प्रकाशित मिति : शनिबार, जेष्ठ २९, २०७८
हेटौंडा । प्रधानमन्त्रीविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएका नेपाली कांग्रेसका नेता एवं बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले आफ्ना अभिव्यक्ति गलत भएको स्वीकार गर्दै माफी माग्नुभएको छ । शनिबार प्रदेशसभा बैठक शुरु भएलगत्तै सभामुखले समय दिएपछि उहाँले भन्नुभयो, ‘मेरो अभिव्यक्तिप्रति सामाजिक सञ्जालमा क्रिया–प्रतिक्रिया आएको र पार्टीले समेत माफी माग्न निर्देशन दिएकाले आत्मालोचना गर्दै फिर्ता लिएको छु ।’
वैद्यले आफूले अभिव्यक्ति स्वतन्त्रताको बढी नै उपभोग गरेको स्वीकार गर्दै आफ्नो अभिव्यक्तिाई प्रदेशसभाको रेकर्डबाट हटाउन समेत आग्रह गर्नुभएको थियो । ‘प्रधानमन्त्री ओलीसँग मेरो व्यक्तिगत रिस छैन,’ सांसद वैद्यले भने, ‘संसदमा निर्धक्क बोल्न पाउने अधिकार प्रयोग गरेर बोलिरहदा मैले स्वतन्त्रतालाई धेरै प्रयोग गरेर त्यस्तो बोल्न पुगेछु। त्यसलाई म फिर्ता लिन चाहान्छु।’
वैद्यले आफूले दिएको अभिव्यक्तिको सामाजिक सञ्जालमा धेरै प्रतिक्रिया आएको र पार्टीले पनि आत्मालोचना गर्न निर्देशन दिएको भन्दै अभिव्यक्ति फिर्ता लिएका हुन्। ‘म महात्मा गान्धीलाई धेरै नै मान्ने मान्छे हो। बोलेर पनि कसैलाई हिंसा गर्नु हुँदैन भन्ने मलाई लाग्छ,’ उनले भने, ‘तर प्रधानम्नत्री ओलीको पछिल्लो गतिविधिले गर्दा आवेगमा आएर मैले त्यस्तो बोल्न पुगेछु।’
वैद्यले माफी मागेपछि सभामुख सानुकुमार श्रेष्ठले उहाँको भनाइ रेकर्डबाट हटाइएको जानकारी बैठकलाई दिनुभयो । शुक्रबार बसेको संसद बैठकमा वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्व नाथुराम गोड्से बन्ने अभिव्यक्ति दिनुभएको थियो । गोड्सेले महात्मा गान्धीको गोली हानेर हत्या गरेका थिए ।

© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij