आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

आबुधाबी दूतावासबाट समयमै सेवा नपाउँदा नेपाली श्रमिक समस्यामा

  • प्रकाशित मिति : शनिबार, जेष्ठ १५, २०७८



  • अबुधाबी । वैदेशिक रोजगारीको युएईमा कार्यरत भोजपुरका रमेशकुमार श्रेष्ठको पासपोर्टको वैधानिकता २० दिनपछि सकिँदैछ । पासपोर्टको अवधि सकिएपछि उनको युएईको बैकिङ कारोबार रोकिने सन्देश उनलाई बैंकले निरन्तर पठाइरहेको छ । कम्पनीले पनि पासपोर्ट नवीकरण गरेर ५ दिनभित्र जम्मा गर्नु भनी आदेश दिएको छ तर गत मे २३ मा पासपोर्ट नवीकरण गर्न भनी नेपाली दूतावास अबुधाबी गएका श्रेष्ठ सफ्टवेयरमा समस्या भएका कारण फाराम नभरी फर्किए । दोस्रो दिन पुनः दूतावास पुगेका उनी सम्बन्धित विभागको कर्मचारी बिरामी भएकोले फाराम बुझाउन सकेनन् ।

    एउटै शीर्षकमा एक दिनभन्दा बढी छुट्टी नपाइने भएका कारण श्रेष्ठले पासपोर्ट नवीकरणको लागि अनलाइन फाराम भर्ने कोसिस नगरेका होइनन् तर सफ्टवेयरमा देखिएको समस्याका कारण उनले पुनः दूतावास पुग्नुपर्ने भएको छ । आफ्नो पासपोर्ट अवधि सकिनु अगाडि नै नवीकरण गर्न दूतावास धाउने श्रेष्ठ एक्ला पात्र होइनन् ।

    झापीकी रिता पौडेल दुबईबाट पीसीआर परीक्षण गरेर आफ्नो पासपोर्ट नवीकरण गर्न अबुधाबीस्थित दूतावास आएकी थिइन् । तर कर्मचारी बिरामी भएको भन्दै दूतावासले उनलाई रित्तै फर्काइदियो । दुबईबाट अबुधाबी पुगेर फिर्ता आउन र पीसीआर परीक्षण गर्नका लागि उनले करिब ५ सय युएई दिराम ( नेपाली रुपैयाँ १७ हजार) खर्च गरिन् तर पनि उनले पासपोर्ट नवीकरण गर्न सकिनन् । आफ्नो कम्पनीमा पुनः बिदा मिलाएर एक साताभित्रै नेपाली दूतावास आउने सोचमा छिन् । तर, दूतावास आए पनि काम नहुने हो कि भन्ने तनावमा छिन् उनी ।

    रिता र रमेश जस्ता समस्या भएका र कन्सुलरसेवा पासपोर्ट नवीकरण लगायत नाताप्रमाणित, प्रमाणपत्र प्रमाणीकरण गर्न हिजोआज दैनिक १ सयभन्दा बढी नेपाली कामदारहरु नेपाली दूतावास आउन थालेका छन् तर एक जना कर्मचारीले सबै काम गर्न नसक्ने दूतावास श्रोतले बताएको छ । वैदेशिक रोजगारीको लागि युएईमा आधिकारिक रूपमा ३ लाख भनिए पनि भिजिट भिसा, व्यावसायिक भिसा, पारिवारिक भिसाका कारण करिब चार लाख भन्दा बढी नेपालीहरु रहेको मानिन्छ । सन् २०१० मा सुरु भएको एमआरपी पासपोर्टको अवधी सकिएकाले नवीकरणको लागि दूतावास पुग्ने नेपालीहरु दिनानुदिन गुणात्मक रुपमा बढने निश्चित प्रायः छ । तर, दूतावास श्रोत भने कर्मचारी अभाव भएको बताउँछ ।

    दूतावासले पासपोर्ट सम्बन्धी काम गर्न नासु नारायण ज्ञवालीलाई जिम्मेवारी दिएको थियो । तर ज्ञवाली अधिकृतमा बढुवा भएर नेपाल सरुवा भएपछि उनको काम अर्का नासु रामविनय रेले सबै काम गरिरहेका छन् । नासु रे पनि बिरामी बिदामा एक साताभन्दा बढी बसेकाले पासपोर्ट नवीकरण र कन्सुलर सेवा सम्बन्धी काम प्रभावित भएको दूतावासले स्वीकार गरेको छ । दूतावासका प्रवक्ताले पासपोर्ट नवीकरण लगायतका कन्सुलर सेवा सुचारु रहेको दाबी गरे पनि आफ्नो काम हुन नसकेको भनी परराष्ट्रमन्त्रीका पिए खेमराज ज्ञवालीसमक्ष गुनासो गरेको पीडित श्रेष्ठले बताए ।

    समयमै पासपोर्ट नवीकरण नहुँदा युएईमा कार्यरत नेपाली श्रमिकहरुका विविध समस्या भोग्नुपर्ने हुन्छ भने केहीले जागिर नै गुमाउनु पर्ने अवस्था सिर्जना भएको छ । यस्तो अवस्थामा श्रमिकहरुलाई भविष्यमा कुनै समस्या नआओस् भनी सहजीकरण गरिरहेको नेपाली दूतावास अबुधाबी स्रोतले स्पष्टीकरण दिएको छ । कर्मचारी अभावले जनताले किन र कहिलेसम्म सास्ती पाइरहने भनी सोधिएको प्रश्नमा परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले नेपाली दूतावास अबुधाबीको सम्बन्धित कामको लागि कर्मचारी अभाव भएको जानकारी आएको तर महाशाखाले निर्णय गर्न बाँकी रहेको प्रतिक्रिया दिएकी छन् ।

    वैदेशिक रोजगारीको लोकप्रिय गन्तव्यहरुमा दूतावासको कर्मचारी सरुवा भएमा तत्काल रिक्त पदमा नयाँ कर्मचारी पठाउनु पर्नेमा खाडी मुलुकका दूतावासलाई बेवास्ता गर्दै जेनेभा, दक्षिण अफ्रिका र भारतमा भने यसैबीचमा कर्मचारी व्यवस्थापन गरिएको र युएईमा पनि कर्मचारी पठाउन परराष्ट्र मन्त्रालय सकारात्मक रहेको परराष्ट्र स्रोतले बताएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij