आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सङ्क्रमण घट्यो, लापरबाही बढ्यो !

  • प्रकाशित मिति : सोमवार, जेष्ठ २४, २०७८



  • काठमाडौं । जेठको पहिलो साता नेपालमा कोभिड–१९ सङ्क्रमण र त्यसबाट हुने मृत्युदर उच्च थियो । जेठ १ गतेको तथ्याङक हेर्ने हो भने आठ हजारभन्दा माथि दैनिक सङ्क्रमित हुँदा १८७ जनाले ज्यान गुमाएका थिए । त्यसबेला मृत्युदर पनि बढ्दो थियो । जेठ दोस्रो साताबाट सङ्क्रमण दरभन्दा निको हुने दर विस्तारै बढ्न थालेको छ ।

    आजको तथ्याङ्क हेर्ने हो भने झण्डै ३ हजार ५०० सङ्क्रमित हुँदा निको हुने दर झण्डै दोब्बर छ हजार ६०० माथि पुगेको छ । विगतमा दैनिक २४५ जनासम्म मृत्यु भएकोमा अहिले मृत्युदर घटेर दुई अङ्कमा झर्नु सुखद सङ्केत हो । आज मुलुकभर ९९ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । अघिल्लो महिना वैशाखको यो समयमा सङ्क्रमण दैनिक नौ हजार माथि थियो । पछिल्लो समयमा मुलुकभर यसरी सङ्क्रमण र मृत्युदरमा केही न्यूनीकरण आएको देखिएसँगै मानिसको लापरवाही भने बढ्न थालेको छ ।

    कोरोना नियन्त्रणमा काठमाडौँको सडक क्षेत्रमा खटिएका एक जना प्रहरीले समेत मानिस फेरि जथाभावी रुपमा बाहिर निस्कने क्रम बढ्न थालेकोमा चिन्ता जनाए । बिहान बेलुका यसरी निस्कने मानिसलाई उपत्यका प्रहरीले नियन्त्रण गर्न सक्ने अवस्था देखिएको छैन । गल्लीका सडक बजारमा अझै प्रहरीको उपस्थिति न्युन हुँदा झनै लापरर्वाही छ ।

    निषेधाज्ञा १० दिन थपिएको दिन यही २० गतेदेखि भने उपत्यकामा सवारी साधान आवागमनम समेत बढोत्तरी भएको छ । दैनिक प्रहरीले सयौँ सवारी साधन नियन्त्रणमा लिए पनि त्यसरी उल्लङ्घन गरेर हिँड्ने सवारी उत्तिकै छन् । प्रहरीको अभिलेखमा मुलुकभरमा दैनिक तीनदेखि चार हजार गाडी अनावश्यक रुपमा सडकमा निस्किएका छन् । नेपाल प्रहरीका प्रवक्ता वसन्तबहादुर कुँवर निषेधाज्ञा उल्लङ्घनविरुद्ध भने कडा रुपमा प्रस्तुत हुँदै आएको बताउँछन् । उनका अनुसार कतिपयलाई कारवाही समेत गरिएको छ ।

    प्रहरीको आँखा छलेर बाहिर निस्कने जमात यत्रतत्र देखिएको छ । कतिपय व्यक्ति दोकान अगाडि बस्ने । अनि ग्राहक आएपछि सटर खोलेर सामान दिने त्यसपछि पुन सटर लगाएर त्यसैगरी कुरेर बस्ने गरेका छन् । यो क्रम मुलुकका अधिकांश क्षेत्रमा जारी छ । कतिपयले कुनै सामान चाहियो भने फोन गर्नुहोला भनेर सटरमा नम्बर टाँसेरसमेत राखेका पाइएको छ ।

    निषेधाज्ञा लगाउनुको उद्देश्य सङ्क्रमणको साङ्लो चुँडाल्नु हो । यस्ता गतिविधिले भने साङ्लो चुँडाल्न समस्या हुन्छ । केही समय सर्बसाधारण आफैँ सचेत हुने हो भने सङ्क्रमण रोक्न सकिन्छ । प्रहरीले मात्रै रोक्न सक्छ भन्ने हुन्न ।

    प्रहरी प्रवक्ता कुँवर भन्छन्, “हामीले सक्ने नियत्रण गरिरहेका छौँ, आफ्नै स्वास्थ्यका लागि हो भनेर मानिसले बुझ्नुपर्ने हो, त्यसतर्फ पनि सचेत गराउने हाम्रो प्रयास जारी छ ।” अहिले मुलुकका खोटाङ र मनाङ बाहेकका ७५ जिल्ला आज पनि निषेधाज्ञामा छ । अत्यावश्यक बाहेकका गतिविधिमा रोक लगाइएको छ । जेठ महिनाभर यो क्रम जारी रहन्छ ।

    गएको एक साता उपत्यकाका तीन वटै जिल्ला प्रशासनले निशेषको आदेशलाई कडाइ गरे पनि यही २० गतेदेखि थपिएको १० दिनको अवधिमा खुकुलो गरिँदा सडकमा मानिसको उपस्थिति बाक्लिएको हो ।

    काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे अहिलेको आदेशमा निर्माणका गतिविधि तथा ढुवानीका गतिविधिसमेत खुला गरिएको र पसलसमेत सञ्चालन गर्न पाउने भएकाले मानिसको चहलपहल विगतको भन्दा बढ्नु स्वभाविक भएको बताउँछिन् । त्यस विषयमा स्थानिय प्रशासनबाट अनुगमन गर्ने र कमि कमजोरी सच्याउने कुरामा सचेत रहेको उनले प्रतिक्रिया दिइन् ।

    मनोविद् नरेन्द्रसिंह ठगुन्ना कोरोना हट्न थाल्यो भन्ने सूचनाहरु सार्वजनिक भएपछि त्यसले मानिसको सोचमा परिवर्तन गरिदिएकाले बाहिर निस्कन मद्दत गरेको बताउँछन् । उनी सङ्क्रमण घटेपछि अझै सावधानी अपनाउनु जरुरी छ भनेर चेतना जागृत गराउनुपर्ने सुझाव दिन्छन् ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अब तेस्रो र चौथो लहरको कोरोना आउनसक्ने भन्दै चेतनावनी दिइसकेको छ । त्यसबेला बालबालिका बढी खतरामा पर्ने भएकाले त्यसको सामनाका लागि तयारी अवस्थामा रहन अस्पताललाई निर्देशन समेत दिइसकेको छ ।

    काठमाडौँ प्रशासनले जेठ अन्तिम साताको अबस्थाको तथ्याङ्क हेरेर असारपछि हुने निषेधाज्ञालाई कसरी अगाडि बढाउने भन्ने निर्णय गर्ने जनाएको छ । देशभरका स्थानीय प्रशासनले समेत यही हप्ताका अवस्थाको तथ्याङकको प्रतिक्षा गरिरहेका छन् ।

    उपत्यका नगरपालिका फोरमका सचिव मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ यस्तो अवस्थामा कुनै पनि हालतमा लापरवाही गर्न हुँदैन भन्छन् । सङ्क्रमण केही घटे पनि जोखिम कायमै रहेको हुँदा नागरिक आफैँ सचेत भएर सावधानी अपनाउनुपर्ने कुारमा खेलवाड गर्न नहुने स्वास्थ्य मन्त्रालयको भनाइ छ ।

    ­रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij