प्रकाशित मिति : बिहिबार, जेष्ठ २७, २०७८
‘डन’का रुपमा परिचित गणेश लामालाई पोखराबाट प्रहरीले नियन्त्रणमा लिएको छ।
निषेधाज्ञाका बेला काठमाडौंबाट अचानक पोखरा आएका लामालाई लेकसाइडको एक रेष्टुरेन्टबाट नियन्त्रणमा लिइएको हो।
लकडाउनका बेला कसरी, किन पोखरा आएको हो भन्ने विषयमा सोधपुछका लागि उनलाई नियन्त्रणमा लिइएको कास्की प्रहरी प्रमुख (एसपी) जीवन श्रेष्ठले जानकारी दिए।
‘उहाँसहित चन्द्र लामा र रमेश खड्का हुनुहुन्छ, निषेधाज्ञा उल्लंघन गरेको आरोपमा पक्राउ गरिएको हो,’ कास्कीका प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले भने।
लामालाई वडा प्रहरी कार्यालय बैदाममा राखिएको छ। विजयकुमार गच्छदारनिकट लामा हाल नेपाली कांग्रेसमा छन्।
उनी काभ्रेली समूह गठन गरी राजधानीमा आपराधिक गतिविधि गर्थे। लामा सांसद दिपक मनाङे निकट पनि हुन्।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले दायर गरेको मुद्दामा केही समय लामा जेल परेर छुटेका थिए।
यसअघि आजै गण्डकीका मुख्यमन्त्री पृथ्वीशुब्बा गुरुङले विश्वासको मत लिँदै गर्दा सांसद मनाङे उपस्थित भएनन्।
मनाङेले जता बहुमत पुग्छ उतै आफूले भोट हाल्ने घोषणा गरिसकेका छन्। आजको मतपरिणामअनुसार विपक्षी गठबन्धनलाई बहुमतका लागि १ मत जरुरत देखिएको छ।
मनाङेले समर्थन गरेमा विपक्षीलाई बहुमत पुग्ने आधार बनेको छ। लामा पोखरा आउनुलाई सो विषयसँग जोडेर समेत हेरिएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij