प्रकाशित मिति : आइतवार, जेष्ठ २, २०७८
बुटवल । कोरोना संक्रमणको ‘हटस्पट’ बनेको रुपन्देहीमा संक्रमण र मृत्यु दर घट्न थालेको छ । पछिल्ला तीन दिनमा संक्रमित थपिने र मृत्यु हुने दुवै संख्या निरन्तर घट्दो छ ।
वैशाख ३१ मा ५१४ जना संक्रमित थपिंदा ९ जनाको मृत्यु भएको थियो । शनिबार ४८६ जना संक्रमित थपिंदा ९ जनाकै मृत्यु भएको थियो । जुन संक्रमण दर क्रमशः ३३ र ३२ प्रतिशत तथा मृत्यु दर समान २ प्रतिशत थियो । तर आइतबारसम्म आइपुग्दा मृत्यु दर आधा घटेर १ प्रतिशतमा झरेको छ भने संक्रमण दर ३१ प्रतिशत छ । पछिल्लो २४ घण्टामा रुपन्देहीमा ६०८ जनाको पीसीआर परीक्षण गर्दा ३९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६ जनाको मृत्यु भएको छ ।
‘अस्पतालमा अक्सिजनको अभाव हुँदा मृत्यु दर बढेको थियो, अक्सिजन पाएपछि मृत्यु दर घटेको हो,’ स्वस्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीले भने, ‘यसरी नै अक्सिजन अभाव नहुने हो भने मृत्यु दर धेरै घटाउन सकिन्छ ।’ पछिल्लो तीन दिनमा संक्रमित निको हुने दर ६५ बाट ६६ र ६८ प्रतिशत हुन आएको छ ।
रुपन्देहीमा सक्रिय संक्रमितको संख्या ६ हजार ९ सय १४ रहेको छ भने मृत्यु हुने ३१५ जना पुगेका छन् । जिल्लामा २२ हजार ४ सय १९ जना कुल संक्रमित हुँदा १५ हजार १५४ जना कोरोना संक्रमणमुक्त भएका स्वास्थ्य कार्यालय प्रमुख गिरीले बताए । रुपन्देहीमा हाल ३३० जना लक्षणसहितका संक्रमित र ६ हजार ५८४ जना होम आइसोलेसनमा रहेका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij