आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

चुरे क्षेत्रमा सरकारले कालीदास प्रवृत्ति देखायो : विमलेन्द्र निधि

  • प्रकाशित मिति : शुक्रबार, जेष्ठ २१, २०७८



  • काठमाडौं । दोस्रोपटक संसद विघटन भई मुलुकको राजनीतिक कार्यदिशा सर्वोच्च अदालतमा विचाराधीन छ । प्रधानमन्त्री केपी शर्मा ओली अदालतबाट संसद विघटन सदर गराएर मुलुकलाई चुनावमा कसिएका छन् ।  विपक्षी गठबन्धन संसद पुनस्र्थापना गराई नयाँ सरकार  बनाउने व्यग्र प्रतिक्षामा छ ।

    प्रधानमन्त्री ओलीले कानुन बनाउने थलोका रुपमा रहेको संसद विघटन गरी अध्यादेशमार्फत काम गरिरहेका छन् । त्यसमा पनि पछिल्लो समय सरकारले अध्यादेशबाट ल्याएको बजेट र नागरिकता कानुन चर्चाको विषय बनेको छ । बजेटको १९९ नम्बर बुँदा र नागरिकता कानुनलाई मधेससँग जोडेर बहसको विषय बनाइएको छ ।

    सरकार बनाउन तम्सिएको काँग्रेसलाई भदौ तेस्रो साताभित्र महाधिवेशन गरिसक्नुपर्ने बाध्यता छ । यिनै विषयमा नेपाली हामीले काँग्रेसका उपसभापति विमलेन्द्र निधिसँग कुराकानी गरेका छौं ।

    सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष ०७८/७९ को बजेटको १९९ नम्बर बुँदामा चुरे क्षेत्रको ‘वातावरणीय प्रभाव मूल्याङ्कनका आधारमा खानीजन्य ढुंगा, गिट्टी, बालुवा, निकासी गरी व्यापार घाटा न्यून गरिनेछ’ भनिएको छ । सरकारको यो नीतिप्रति काँग्रेसको विरोध किन ?

    यो एकदम खतरनाक र घातक नीति हो । यो मधेसका लागि सबैभन्दा घातक हो । मधेसका लागि घातक त छँदैछ, प्रकारान्तरले चुरेभन्दा माथि उत्तरतिर पहाड र हिमालसम्म यसको असर पर्छ । चुरेको संरक्षण गर्नु नेपालकै भूगोलका लागि जरुरी छ । धेरै पहिलेदेखि भूगर्वविद् र वन विशेषज्ञ सबैले चुरेको संरक्षणको आवश्यकता औल्याउँदै आउनुभएको छ ।

    जसको पालामा चुरेको दोहन भयो, उसैले यतिबेला विरोध गरिरहेको सरकारी पक्षको तर्क छ नि ? तपाईँहरुका पालामा के काम गर्नु भएको थियो ?

    यसमा म विस्तृत बताउँछु, सुन्नु होला । हामी जेलमा हुँदा जर्मन रिसर्च स्कलरसिपको फरेस्टसम्बन्धी रिसर्च गर्ने किताब थियो ।  वन र भूगोलबारे रिसर्च गरेर निष्कर्ष निकालिएको थियो कि मधेस र पहाडका बीचमा पूर्वदेखि पश्चिमसम्म जोडिएको चुरे क्षेत्रको संरक्षण गरिएन भने मधेसको पुरै भूभागलाई मरुभूमि बनाउँछ ।

     

    नेपालभित्रको मधेसको भूभाग मात्र होइन, नेपालको मधेससँग जोडिएको भारतको भूभाग पनि मरुभूमिमा परिणत हुन्छ । किनभने बाढीद्वारा बालुवा थुप्रिँदै जान्छ । बेलैमा यसको संरक्षण गरिएन भने नेपालका लागि धेरै क्षति हुन्छ । भूस्खलनले गर्दा चुरेभन्दा माथिको मध्य पहाड हुँदै हिमाली क्षेत्रमा पनि यसको कुनै न कुनै वातावरणीय असर पर्छ भनिएको छ ।

    यस्तै कृषि विकास बैंकको जनकपुर अञ्चल शाखाका प्रमुख एकजना कुवँरजी हुनुहुन्थ्यो । उहाँलाई चुरे क्षेत्रका संरक्षणको विषयमा रुची थियो । उहाँसँग मेरो धेरै छलफल हुन्थ्यो । उहाँले मलाई चुरेलाई संरक्षण गरी मधेसको भू–भागलाई जोगाउन अत्यन्त जरुरी छ भन्नुभएको थियो । कृषिबारे जानकार भएकाले उहाँले  खेतीयोग्य जमिन र सिंचाइका लागि चुरेको संरक्षण अत्यन्त जरुरीबारे सबै कुरा भन्नु भएको थियो । यतिसम्मकी नेपालको भूभाग मात्र होइन, चुरेको विनाशले नेपालको दक्षिण सीमावर्ती भारतको डेढ–दुई सय किलोमिटर भूभागलाई पनि असर गर्छ भन्नुभएको थियो । उहाँले सबै तथ्यांक ल्याए दिनुभएको थियो ।

     

    चुरे संरक्षणका लागि अभियान चलाउनुपर्छ भन्ने कुरा उहाँले मलाई भनिरहनुहुन्थ्यो । राजनीति पनि गर्दै गर्नुहोस्, पार्टीका नेता कार्यकर्ताले वातावरणीय संरक्षणको कामलाई पनि महत्व दिनुपर्छ । एजेण्डा बनाउनुपर्छ । नेपालले एक्लैले यसको संरक्षण गर्न चाहेर पनि स्रोत जुटाउन सक्दैन ।

    चुरे विनाश हुँदा भारतलाई पनि क्षति हुने हुँदा भारत सरकारसँग पनि कुरा गर्नुपर्छ । भारत र नेपालको स्रोत साधन परिचालन गरेर यसको दीर्घकालीन योजना बनाएर संरक्षण गर्नुपर्छ । योसँगै अन्तराष्ट्रिय विषय पनि हुन जान्छ । अन्तराष्ट्रिय वातावरणविदको पनि यसमा ध्यान केन्द्रित हुन्छ । यसमा सबैले रुची दिन्छन् भन्नुभएको थियो । तर, मान्छेले दाउराका लागि रुख काटेको काट्यै छन् । मधेसका मान्छे नेपाल र भारतमा काठको व्यापार गर्न जंगललाई नास गरेर चुरेलाई नांगो बनाउँदैछन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij