आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

ओलीको सन्देशले रोक्यो राजीनामा

  • प्रकाशित मिति : बुधबार, बैशाख २९, २०७८



  • काठमाडाैं। सांसद पदबाट सामूहिक राजीनामा दिने तयारीमा रहेको नेकपा एमाले नेपाल समूह सोमबार बिहान एकाएक राजीनामा नदिने बरु संसद् बैठकमा अनुपस्थित हुने निर्णयमा पुग्यो। आइतबार राति नेता माधव नेपालले अध्यक्ष केपी शर्मा ओलीलाई पत्र लेखेर लोकतन्त्र र पार्टी हितका लागि सांसदबाट राजीनामा दिन तयार रहेको जनाउ दिएका थिए। सोमबार बिहान सांसदबीचको छलफलपछि भने राजीनामाबाट पछि हटेर संसद्मा अनुपस्थित हुने निर्णयमा पुगेको हो।

    नेपाल पक्षका सांसदको छलफल चलिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा नदिन र अन्य विकल्प रोज्न आग्रह गर्दै पार्टीको विवाद संवाद गरेर मिलाउने सन्देश पठाएका थिए। बैठकमा ओलीको सन्देशबारे पनि छलफल भएको थियो। त्यसपछि नेपाल पक्षका सांसदले राजीनामा नदिई संसद् बैठकमा अनुपस्थित हुने निर्णय गरेका थिए। छलफल सकिएलगत्तै अर्थमन्त्री विष्णु पौडेलले नेपाल पक्षका नेता घनश्याम भुसाल, गोकर्ण बिष्ट र योगेश भट्टराईसँग छलफल गरेका थिए।

    उनले पार्टी एकताका लागि अझै पनि आधारहरू बाँकी रहेको, फागुन २८ गतेका निर्णयमा पुनर्विचार गर्न सकिने तथा पार्टीलाई २०७५ जेठ २ कै अवस्थाको सांगठनिक संरचनाअन्तर्गत लैजान सकिने विकल्प बाँकी रहेको बताएका थिए। सांसदले राजीनामा नदिएर अन्य विकल्प रोजेमा त्यसबापत कुनै पनि कारबाही नहुनेमा पनि उनले आश्वस्त बनाएको स्रोतको दाबी छ।

    पौडेलसँग संवाद गरेर बाहिरिएका भट्टराईले एमालेको एकता कायम रहेको आम कार्यकर्ताले हेर्न चाहेकाले यसलाई कसैले पनि बेवास्ता गर्न नमिल्ने प्रतिक्रिया दिएका थिए। ‘सबैले अहिले एमालेको एकता चाहेका छन्, त्यसलाई कसैले नजरअन्दाज नगरौं, हेरौं, अझै समय छ,’ भट्टराईले भनेका थिए।

    पौडेलसँगको छलफल सकिनुअघि प्रधानमन्त्री एवं एमाले संसदीय दलका नेता ओलीले सामाजिक सञ्जालमार्फत ‘केही समस्या भए आउनुस् छलफल गरौं’ भन्दै आह्वान गरेका थिए। ‘नेकपा एमाले संसदीय दलका सबै माननीय सदस्यहरूलाई अवगत नै छ, प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि आज दिनको १ बजेबाट प्रतिनिधिसभाको विशेष अधिवेशन र बैठक बस्दैछ।

    त्यस प्रयोजनका लागि प्रधानमन्त्रीको पक्षमा मतदान गर्न दलका तर्फबाट जानकारी गराइएको छ। यस्तो अवस्थामा आन्तरिक मतभेद वा असन्तुष्टि केही भए आपसी छलफलबाट समाधान गर्न सकिने नै छ। तसर्थ हतारोमा कुनै पनि अनुचित निर्णयमा जान वाञ्छनीय नहुने कुरामा म सबै माननीयज्यूहरूको ध्यानाकर्षण गराउन चाहन्छु। आउनुस्, केही समस्या भए सँगै बसौं, छलफल गरौं र समाधान गरौं’, ओलीले भनेका थिए।

    नेपाल पक्षको निर्णयअनुसार नै संसद्को विशेष अधिवेशनमा सो समूहका २८ सांसद अनुपस्थित रहे। यस विषयलाई एमाले प्रमुख सचेतक विशाल भट्टराईले संसदीय इतिहासमा कलंकको दिन भएको टिप्पणी गरे। उनले यस विषयमा पार्टीभित्र छलफल गरेर निर्णय भएपछि मात्रै टुंगोमा पुग्ने बताए। नेपाल पक्षका सांसदले प्रधानमन्त्री ओलीलाई असहयोग गरे पनि उनीहरूमाथि तत्काल कारबाही नहुने स्रोतले बतायो।

    पार्टी एकता कायम राख्न तत्काल कारबाही नहुने ओली पक्षका एक नेताले बताए। अहिलेको अवस्थामा ओलीकै नेतृत्वमा पुनः सरकार बन्ने सम्भावना रहेकाले उनीहरूलाई कारबाही नगरिने उनले स्पष्ट पारे। संविधानको धारा ७६ मा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमतको सरकार, सबैभन्दा ठूलो दलको नेताको नेतृत्वमा अल्पमतको सरकार र कुनै सांसदको नेतृत्वमा बन्ने सरकार गरी तीनवटा विकल्प छन्। धारा ७६ को उपधारा १ र २ को औचित्य समाप्त भएको र अब संविधानको धारा ७६ को ३ अनुसार प्रधानमन्त्रीमा ओली नै नियुक्त हुने उनी पक्षधरको विश्वास छ। यो समाचार नागरिक दैनिकमा छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij