आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

खोप, अक्सिजन र भेन्टिलेटर अनुदानमा माग्दै सरकार, चुनावमा ४० अर्ब खर्च गर्न तयार

  • प्रकाशित मिति : आइतवार, जेष्ठ ९, २०७८



  • शुक्रबार मध्यरात ढल्कँदा पनि देशका प्रधानमन्त्री जाग्राम थिए । राति करिब १२ बज्नै लाग्दा मन्त्रिपरिषद् बैठक बोलाएका उनले १ बजे राष्ट्रपतिनिवास गएर प्रतिनिधिसभा विघटन मात्र गराएनन्, मध्यावधि निर्वाचनको मिति घोषणासमेत गराए । महामारीबीच करिब ४० अर्ब खर्च गरेर मध्यावधि निर्वाचन गर्न देशका राष्ट्रपति र प्रधानमन्त्रीले निर्णय गरेकै दिन शुक्रबार संयुक्त राष्ट्रसंघले भने नेपालमा महामारी नियन्त्रणका लागि अनुदान जुटाउन दातृ निकायहरूलाई सार्वजनिक आह्वान गरेको छ । महामारीले नेपालको स्वास्थ्य प्रणालीको सामर्थ्यभन्दा धेरै ठूलो चुनौती ल्याएको भन्दै राष्ट्रसंघले अन्तर्राष्ट्रिय साझेदारसँग मिलेर ‘नेपाल कोभिड– १९ प्रतिकार्य योजना’ पनि जारी गरको छ ।

    वैकल्पिक सरकार निर्माणमा अवरोध गर्न, प्रतिनिधिसभा विघटन गर्न, मध्यावधि निर्वाचन गर्न र देशको ढुकुटीबाट ४० अर्ब रुपैयाँ खर्च गर्न नेपाल सरकार प्रतिबद्ध देखिएको छ । शनिबार पनि निर्वाचन आयोगका पदाधिकारीलाई भेट्दै प्रधानमन्त्री केपी ओलीले निर्वाचनको तयारीमा जुट्न आग्रह गर्दै स्रोत र साधनको कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । तर, खोप, अक्सिजन, भेन्टिलेटर र पिपिई मात्र होइन, मास्कका लागि भने पर्याप्त बजेट नभएकाले सरकारले अनुदानका लागि याचना गरिरहेको छ । सरकार र दूतावासको अनुरोधमा विभिन्न देशबाट अनुदान आइरहेको छ ।

    नेपाल सरकार निर्वाचनको तयारीमा लागेका वेला राष्ट्रसंघले आगामी दिन नेपालका लागि संकटपूर्ण रहेको भन्दै सहयोगको लागि समन्वय अघि बढाएको छ । ‘महामारीबाट नेपाली समाजका सबैभन्दा गरिब र सीमान्तीकृत व्यक्ति बढी प्रभावित भएको भन्दै उनीहरूको जीवन रक्षाका गर्न र अनावश्यक पीडा निवारण गर्न तत्काल कदम चाल्नुपर्ने अवस्था छ,’ नेपालस्थित राष्ट्रसंघीय आवासीय संयोजक सारा बेयसोलो न्यान्तीले भनेकी छिन् ।

    खासमा नेपालमा महामारी व्यापक भए पनि परीक्षण पर्याप्त नभएकोमा राष्ट्रसंघको आवासीय कार्यालयले चिन्ता व्यक्त गरेको छ । ‘नेपालमा कोभिड– १९ परीक्षणमा ४५ प्रतिशतभन्दा बढी पजिटिभ परिणाम आइरहेको छ । यसले संक्रमणको दर सार्वजनिक भएभन्दा बढी रहेकोतर्फ संकेत गरेको छ,’ राष्ट्रसंघको आवासीय कार्यालयको विश्लेषण छ ।

    भारतमा संक्रमण चर्किएको झन्डै तीन सातापछि नेपालमा संक्रमण बढ्न थालेको भए पनि यहाँको दैनिक प्रतिव्यक्ति संक्रमण दर भने भारतबराबर नै रहेको राष्ट्रसंघको भनाइ छ । ‘तर, नेपालको स्वास्थ्य प्रणालीको क्षमता तुलनात्मक रूपमा सीमित रहेको अवस्था छ,’ राष्ट्रसंघीय कार्यालयले चिन्ता व्यक्त गरेको छ ।

    नेपाल विपत्मा परेपछि विभिन्न देश र दातृ निकायले धमाधम स्वास्थ्य सामग्री पठाइरहेका छन् । अन्तर्राष्ट्रिय विकासका निम्ति अमेरिकी नियोग (युएसएड)ले कोभिडविरुद्ध नेपाललाई आपत्कालीन सहायता घोषणा गरेको छ । जसअनुसार मास्क, फेस सिल्ड, ग्लोभ्सलगायत स्वास्थ्य सामग्री लिएर अमेरिकाले तीनवटा जहाज पठाउने निर्णय गरेको छ । पहिलो जहाज शनिबार आइपुगेको छ भने आइतबार र सोमबार दुई जहाज आउँदै छन् ।

    दक्षिण एसियाका मुलुकमा अमेरिकाले पठाउने सहायताको पहिलो शृंखला शनिबार नेपाल आइपुगेको युएसएडले बताएको छ । अमेरिकी अधिकारीहरूले शनिबार कार्गो विमानबाट ल्याइएका स्वास्थ्य सामग्री स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हस्तान्तरण गरेका छन् ।

    युएस एडले यसअघि एक सय भेन्टिलेटर तथा पिपिई, अक्सिजनलगायत सामग्री दिइसकेको छ । युएसएडले आइतबार एक हजार अक्सिजन सिलिन्डिर स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गर्दै छ । युएसएडले पछिल्ला तीन साता नेपाल सरकारलाई डेढ करोड अमेरिकी डलरबराबरका स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

    पछिल्ला १५ महिनामा युएसएडले पाँच करोड अमेरिकी डलरभन्दा बढीको सहायता गरिसकेको जनाएको छ । नेपालको स्वास्थ्य सेवाको गुणस्तरीयता सुधारका लागि पछिल्ला २० वर्षमा युएस एडले ६० करोड अमेरिकी डलरबराबरको सहयोग गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij