काठमाडौं । कोरोना संक्रमितको उपचारमा प्रयोग हुने औषधि रेम्डिसिभिरको कालोबजारी गरेको अभियोग लागेका व्यक्तिलाई थुनामा पठाउन काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले आदेश दिएका छन् ।
पराजुलीले कालोबजारी तथा केही सार्वजनिक अपराध तथा सजाय ऐनअनुसार सेवक फार्मेसीका सञ्चालक रसिक मियालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएका हुन् ।
उनको फार्मेसी त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज अगाडि थियो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी पराजुलीले अनलाइनखबरसँग भने, ‘महामारीमा कालोबजारी गर्नु अक्षम्य अपराध हो, पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छु ।’
पराजुलीको आदेशपछि मियालाई केन्द्रीय कारागार, सुन्धारा चलान गरिएको छ ।