प्रकाशित मिति : बुधबार, जेष्ठ १९, २०७८
कैलालीमा २ सय ४० रुपैयाँ लुट्न चार जना युवाले एक जनाको हत्या गरेको खुलेको छ।
गत शुक्रबार बिहान धनगढी बसपार्कमा मृत फेला परेका व्यक्तिबाट उक्त रकम लुटेका उनीहरूले हत्या गरेको प्रहरीले जनाएको छ।
प्रहरीले सिसिटिभी फुटेजका आधारमा उनीहरूलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। फुटेजमा पक्राउ परेका युवकले सुतिरहेको व्यक्तिको खल्तीबाट पैसा निकालेको देखिएको कैलालीका सहायक प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकेन्द्रसिंह गुरुले बताए।
फुटेजमा बिमारीजस्तो देखिने ती मानिस प्रतीक्षालयमा पल्टिएका देखिन्छन्। मादकपदार्थ सेवन गरेका केही युवक त्यहाँ पुग्छन्। उनीहरू सुतेका मानिसको खल्ती चेक गर्दै पैसा निकाल्छन्। पैसा लिएर भागेका उनीहरू केहीबेरमा फेरि आउँछन्। सुतेका व्यक्ति उठ्न खोजे पनि एक जनाले लात्तीले हानेर ढलाउँछन्। चारै जनाले पटक पटक उनीमाथि कुटपिट गरेको देखिन्छ।
सोही फुटेजका आधारमा प्रहरीले धनगढी उपमहानगरपालिका-१ का १८ वर्षीय दीपेन्द्र पौडेल, डडेल्धुराको अमरगढी नगरपालिका १९ वर्षीय प्रवीण ऐर, डोटीको पूर्वी चौकीगाउँपालिका-४ बस्ने २० वर्षीय अनिल कुँवर र कैलालीको घोडाघोडी नगपालिका-१ का १८ वर्षीय युवराज शाहीलाई पक्राउ गरेको थियो
उनीहरूले रकम लुटेको र कुटपिट गरेको स्वीकार गरेका प्रहरीले जनाएको छ।
मृतकको पहिचान अझै खुल्न सकेको छैन। प्रकाउ परेकाहरूविरूद्ध मुद्दा दायर गरिएको प्रहरीले जनाएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij