प्रकाशित मिति : आइतवार, जेष्ठ ९, २०७८
कोरोना संक्रमणको दोस्रो लहरका कारण समग्र मुलुक नै आक्रान्त छ । अधिकांशजसो जिल्लामा निषेधाज्ञा लगाइएको छ । सीमा क्षेत्रमा स्वदेश फकर्नेको लहर छ । यस्तै मौका पारेर केही व्यक्तिहरु तस्करीमा सक्रिय भएका छन् ।



यस्तो अवस्थामा सुरक्षा निकायहरु शान्ति सुरक्षालाई चुस्त दुरुस्त राख्न खटिएका मात्र छैनन्, संक्रमण नियन्त्रणका लागि जनचेतना जगाउने र नागरिक सहयोग गर्न पनि खटिएका छन् । सुरक्षा निकायमध्ये सशस्त्र प्रहरीले आफ्नो सीमा सुरक्षाको मुख्य जिम्मेवारीसँगै महामारी नियन्त्रणमा पनि महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ ।
यसका लागि प्रत्येक प्रदेशमा सशस्त्र प्रहरीका बाहिनीहरु तैनाथ छन् । उनीहरुले सीमा सुरक्षासँगै कसरी महामारी नियन्त्रणमा टेवा पु¥याइरहेका छन् त ?
बराह बाहिनीका प्रमुख सशस्त्र डीआईजी वंशीराज दाहालले कतिपय स्थानमा संयुक्त र कतै एकल रुपमा सशस्त्र प्रहरी खटिएको पर्दाफासलाई जानकारी दिए । ‘निषेधाज्ञाको कार्यान्वयन गराउने, माइकिङ गर्ने, जनचेतना जगाउनेलगायतको काम गर्दै छौं । प्रदेश १ का २६० भन्दा बढी सीमा क्षेत्रमा हामीले चेकप्वाइन्ट खडा गरेका छौं,’ उनले भने, ‘भारततर्फ पश्चिम बंगाल र बिहारमा पनि अहिले निषेधाज्ञा छ । उनीहरुले पनि हाम्रो जत्तिकै स्थानमा एसएसबी खटाएको छ ।’

त्यसकारण सीमामा आवतजावत अत्यन्त न्यून रहेको डीआईजी दाहालले बताए । ‘सीमामा यसअघिको लकडाउनमा तनाव हुने अवस्था थियो । दुवैतर्फ निषेधाज्ञा भएकाले अहिले त्यस्तो छैन । सानो सानो मात्रामा केही लागूपदार्थ तस्करी भएको पाएका छौं, त्यसलाई पनि नियन्त्रणमा लिएका छौं,’ उनले भने । प्रदेश १ मा करिब ४० जना सशस्त्र प्रहरी संक्रमित रहेको उनले बताए ।

छिन्नमस्ता बाहिनीका प्रमुख सशस्त्र डीआईजी चन्द्रप्रकाश गौतमले प्रदेश २ मा सीमा क्षेत्रमा कडाइ गरिरहेको र निषेधाज्ञा पालनामा जोड दिएको बताए । ‘निषेधाज्ञा पालनामा जिल्लाका डीसीसीएमसी र नगरपालिका जनप्रतिनिधिको टिमसँग काम गरिरहेका छौं,’ उनले भने । प्रदेश २ मा ४६४ किलोमिटर खुला सीमा भारतसँग जोडिएको छ, जहाँ ७२ वटा बीओपी र ४४ एफओपी युनिट खडा गरिएको उनले बताए ।
‘सरकारले यहाँका भिठ्ठामोड, गौर र वीरगन्ज गरी तीन नाकाबाट आवतजावत खुला गरेको छ । त्यसबाहेक अन्य नाकामा कडाइका साथ बन्द गरेका छौं,’ उनले भने । उल्लंघन गर्नेहरुलाई हेल्थ डेस्कमा जाँच गरेपछि अपराधमा संलग्न भए कारबाही र सामान्य नागरिक भए सम्झाइबुझाइ गर्दै आएको डीआईजी गौतमले जानकारी दिए । हाल प्रदेश २ मा २६ जना सशस्त्र प्रहरी संक्रमित भएकोमा १३ जना निको भएको उनले बताए ।
डीआईजी गौतमका अनुसार निषेधाज्ञाको मौका छोपेर विशेषगरी राति तस्करीका क्रियाकलाप बढ्ने रात्रि गस्तीमा जोड दिइएको छ । लागूऔषध, खाद्यान्न, कपडा र औषधि लगायतका तस्करी भएका सामग्री बरामद गरिरहेको उनले जानकारी दिए ।
बिन्ध्यवासिनी बाहिनीका प्रमुख डीआईजी किशोर प्रधानले हाल तराईको सीमा क्षेत्रमा बढी केन्द्रित भएको जानकारी दिए । त्यसका लागि पहाडी जिल्लाबाट थप जनशक्ति मद्दत लिइएको उनले बताए । ‘आवतजावत खुला भएको सीमामा नियमन, निगरानी र सहजीकरण तथा सीमा क्षेत्रमा आपराधिक तथा तस्करीसम्बन्धी गतिविधि नियन्त्रणमा खटिएका छौं,’ उनले भने ।
लुम्बिनीमा सुनौली, कृष्णनगर र जमुनाह नाकामा आवतजावत खुला गरिएको छ । त्यहाँ चौबीसै घण्टा खटिएर स्वास्थ्यकर्मी तथा नेपाली भित्रनेका लागि सहयोग गरिरहेको, मास्क तथा सेनिटाइजर वितरण, महिलाहरुको सहयोगार्थ छुट्टै महिला टिम खटिएको उनले जानकारी दिए । यस्तै, प्रदेश, स्थानीय तह र सुरक्षा निकायहरुसँग मिलेर संयुक्त र एकल रुपमा गस्ती तथा जनचेतना जगाउने कार्यमा खटिएको डीआईजी प्रधानले बताए ।
वैद्यनाथ बाहिनीका प्रमुख डीआईजी प्रवीणकुमार श्रेष्ठले सुदूरपश्चिममा विशेषगरी भारतीय नाका गौरीफन्टा लगायतमा आवतजावत बढी भएकाले त्यस क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको जानकारी दिए । त्यसका लागि पहाडी जिल्लाबाट करिब दुई सयको हाराहारीमा सुरक्षाकर्मी थपिएको बताए । कैलाली, कञ्चनपुरजस्ता जिल्लाको सीमा भारतसँग जोडिएको र त्यहाँ तस्करीको गतिविधि हुनसक्ने भएकाले सुरक्षाकर्मी सतर्क रहेको बताए ।

विगतमा जस्तै पछिल्लो समय पनि विभिन्न वस्तुको तस्करीमा संलग्न रहेका व्यक्ति तथा सामान नियन्त्रणमा लिइरहेको उनको भनाइ छ । तर, ठूलो मात्रामा तस्करीका घटना नभएको उनले बताए । प्रदेशमा ४६ वटा बीओपी रहेको ती बीओपीबाट सरकारले खुला गरेका सीमा बाहेक क्षेत्रमा आवतजावतमा कडाइ गरिएको बताए ।
सशस्त्र प्रहरीका प्रवक्ता तथा पशुपति बाहिनीका प्रमुख डीआईजी राजु अर्यालले मुलुकभर करिब ३ सय जना सशस्त्र प्रहरी संक्रमित भएको बताए । ‘अग्रपंक्तिमा खटिने भएकाले स्वाभाविक रुपमा सशस्त्र प्रहरीमा संक्रमणको जोखिम छ । त्यसकारण आफूलाई कसरी सुरक्षित राख्ने भनेर आन्तरिक र बाह्य सुरक्षा गरी दुई प्रकारको चुनौती छ,’ उनले भने, ‘त्यसैले सशस्त्र प्रहरीलाई सतर्कता अपनाउन, उनीहरुलाई आइसोलेसनको व्यवस्था, मास्क, सेनिटाइजरको प्रयोगमा जोड दिएका छौं ।’
सीमा क्षेत्रमा पनि विशेषगरी निषेधाज्ञाको मौका पारेर तस्करी लगायतका गतिविधि नहोस् भन्नका लागि थप सतर्कता अपनाइएको जानकारी दिए । यस्तै, उपत्यकामा काठमाडौं र ललितपुरको पाटनमा गरी ७ स्थानका अक्सिजन प्लान्टहरुमा पनि सशस्त्रले सुरक्षा दिइरहेको जानकारी दिए । यस्तै निषेधाज्ञा पालना र उपत्यकामा सीमा नाकामा कडाइ गरिरहेको बताए ।

© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij