प्रकाशित मिति : बिहिबार, जेष्ठ ६, २०७८
काठमाडौं । सरकारले कोरोना भाइरसको महामारी नियन्त्रणको लागि भन्दै वैशाख दोस्रो सातादेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरेको छ । तर निषेधाज्ञाको समयमा पनि कालीमाटी तरकारी तथा फलफूल बजारमा भने दिनहुँ तरकारी खरिद बिक्रीकर्ताको भिड लाग्ने गरेको छ । बिहानै नाकसमेत नछोपिनेगरी आएका व्यवसायी एवं अन्यले कालीमाटीमा दैनिक मेला लाग्ने गर्छ ।
प्रहरी माइकिङ गर्दै आउँछ । एकैछिन तितरबितर भएजस्तो हुन्छ, त्यसपछि फेरि जात्रामा जस्तै भेला हुन्छन् त्यहाँ उपस्थित भएकाहरु । कालीमाटी प्रहरी वृत्तका डीएसपी अपिल बोहोरा कालीमाटीमा तरकारी किन्न आउनेहरुलाई जति आग्रह गर्दा पनि त्यहाँको भिड नियन्त्रण गर्न नसकिएको बताउँछन् । ‘अस्ति त हामीले लाठी चार्ज नै गर्नुपर्यो।’ बोहोरा भन्छन् ‘त्यही बजारमा १२ जना संक्रमित भेटियो भन्दापनि कोही डराउँदैनन् ।’
दुई दिनअघि कालीमाटी तरकारी बजारमा काठमाडौं महानगरपालिकाले गरेको झण्डै ४०० पीसीआर परीक्षणका क्रममा १२ जना संक्रमित भेटिएका थिए । जसमा १० जना पुरुष र २ जना महिला छन् । बोहोरा एक किलो आलु किन्न पनि कालीमाटी आउनेहरु समेत प्रशस्तै भेटिएको बताउँछन् । उनका अनुसार अहिले दैनिक प्रहरीले त्यहाँ माइकिङ गर्दै आएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij