प्रकाशित मिति : शनिबार, जेष्ठ १, २०७८
कर्णाली । कोरोना सङ्क्रमणको दोस्रो लहर समुदायस्तरमा फैलिएपछि जिल्ला प्रशासन कार्यालयद्धारा जारी निषेधाज्ञा १५ दिन थप गरिएको छ। जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र समेतको सिफारिसका आधारमा शुक्रबार प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जेठ १५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेका हुन्।
सुर्खेतमा कोरोनाको दोस्रो लहर तीव्र गतिले फैलिएपछि रोकथामका लागि वैशाख १४ गते मध्यरातिदेखि पहिलोपटक प्रशासनले निषेधाज्ञा जारी गरेको थियो। सङ्क्रमण र मृत्युदर उच्च रहेपछि निषेधाज्ञा जारी गर्नुको विकल्प नभएको प्रशासनले जनाएको छ।
निषेधाज्ञा खुकुलो हुँदा सङ्क्रमण रोकथाममा जटिलता देखिएको भन्दै स्थानीय प्रशासनले आजदेखि निषेधाज्ञामा कडाइ गर्ने तयारी गरेको छ। आजदेखि खाद्यान्नका पसलहरु आइतबार, मङ्गलबार र विहीबार तथा फलफूल, तरकारी पसलहरु दैनिक बिहान ६ देखि ९ बजेसम्म मात्र खोल्ने व्यवस्था मिलाएको छ । कर्णालीमा हालसम्म कोरोनाबाट १३४ जनाको मृत्यु भइसकेको छ।रासस
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij