प्रकाशित मिति : शुक्रबार, बैशाख ३१, २०७८
काठमाडाैं। माधव नेपाललगायत चार नेतालाई निलम्बन फुकुवाको निर्णय गरेपछि माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले ओलीलाई फोन गरेर यो के तमासा गर्नुभएको ? भनेका थिए। उनले तपाईंले त निलम्बन फुकुवा गर्नुभएछ, कारबाही फुकुवा गर्नुभएछ, तपाईं कारबाही फुकुवा गर्ने खालको मानिस त होइन किन यसो गर्नुभयो ? भनेर जिज्ञासा राखेका थिए।
त्यसको जवाफमा ओलीले हो, कारबाही फुकुवा भयो, अरु पनि गर्ने योजना छ भनेपछि के अब त्यसो भए माधव नेपालका माग पूरा गर्दिनु हुने भो भन्दै अर्को जिज्ञासा राखेको स्रोतले जनाएको छ। दाहालले तपाईं त निर्णय पनि देब्रे हातले गर्नुहुँदो रहेछ भनेपछि ओलीले हो हो अब निर्णय देब्रेले गरे पनि दाहिनेले गरे पनि अहिलेलाई कारबाही फुकुवा भएको साँचो भन्ने जवाफ दिएको स्रोतले जनाएको छ।
करिब पाँच मिनेट जति ओलीसँग सवाल–जबाफ गरेका दाहालले ओलीसँग गत भदौ २६ गतेको निर्णयतर्फ फर्कनसमेत आग्रह गरेका थिए। ‘तपाईं २०७५ जेठ २ मा फर्कन खोज्दै हुनुहुँदोरहेछ तर अब भदौ २६ को स्थायी कमिटी बैठकको निर्णयतर्फ फर्केर पार्टी मिलाए भैगो नि,’ दाहालेको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो। तर त्यसको जबाफमा ओलीले म अहिले यतै लागेको छु, भदौ २६ वा अन्य धेरैतिर फर्कनु छ, त्यो कुरा पछि नै विचार गरौंला भनेर फोन राखेका थिए।
ओली–नेपाल भेटघाटपछि बसेको माओवादी केन्द्रको बैठकमा भने हरिबोल गजुरेल र देवेन्द्र पौडेलले माधव नेपालले धोका दिन्छन् भन्ने पहिला नै थाहा भएको र त्यतिबेला ओलीसँग मिलौं भन्दा नमानेको भन्दै दाहालको आलोचना गरेका थिए। नागरिक दैनिकबाट
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij