आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

रघुवीर महासेठ–जुली महतो : पतीपत्नी आलोपालो मन्त्री

  • प्रकाशित मिति : शुक्रबार, जेष्ठ २१, २०७८



  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वका सरकारमा रघुवीर महासेठ दोस्रो पटक मन्त्री बनेका छन् । धुनषा–४ का सांसद महासेठलाई उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्रालयको महत्वपूर्ण जिम्मेवारी दिइएको छ ।

    महासेठ मन्त्रिपरिषदमा सहभागी हुँदा प्रदीप ज्ञवाली भने पदमुक्त भएका छन् । ३ फागुन २०७४ को ओली प्रधानमन्त्री बनेपछि ज्ञवाली परराष्ट्र मन्त्री बनेका थिए । प्रधानमन्त्रीका भरपर्दा मन्त्री रहेका ज्ञवाली नेकपा एमालेभित्र दोस्रो पुस्ताका प्रभावशाली नेता हुन् ।

    एमालेभित्र राम्रै पकड रहेका ज्ञवालीलाई प्रधानमन्त्री ओलीले महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिएका थिए । ज्ञवाली परराष्ट्रमन्त्री रहँदा नेपालको नयाँ नक्सा जारी हुने, चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण लगायत महत्वपूर्ण काम पनि भयो ।

    तर ज्ञवालीलाई विदा गरेर परराष्ट्र मन्त्रालयमा महासेठलाई ल्याइएको छ । ज्ञवालीसँगै २०७४ मा मन्त्री बनेका महासेठ भौतिक पूर्वाधार तथा यातायातमन्त्री थिए । प्रधानमन्त्री ओलीले ५ मंसिर २०७६ मा महासेठलाई हटाएर बसन्त नेम्वाङलाई मन्त्री बनाए । तर यसपटक महासेठ उपप्रधानमन्त्री समेत बनेका छन् ।

    महासेठ विष्णुप्रसाद पौडेल पछिको वरियतामा उपप्रधानमन्त्री बनेका छन् । एमालेभित्र वामदेव गौतम निकट भनेर चिनिने महासेठ गुट फेर्दै २०७४ मा मन्त्री बनेका थिए । तर कार्यसम्पादन चित्त नबुझेको भन्दै प्रधानमन्त्री ओलीले पदमुक्त गरेका थिए ।

    तिनै महासेठले यसपटक परराष्ट्र जस्तो महत्वपूर्ण भूमिका पाएका छन् । यसपटक पनि महासेठले पुरानै शैली अपनाए । गएको ५ पुसमा साविकको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित हुँदा महासेठ ओली इतर समूहतिर उभिएका थिए ।

    एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग नजिक हुँदै ओली इतर केही कार्यक्रममा समेत सहभागी भए । तर केही दिनमै फेरि बालुवाटारतिर नजिक भए । ओलीलाई साथ दिए बापत गएको १० पुसमा महासेठकी पत्नी जुली महतो मन्त्री बनिन् ।

    एमालेका समानुपातिक सांसद महतो महिला, बालबालिका तथा समाज कल्याण मन्त्रीको जिम्मेवारी पाएकी थिइन् । तर महतो पाँच महिनापछि पदमुक्त भएकी छन् ।

    अर्थात् ओली नेतृत्वको सरकारमा महासेठ–महतो दम्पत्ति आलोपालो मन्त्री बनेका छन् । लामो समय एमालेमा वामदेव गौतमसँग रहेका महासेठ २०७१ साउनमा सम्पन्न नवौं सचिव पदका उम्मेदवार थिए । केपी शर्मा ओलीको प्यानलबाट सचिव लडेका महासेठ केन्द्रीय सदस्यमा समेत पराजित भए ।

    एमालेमा पदाधिकारीको उम्मेदवार हुनेले केन्द्रीय सदस्यमा समेत लड्न पाउने व्यवस्था छ । यदि, पदाधिकारी पराजित भए केन्द्रीय कमिटीबाट नबाहिरिउन् भन्ने उद्देश्यसहित दोहोरो उम्मेदवारीको व्यवस्था गरिएको थियो ।

    तर महासेठ दुवै पदबाट पराजित भएका थिए । महासेठ २०५४ मा एमाले विभाजन भएपछि मालेको केन्द्रीय सदस्य बनेका थिए । एमालेको २०५९ को सातौ महाधिवेशनबाट महासेठ केन्द्रीय सदस्य बने । आठौंमा भने केन्द्रीय सदस्य पराजित भएका थिए । त्यसबेला ओली इतर समूहबाट उनको उम्मेदवारी थियो ।

    साथ दिनेलाई मन्त्री उपहार

    प्रधानमन्त्री ओलीलाई साथ दिए बापत दम्पतीले नै मन्त्री पाउनेमा महासेठ र महतो मात्रै होइनन् । माधव नेपालको गुट छोडे बापत शेरबहादुर तामाङ र उषाकला राईले पनि मन्त्री पद पाए ।

    शुक्रबार तामाङ स्वास्थ्य मन्त्री बने । तामाङको पनि ओली सरकारमा दोस्रो इनिङ हो । २०७४ मा तामाङ कानून मन्त्री बनेका थिए । तर अभिव्यक्ति विवादमा परेपछि उनले राजीनामा दिएका थिए । नेकपा विभाजित हुँदा गुट फेरेर ओलीतिर लागेपछि तामाङ स्वास्थ्य मन्त्री बनेका छन् । प्रदेश–१ मा गएको चैतमा मात्रै उषाकला राई सामाजिक विकास मन्त्री बनिसकेका छन् ।

    तामाङ सिन्धुपाल्चोक–२ प्रत्यक्ष निर्वाचित सांसद हुन् भने राई प्रदेश १ मा समानुपातिक सांसद छन् । गुट फेरेपछि ओलीले तामाङलाई बागमती प्रदेश सहइन्चार्ज, सिन्धुपाल्चोक इन्चार्ज र केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी दिएका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij