शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

लुम्बिनीका पालिकामा ६० आइसोलेशन सञ्चालनमा

  • प्रकाशित मिति : शनिबार, बैशाख २५, २०७८



  • रुपन्देही। कोरोना भाइरस सङ्क्रमण नियन्त्रण तथा सङ्क्रमितको उपचार प्रभावकारी बनाउन लुम्बिनी प्रदेशका स्थानीय तहले आइसोलेशन निर्माणको कामलाई तीव्र बनाएका छन्।

    प्रदेशका अस्पतालमा अक्सिजन अभावका कारण कोरोना भाइरस सङ्क्रमित बिरामीको उपचारमा समस्या हुन थालेपछि स्थानीय तहले आ–आफ्ना पालिकामा अक्सिजन सिलिन्डरसहित आइसोलेशन निर्माण गरेका छन्। प्रदेशमा अहिलेसम्म नौ जिल्लाका पालिकाले ६० आइसोलेशन सेन्टर तयार गरेका छन्। ती आइसोलेशनमा एक हजार ८३ श्यया राखिएका छन्।

    अस्पतालबाहेक रुपन्देहीमा १३, कपिलवस्तुमा सात, दाङमा आठ, बाँकेमा १४, गुल्मीमा चार, अर्घाखाँचीमा पाँच र प्यूठानमा आठ तथा रुकुम पूर्वमा एक आइसोलेशन सेन्टर सञ्चालनमा छन्। बाँकी जिल्लामा पनि आइसोलेशन निर्माणको तयारी गरिएको छ।

    प्रदेशको स्वास्थ्य आठ जिल्लाका स्थानीय तहका आइसोलेशन सेन्टरमा मात्रै ३४२ सङ्क्रमितको उपचार भइरहेको छ। यीबाहेक प्रदेशमा चार विशेष कोरोना आइसोलेशन अस्पतालसहित १२ आइसोलेशन अस्पताल छन्। प्रदेशमा होम आइसोलेशनमा १४ हजार ४३६ कोरोना सङ्क्रमित छन्।

    रुपन्देहीको बुटवल उपमहानगरपालिकाले कोरोना सङ्क्रमण नियन्त्रण र उपचार प्रक्रियालाई प्रभावकारी बनाउन समुदायस्तरमा कोरोना परीक्षण गर्नाका साथै अक्सिजन बैंक सञ्चालन गरेको छ। नगरपालिकाले अहिलेसम्म अस्पतालमा श्यया नपाएका १२९ जनालाई अक्सिजन सिलिन्डरको व्यवस्था गरेको प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिए।

    अस्पतालमा बिरामीले भरिएपछि नगरपालिकामा अक्सिजनको माग धेरै भएको उजको भनाइ छ। “अस्पतालमा उपचार नपाएर तड्पिएका नगरवासीलाई सेवा दिन अक्सिजन बैंक सञ्चालन गरेका हौँ, यसले धेरैलाई राहत भएको छ, तर पर्याप्त ग्यास नहुँदा मागअनुसार दिन उपलब्ध गराउन सकेका छैनौँ”, उनले भने।

    जिल्ला प्रशासन कार्यालयले अस्पतालका लागि प्राथमिकता दिन ग्यास उद्योगलाई परिपत्र गरेपछि बैंकमा पर्याप्त अक्सिजन नभएको प्रवक्ता रेग्मीले बताए। नगरपालिकाले बुटवलको एन्फा एकेडेमीमा आइसोलेशन सेन्टर सञ्चालनमा ल्याएको छ भने वडा नं ११ र १३ को भवनमा थप आइसोलेशन सेन्टर बनाउने तयारी गरेको छ।

    तिलोत्तमा नगरपालिकाले शङ्करनगरमा ४० श्यया क्षमताको एक तहको अस्पतालको सुविधा रहेको आइसोलेशन सेन्टर सञ्चालनमा ल्याएको छ भने वडा नं ९ को केवलानीमा थप ६० श्ययाको आइसोलेशन सेन्टर बनाउन तयारी थालेको नगरप्रमुख वासुदेव घिमिरेले जानकारी दिए।

    तिलोत्तमाले कोरोना सङ्क्रमित बिरामीको उपचारका लागि आइसोलेशन सेन्टरमा पर्याप्त अक्सिजन सिलिन्डरको व्यवस्था मिलाउन अक्सिजन सिलिन्डर सहजीकरण तथा व्यवस्थापन समिति गठन गरेको छ।

    नगरस्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठकले नगर उपप्रमुख जागेश्वरी चौधरीको संयोजकत्वमा राजनीतिक दल, व्यावसायिक सङ्घसंस्थाका प्रतिनिधि, कर्मचारी सहभागी रहेको समिति गठन गरेको हो।

    नगरप्रमुख वासुदेव घिमिरेको अध्यक्षतामा बसेको सिसिएमसीको सचिवालय बैठकले आइसोलेशन सेन्टरमा पर्याप्त अक्सिजन सिलिन्डरको व्यवस्थापन गर्न नगर क्षेत्रभित्र रहेका उद्योगी, व्यापारी, सङ्घ–सङ्गठनलाई संस्थागत हिसाबले अनुरोध गर्ने निर्णय गरेको छ।

    सैनामैना नगरपालिकामा कोभिड–१९ विरुद्ध कोरोना अस्थायी आइसोलेशन अस्पताल सञ्चालनमा आएको छ। सैनामैना–१ स्थित पदमपाणि योग तथा प्राकृतिक चिकित्सालयमा कोरोना विशेष अस्थायी आइसोलेशन अस्पताल निर्माण गरी सञ्चालनमा ल्याइएको नगर उपप्रमुख विना रानाले बताउनुभयो । यति मात्रै होइन सैनामैनाले समुदायस्तरमा समेत कोरोना परीक्षण शुरु गरेको छ। यही वैशाख २७ गतेसम्म्ममा नगरका सबै वडामा स्वाब सङ्कलन र परीक्षणको काम गरिने नगरपालिकाले जनाएको छ।

    यस्तै देवदह नगरपालिकामा अक्सिजनसहितको २० श्ययाको आइसोलेशन सेन्टर सञ्चालन गरिएको छ। देवदह–७ मा रहेको मगर समाजको भवनमा आइसोलेशन सेन्टर सञ्चालन गरिएको नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङले बताए। नगरपालिकाले समस्या देखिएका नगरवासीको निःशुल्क कोरोना परीक्षणसमेत शुरु गरिएको उनले बताए।

    जिल्लाको सिद्धार्थ नगरपालिकाले बसपार्कमै आइसोलेशन सेन्टर सञ्चालनमा ल्याएको छ। आइसोलेशन सेन्टरमा अक्सिजन सिलिन्डरसहितका २० श्यया रहेको नगर उपप्रमुख उमा काफ्लेले जानकारी दिइन्।

    “थप अइसोलेशनका लागि नगरमा खाली ठाउँ छैन, नगरमा मेडिकल कलेज र एउटा सरकारी अस्पताल भएका कारण केही सहज भएको छ”, उनले भनिन्। सिद्धार्थ नपाले सङ्क्रमित बिरामीको मनोबल बढाउन होम आइसोलेशनमा मनोपरामर्श दिने कामसमेत गरिहेको उनले बताए।

    लुम्बिनी सांस्कृतिक नगरपालिका–१० मा अक्सिजनसहितको २० श्ययाको आइसोलेशन सञ्चालन गरेको छ। नगरमा कोरोना सङ्क्रमण देखिएका बिरामीलाई आसोलेशनमा राख्ने र थप समस्या देखिए अस्पताल पठाउने गरिएको नगरप्रमुख मनमोहन चौधरीले जानकारी दिए। बिरामीको सेवाका लागि दक्ष स्वास्थ्यकर्मी र एउटा एम्बुलेन्सको समेत व्यवस्था गरिएको उनको भनाइ छ। लुम्बिनीले कोरोनाको रोकथामका लागि आइतबारदेखि समुदायस्तरमा कोरोना परीक्षणसमेत गर्न लागिएको छ।

    रोेहिणी गाउँपालिकाले पनि कोरोना सङ्क्रमितको उपचारका लागि पाँच श्ययाको आइसोलेशन सञ्चालन गरेको छ। रोहिणी–३ मा रहेको धकधई प्राथमिक स्वास्थ्य केन्द्रमा केन्द्रीय सरकारको रु १० लाखको सहयोगमा आइसोलेशन तथा कोरोना विशेष अस्पताल सञ्चालमा ल्याइएको प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले जानकारी दिए। अस्पतालमा विशेषज्ञसहितको समूहले बिरामीलाई उपचार सेवा दिएको छ।

    जिल्लाको शुद्धोधन गाउँपालिकाले पनि मोतिपुर स्वास्थ्य केन्द्रको स्तरोन्नति गरी पालिकाका नागरिकलाई सेवा दिएको छ । पाँच श्ययाको स्वास्थ्य केन्द्रलाई दशमा पु-याएर कोरोना सङ्क्रमितको उपचारलाई प्रभावकारी बनाउन लागिएको प्रवक्ता राजेन्द्र कँडेलले जानकारी दिए।

    निरा गौतम/रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij