प्रकाशित मिति : आइतवार, जेष्ठ २३, २०७८
काठमाडौं। निषेधाज्ञाको समयमा आर्थिक अनियमितता गरेको पुष्टि भएपछि महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका डिएसपी दीपक खड्कालाई तानेको छ।
महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका एक अधिकारीका अनुसार खड्कामाथि भएको आन्तरिक छानविनमा आर्थिक लाभ लिएर निषेधाज्ञाको समयमा पनि ठमेलमा रात्रीकालीन व्यवसाय सञ्चालन गर्न दिएको पुष्टि भएको छ ।
त्यसलगत्तै रानीपोखरी कार्यालयले नैसियतसहित कारबाही गरेको स्रोतको भनाइ छ । खड्कालाई महानगरीय प्रहरी परिसर टेकु, काठमाडौंमा पठाएको छ।
आर्थिक अपचलन गरेको उजुरी परेपछि रानीपोखरीले छानबिन समिति नै बनाएर डिएसपी खड्कामाथि अनुसन्धान थालेको थियो।
महानगरीय प्रहरी कार्यालय रानीपोखरी स्रोतका अनुसार मातहतका प्रहरी परिचालन, घुस असुली र कार्यशैली चित्तबुझ्दो नदेखिएपछि डिएसपी खड्कालाई कारवाही गरिएको हो।
त्यस्तै सोह्रखुट्टे क्षेत्रमा चोरी तथा लुटपाट र अपराधका घटना बढ्दा समेत खड्का घुस असुलीमै व्यस्त हुने गरेका थिए।
उनले मनाङ होटेलका संचालक देबेन्द्र गिरीसँग मिलेर असुली धन्दा चलाउँदै आएको आरोप लाग्ने गरेको छ।
खड्का तानिएपछि उनको स्थानमा अहिलेसम्म कसैलाई पठाएको छैन। खड्का विगत १६ महिनादेखि साह्रखुट्टेमा कार्यरत थिए।
खड्का बौद्ध प्रहरी बृत्तमा इन्स्पेक्टर हुँदा बौद्ध रामहिटीमा ५० औं बर्षदेखि बसेका एक ब्यक्तिको घर भत्काउन खोज्दा स्थानीयको घेराउमा परी बालबाल उम्किएका थिए । खड्का प्रहरीमा अति घुस असुलीमा बदनाम मानिन्छन् ।
उनी मिर्चैयाको डीएसपी हुँदा पनि घुस असुली गरी अपराधीलाई उन्मुक्ति दिएपछि तानिएका थिए । मिर्चैयालाई आधार क्षेत्र बनाएर आपराधिक क्रियाकलाप गर्ने अशोक यादव, उमेशकुमार यादव, खगेश्वर यादव, शम्भू यादव, सम्बद्ध कुमार यादव, काशिन्दर यादवको समूहलाई संरक्षण गरेको आरोप उनीमाथि लागेको थियो ।
यो आपराधिक गिरोहले जिल्लाको विभिन्न ठाँउ खासगरी मिर्चैयालाई आधार क्षेत्र बनाएर गुण्डागर्दी गर्दै आएको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij