनि दिन सक्दैन र हामीले त्यति ठूलो संख्यामा ल्याउन पनि सक्दैनौं । आज स्पुननिकको १९ देखि २० डलर र मडोनाको ४० डलरसम्ममा कुरा भइरहेको छ ।

    तर जे भए पनि भारत सरकारले अनुदानमा दिएको १० लाख र १० लाख किनेर ल्यायो । जुन असाध्यै राम्रो हो । जे भए पनि राम्रो काम भयो । सिरम भन्ने सानो कम्पनी पनि होइन । संसारको ठूलो कम्पनीमध्येको एक हो । सोही कम्पनीको व्यक्तिले नेपाल सरकारलाई फ्याक्ट्रीमा आगो लागेकाले सप्लाइमा केही ढिलाइ हुन्छ भनेर पत्र पठाएको छ । त्यसमा तपाईंले पाउने खोपमा ढिलाइ हुन्छ अन्यथा तपाईंले चाहेमा पैसा पनि फिर्ता लिएर जान सक्नुहुन्छ भनेर पत्र पठाएको छ । जसलाई नेपाल सरकारले आजसम्म पनि उत्तर पठाएको छैन । अहिले पछिल्लो समयमा आएर बिना कारण, बिना प्रमाण मलाई दोष देखाउने मात्रै काम भएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij